नेपालमा इमान र श्रमलाई सम्मान गर्ने संस्कृतिको विकास हुन सकेको छैन / हुन दिइएको छैन । पौरखीहरू चाहिं परदेशिने र तिनको कमाइमा देशको अर्थतन्त्र धान्ने अकर्मण्यहरूले शासन हाँक्ने दिनहरू अब रहनु हुन्न ।
✍ राजबाबु शंकर
देशको अर्थतन्त्रमा विप्रेषण (रेमिट्यान्स)को भरथेग उल्लेख्य मात्र छैन, भरोसाप्रद पनि रहँदै आएको छ । अर्थतन्त्रमा रेमिट्यान्सको योगदान औसत २५ प्रतिशतभन्दा बढी रहेको तथ्यांक पाइन्छ । जुन रेमिट्यान्स विदेशिएका लाखौं नेपाली युवा-युवतीले स्वदेश पठाउने गरिरहेका छन् । स्वदेशमा पर्याप्त रोजगारीको अवसर त छैन नै, शिक्षा प्रणाली पनि सीपमूलक नहुनाले अन्य कुनै रोजगारीको विकल्प पनि छैन । त्यसैले वर्षौं अघिदेखि युवा पिँढी जन्मथलो छोडेर रोजगारीका लागि विदेशिन बाध्य हुँदै आएका हुन् ।
गाउँहरू बालबालिका, किशोर-किशोरी, वृद्ध-वृद्धा र विदेशिएकाको परिवार बस्ने बस्ती बनिरहेको छ । स्थानीय तह कार्यान्वयनमा आएसँगै गाउँमा विकासका गतिविधि केही अघि बढे पनि बसाइँसराइ रोकिएको पाइन्न । गाउँको शिक्षा र स्वास्थ्य सेवा भरपर्दा छैनन्, गुणस्तरीय हुँदैनन् भनेर पहिले शहरबजारतिर र त्यहाँदेखि पहिलो विकल्प छेउको इण्डिया र केही रकम जोगाड गर्न सक्नेहरू चैं बहुधा मलेसिया लगायत खाडी मुलुकतिर वेगिने गर्दछन् । अध्ययन प्रयोजनका खातिर अष्ट्रेलिया, अमेरिका, क्यानडा, यूके, जर्मनी लगायतका सम्पन्न मुलुकलाई गन्तव्य बनाउनेहरू पनि त्यहाँ केवल अध्ययन गर्न गएका हुन्नन्; आकर्षक रोजगारीका लागि विदेशिएका हुन्छन् ।
यथासमयमा बीउबिजन-मल उपलब्ध गराउने, सिंचाईका निम्ति विद्युतमा सहुलियत दिने वा सौर्य ऊर्जाको प्रबन्ध गरिदिने, घरेलु कुटीर उद्योगहरूको प्रवर्द्धन गर्ने, स्थानीय अर्ग्यानिक उत्पादनहरूको स्थानीय स्तर (गाउँ, नगर, जिल्ला वा प्रदेशभित्र)मै बजारीकरण गरिदिने वा निर्यातयोग्य उत्पादनहरू भए निर्यातका निम्ति अधिकतम सहजीकरण गरिदिने, उद्यम गर्न चाहनेहरूलाई न्यूनतम ब्याजमा ऋण दिने, शैक्षिक प्रमाण-पत्र धितो राख्ने, उद्यमशील बन्न खोज्ने युवाहरूलाई लिजमा सरकारी जग्गा उपलब्ध गराउने र करमा पनि विशेष छुट दिने लगायतका नीति तथा कार्यक्रम अनिवार्य कार्यान्वयन हुन सक्दा युवा-युवतीहरू स्वदेशमै रोजगार बन्ने आधार तयार हुने हो । तर, सरकार वर्षको एकचोटि बजेट भाषणमा ५ वर्षमैं देशमा विकासको मूल फुटाउँछु भने झैं गरे पनि कार्यान्वयन भने जिल्लाराम !
