कान्ति राजमार्गमा १५ दिन सवारीसाधन आवागमन बन्द गरिने

कान्ति राजमार्गमा १५ दिन सवारीसाधन आवागमन बन्द गरिने


हेटौँडा-काठमाडौँ जोड्ने कान्ति राजमार्गमा यही वैशाख १८ गतेदेखि आगामी जेठ १ गतेसम्म सवारीसाधनको आवागमन बन्द हुने भएको छ ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरले सूचना जारी गरी सो सडकखण्डअन्तर्गत मकवानपुरको बकैया गाउँपालिकास्थित ठिङ्गन-बगुवा खण्डमा सडक स्तरोन्नतिको काम हुने भएकाले सवारीसाधन आवागमन बन्द हुने जानकारी दिएको छ ।

मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्रप्रसाद कँडेलका अनुसार वैशाख १८ गतेदेखि जेठ १ गतेसम्म १५ दिन बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म दैनिक ६ घण्टा सो सडकमा सवारीसाधन आवागमन बन्द रहनेछ ।

ठिङ्गन-बगुवा सडकखण्डअन्तर्गत गङ्गटे नजिकैको भर्‍याङडाँडामा सडक स्तरोन्नति गर्ने काम गरिने भएकाले सडकमा सवारी आवागमन बन्द गर्न लागिएको सहायक प्रजिअ कँडेलले बताए । सडक बन्द हुने भएकाले हेटौँडा-काठमाडौँ वा काठमाडौँ-हेटौँडा यात्रा गर्नुपर्ने भए वैकल्पिक मार्ग प्रयोग गर्न उनले आग्रह गर्नुरेका छन् ।