काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका राप्रपा नेता रवीन्द्र मिश्र, मेडिकल व्यवसायी दुर्गा प्रसाईंलगायत २४ जनालाई थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिइएको छ ।
काठमाडौं जिल्ला अदालतमा आइतबार पेस गरिँदा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले अनुसन्धानका लागि २० दिनको म्याद मागेपनि सात दिन म्याद थप गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एस्पी अपिलराज बोहराले जानकारी दिए ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश ईश्वरीप्रसाद भण्डारीको इजलासले सात दिन हिरासतमा राख्न अनुमति दिएको हो । यसअघि वैशाख १० गते तीन दिन मात्रै म्याद थप भएको थियो ।
ज्ञातव्य छ, गत चैत १५ गते भएको तीनकुने घटनामा निजहरूलाई पक्राउ गरी परिसरले अनुसन्धान गरिरहेको छ । घटनामा ८५ जनालाई पक्राउ गरिएकामा २१ जना हाजिर जमानीमा छुटेका छन् भने ६४ जनामाथि अनुसन्धान भइरहेको छ ।
तीमध्ये प्रसाईं र मिश्रलगायत २४ जनालाई राज्यविरुद्धको अपराध र सङ्गठित अपराधमा मुद्दा चलाइएको छ । बाँकीलाई भने आपराधिक उपद्रव र सङ्गठित अपराधमा मुद्दा चलाइएको छ ।
तीनकुनेमा भएको प्रदर्शन हिंसात्मक हुँदा दुईजनाको ज्यान गएको थियो भने दर्जनौँ घाइते भएका थिए । सरकारीलगायत निजी संरचनामा आगो लगाउने र तोडफोड गर्ने कामसमेत भएको थियो ।
प्रतिक्रिया