वस्तुतः सरकार जनमैत्री काम गर्दैन, शायद गर्नै पनि चाहँदैन । किनभने, विद्यमान रोजगारी र आयआर्जनका अवसरहरू विस्तारित हुँदै गए भने सरकारमा जाने वा दलहरूले समस्याको बिस्कुन लाएर ‘हामी अब यो समस्या समाधान गरिदिन्छौं, ऊ समस्या समाधान गर्ने हाम्रो प्राथमिकतामा छ’ भनिआए जस्ता चुनावी एजेण्डा (आश्वासन)कै खडेरी पर्छ ! त्यसैले उनीहरू समस्या उप्काउँछन् र त्यसैलाई चुनावी बजारीकरण गर्ने गर्दछन् । अहिलेसम्म त्यस्तै ‘ढँटौरो व्यापार’ नै चलाइआएका छन्- दलहरूले । यसरी जहिल्यै समस्या मात्रै देखाइरहने, तर ठाउँमा पुगेपछि चैं ‘चोर कोतवाल को डाँटे’ रवैया देखाउने दलका नेताहरूको थेत्तरो र नकच्चरो बेहोराको विरोधमा युवा पंक्तिले विरोधको बबाल नमच्चाउन् भनेर पनि नेतागण-कम-सरकारमा पुगेकाहरूले सचेत, जागरुक, पाखुरे र दर्बिलो प्रतिपक्षी युवाहरू विदेशिनुमै आफ्नो ‘कल्याण’ अन्तर्निहित रहेको ठानिरहेका होलान् !
नेपाली युवा विदेशिनुको मुख्य कारण राम्रो रोजगारी र आर्थिक स्थायित्वको खोजी नै हो । पछिल्लो समय त अझ कक्षा १२ उत्तीर्ण गरेका विद्यार्थीहरू समेत देशमा उच्च शिक्षा हासिल गर्नुभन्दा विदेशतिरै जाने लहडमा छन् । विदेशमा पढ्दै-कमाउँदै गर्ने वातावरणले उनीहरू विश्वस्त बनेका हुन् । विश्वस्त यसकारण कि, स्वदेशमा पढाइ सकेर जागिर खोज्दा पनि नपाइने सम्भावना अत्यधिक छ । कथंकदाचित मिलिहाले पनि जीवन धान्न धौ-धौ पर्ने अवस्था हुन सक्छ । यहाँ त इमान्दारीसँग जागिर खाने र भ्रष्टाचार नगर्ने त टिक्नै नसक्ने अवस्था बहाल छ ।
स्वदेशभित्र काम नहुनु, भए पनि नातावाद, कृपावादले गर्दा आफ्नो क्षमता र योग्यताको कदर नहुनु, वृत्ति विकासका अवसर अयोग्यहरूले हरण गर्नु जस्ता कारणले गर्दा नेपाली युवा विदेश पलायन भइरहेका हुन् । सरकारकै आंकडा अनुसार, गएको फागुन महिनामा मात्र श्रम स्वीकृति लिनेको संख्या ४२ हजार ४ सय ४६ थियो । अर्थात्, एकै महिनामा औसत ४० हजार युवा-युवतीले देश छोडिरहेको प्रतिवेदन वैदेशिक रोजगार विभागको हो । तर, त्यस्ता आंकडाहरूले सरकारी पदधारीहरूलाई छुँदैन, उनीहरू त सरकारमा बसेर लूटधन्दा अकण्टक चलाउनमै मस्त छन् ।
निचोड के हो भने, नेपालमा इमान र श्रमलाई सम्मान गर्ने संस्कृतिको विकास हुन सकेको छैन / हुन दिइएको छैन । पौरखीहरू चाहिं परदेशिने र तिनको कमाइमा देशको अर्थतन्त्र धान्ने अकर्मण्यहरूले शासन हाँक्ने दिनहरू अब रहनु हुन्न । युवाहरूले देशको बागडोर सम्हाल्न आवश्यक छ भन्ने आवाज सघन बन्दैछ । विद्रोहको पुल्ठो सल्किएको पनि छ । परिणाम जनअपेक्षित रहने सम्भावना आँकिदैछ । कामना यत्ति हो- मुलुकमा सुशासन बहाली होओस् ।
प्रतिक्रिया