प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो बेडरुमसम्म विचौलियाको पहुँच छ भनेर लाञ्छित गर्नेहरूलई आरोप प्रमाणित गर्न चुनौती दिएका छन् ।
मदनभण्डारी फाउण्डेशनको चौथो राष्ट्रिय सम्मेलनको आइतबार काठमाडौंमा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले राजनीतिमा छिर्के दाउ हाल्ने, षड्यन्त्र गर्ने र झेली खेलाडीले लाजशरम पचाएर यस्ता आरोप लगाउने जिकिर गरे ।
देशमा एमाले र नेपाली कांग्रेसको सहभागितामा सरकार बन्नु समयको आवश्यकता हो भन्दै उनले राजनीतिक स्थायित्व, विकास र सुशासनले गति लिन लागेका बेला सरकार र नेतृत्वविरुद्ध झुठा आरोप लगाउन थालिएको तर्क गरे । एमालेले आफूलाई आगामी निर्वाचनमार्फत निर्णायक राष्ट्रिय शक्तिमा रुपान्तरण गर्ने लक्ष्यमा रहेको उल्लेख गर्दै उनले सही विचार, इमान र सत्यको राजनीतिबाट एमाले स्थापित हुने बताए ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा थाइल्याण्डबाट फर्केपछि सरकार ढल्छ भनेर भ्रम फैलाउनेहरुको टाउकामा अहिले चिसो पानी खन्याइएको महसुस भएको उनको टिप्पणी थियो ।
पार्टीभित्रको राजनीतिका हकमा धेरै आलोचनात्मक चेतमा जोड दिनु नपर्ने उल्लेख गर्दै प्रधानमन्त्रीले विश्लेषणात्मक चेत राख्न सुुझाव दिए । ‘पार्टीभित्र एकताको चेत चाहिन्छ । विरोधीको आरोपको खण्डन गर्नुपर्छ । विरोधीसँग लड्न नसक्ने अनि पार्टीभित्र आलोचनात्मक चेत बोक्ने बाटो सही बाटो होइन’, उनको भनाइ थियो ।
प्रतिक्रिया