एकै मञ्चमा देखिए राजसंस्था पक्षधर शक्तिहरू
राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजसंस्था पक्षधर शक्तिहरू एक ढिक्का भएर अगाडि बढे केही समयमै राजसंस्था पुनःस्थापना हुने दाबी गरेका छन् । सो पार्टीद्वारा राजसंस्था पुनःस्थापना र धर्मनिरपेक्षता खारेजीको माग गर्दै सोमबार आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘हामी सबै एक ढिक्का भएर अगाडि बढ्ने संकल्प गरौँ, केही हप्ता या केही महिनाभित्रैमा हिन्दुराष्ट्र र राजसंस्था पुनःस्थापना गर्न सकिनेछ ।’
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, राजसंस्था पुनःस्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदी, राष्ट्रिय शक्ति नेपालका अध्यक्ष केशरबहादुर विष्ट, पछिल्लो समय राजसंस्थाको पक्षमा विशेष सक्रियता दर्शाउँदै आएकी पूर्व एमाले सांसद गंगा चौधरीलगायतको विशेष उपस्थिति रहेको सो कार्यक्रममा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले राजसंस्था पक्षधरहरू सबै आग्रह-पूर्वाग्रह त्यागेर एकजुट हुनुपर्ने धारणा राख्दै भने, ‘मुलुक वर्तमान समयको सबैभन्दा अप्ठ्यारो अवस्थामा चलिरहेको छ र अहिले सिङ्गो देशले हामीलाई आशाको नजरले हेरिरहेको छ, त्यसैले सबै देशभक्त शक्तिहरूलाई आपसी आग्रह-पूर्वाग्रह त्यागी एक ठाउँ बसेर देशलाई निकास दिनका लागि अगाडि बढ्न म आग्रह गर्दछु ।’
संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले टुटफुटको अवस्थामा रहेका राजावादीहरु आवश्यक पर्दा एकजुट भएर लाग्ने गरेको उल्लेख गर्दै राजसंस्थामा आस्था राख्ने सबै शक्तिहरु एकताबद्ध भएर आन्दोलनमा उत्रिएको दाबी गरे। देशका लागि आवश्यक नभएको जिकिरका साथ संघीयता खारेज गर्नुपर्नेमा उनको जोड रह्यो ।
यस्तै, राष्ट्रिय शक्ति नेपालका अध्यक्ष केशरबहादुर बिष्टले विगतमा राजाबाटै सांसद बन्ने अवसर पाएकाहरुले नै राजालाई झुक्याएर रातारात राजा र हिन्दुराष्ट्र खारेज गरी संघीयता लादेको आरोप लगाए । उनले मनमोहन अधिकारी, मदन भण्डारी जस्ता एमाले नेताहरुले नेपालको सन्दर्भमा राजा अवश्यक भएको भनेकाले पनि नेपालमा राजाको स्थान आवश्यक भएको तर्क गरे ।

राप्रपा नेपालका अध्यक्ष कमल थापाले यतिबेला राप्रपा देशको सबैभन्दा ठूलो र बलियो राष्ट्रवादी शक्ति भएकोले सबैलाई समेटेर अघि बढ्नका लागि राप्रपा अध्यक्ष लिङ्देनले पहलकदमी लिनुपर्ने धारणा राखे । कुनैबेला पानीबाराबारको अवस्थामा पुगेका थापा र लिङ्देनले आपसमा मुट्ठी कसेर आत्मियभाव प्रकट गरेको दृश्यले राजसंस्थावादीमा उल्लास जगाएको कार्यक्रमका सहभागीहरुले महसूस गरेका थिए । कार्यक्रममा नेपाली कांग्रेस (बिपी), शिवसेना नेपाल लगायतका नेता कार्यकर्ताको समेत उपस्थिति रहेको थियो ।
प्रतिक्रिया