परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले सरकार परिवर्तनको कुरा कसैले चलाएको हल्लामात्र भएको बताएकी छन् ।
थाइल्याण्डको बैंककमा आयोजित संयुक्त राष्ट्रसंघीय एक कार्यक्रममा सहभागी भएर आज (१२ वैशाख) स्वदेश फर्किएपछि विमानस्थलमा पत्रकारहरुसँग उनले भनिन्, ‘अहिले सरकार परिवर्तनको कुनै सम्भावना छैन, यो कसैले मनोरञ्जन (आत्मरति)का लागि चलाएको हल्ला हुनसक्छ ।’
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बैंकक गएपछि नेपालमा सरकार परिवर्तनको चर्चा चलेको विषयमा राखिएको जिज्ञासामा उनले सभापतिजी कुनै पनि राजनीतिक भेटघाटका लागि नभएर नियमित स्वास्थ्य परीक्षणका लागि बैंकक गएको स्पष्ट गरिन् ।
आफूले पनि सरकार परिवर्तनका विषयमा चलेको हल्ला समाचारमा पढेको बताउँदै मन्त्री डा. राणाले हिजो नै कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग फोनमा कुराकानी गरेको जानकारी पनि दिइन् ।
मन्त्री डा. राणा एशिया तथा प्रशान्त क्षेत्रीय आर्थिक तथा सामाजिक आयोग (युएनस्केप)को ८१औँ सत्रको अध्यक्षता गरी स्वदेश फर्किएकी हुन् । यसै सिलसिलामा उनले अतिकम विकसित, भूपरिवेष्ठित र साना टापू विकासोन्मुख राष्ट्रहरुको विशेष वैठकको पनि अध्यक्षता गरेकी थिइन् ।
सो अवसरमा उनले यी राष्ट्रहरुको साझा चासोका विषयहरूका बारेमा नेपालका तर्फबाट धाराणा राखेकी थिइन् ।
प्रतिक्रिया