सुरक्षा पन्तमाथिको आक्रमण : हामी कता जाँदैछौं ?

सुरक्षा पन्तमाथिको आक्रमण : हामी कता जाँदैछौं ?


२०८१ साल असोज ५ गते शनिबार अभिनेत्री सुरक्षा पन्तसँग एउटा प्यानलमा सँगै रहँदा उनले बोल्ने शैली निकै मन परेको थियो । त्यसअघि उनले अभिनय गरेको सिनेमा ‘आमा’ हेरेकी थिएँ, उनीसँग नजिक रहेर कुरा गर्ने अवसर भने मिलेको थिएन । कार्यक्रम सकिएपछि एकर्काले बोलेको विषय बस्तु र प्रस्तुतिको प्रशंसा गऱ्यौं, सँगै चिया खायौँ, नम्बर लियौँ, फेसबुक साथी बन्यौँ । पहिलो भेटमै उनी मलाई सहज, मिलाएर बोल्ने र कुरा बुझ्ने मान्छे लाग्यो । त्यसपछि अहिले पछिल्लोपल्ट जब उनको सानो क्लिप मोबाइलमा आयो, ध्यान दिएर दुईपल्ट हेरें । अलि कस्तो-कस्तो लागेपछि एउटा क्लिप हेरेर धारणा बनाउन हुन्न भनेर पूरै कुराकानी सुनेँ ।

उक्त अन्तवार्ताका आधारमा भन्दा उनलाई त्यहाँ देखाइएकामध्ये धेरैको नाम थाहा रहेनछ, स्वभाविक हो, सबैको नाम थाहा हुँदैन । प्रधानमन्त्रीको पत्नीको नाम थाहा भएन, ठिकै छ । ‘मलाई त शेरबहादुर देउवाकी श्रीमतीको नाम पनि थाहा थिएन’ भनिन्, ठिकै छ । के रहेछ त ? भनेर प्रस्तोताले सोधे, थाहा भएन… ! पहिला थाहा नहुनु स्वभाविक लागेको कुरा अहिले थाहा छैन भन्दा अलि कस्तो-कस्तो लाग्यो । डा. आरजु राणा देउवा अहिले परराष्ट्रमन्त्रीसमेत भएकाले सुरक्षा जतिको चेत राख्ने मान्छेले जतिबेला पनि मिडियामा छाउने मान्छेलाई चिन्नुपर्ने जस्तो लाग्यो । हिजोआज मन्त्रीहरू फेरिइरहने हुँदा स्वभाविकै रूपमा धेरै मन्त्रीहरूको नाम थाहा हुँदैन । डा. आरजुचाहिँ प्रत्येक दिनजस्तो मिडियामा आउने, बीआरआई, भारत तथा चीन र अन्य देशको भ्रमणलागयत अनेक कारणले चर्चामा रहेकाले धेरैले चिन्ने गर्छन् । चलचित्रसम्बन्धी रिपोर्टिङ्ग गरिरहेका र चलचित्र पत्रकार संघका अध्यक्षलाई पनि सुरक्षाले चिनेकी रहिनछन् । आफ्नै विषयमा काम गर्ने, आफू सम्बन्धित क्षेत्रका केही मान्छे त चिन्नुपर्छ जस्तो लाग्यो ।

पूर्व नवयुवराजको फोटो देखाएपछि उनले ‘ग्रान्ड चाइल्ड अफ किङ्ग’ भनिन्, फर्मर किङ्ग भन्न सक्थिन् तर राजाको नाती भन्दा खासै असहज सुनिएन । ‘पारसको छोरा होइन ?’ भन्दाचाहिँ अलि असहज नै सुनियो । हामी प्रायः आफ्नो मिल्ने साथीका बच्चालाई ए… उ त उसको बच्चा होइन ? भनेर जसरी भन्ने गर्छौं, त्यस्तै-त्यस्तै सुनियो । पारस कुनैबेला यो देशको युवराज भएकाले पूर्व युवराज या पारस र हिमानी या यस्तै के भनेको भए सुहाउँथ्यो होला भनेर एकछिन सोचेँ पनि । राजसंस्था हुँदा नवयुवराज घोषित हृदयेन्द्रको नाम सुरक्षालाई थाहा रहेनछ, ठिकै छ । नाम थाहा नहुँदा फरक परेन तर त्यति जानकारी त प्रायः धेरैलाई नै छ जस्तो लाग्छ । अहिलेका युवा केटीहरूले उहाँलाई मनपराउने कुरा सुनाइन्, जुन कुरा खासै बाहिर आएको थिएन । ‘भविष्यमा कुन रूपमा हेर्न चाहनुहुन्छ ?’को जवाफमा ‘फिल्म इन्ड्रष्ट्रीमा आउनुस्’ भन्दा अलि अप्ठ्यारो महसूस भयो । ‘म उहाँलाई नजिकबाट चिन्दिनँ, केमा रुचि छ थाहा भएन, उहाँलाई केमा इच्छा छ, आफूले चाहेको काम गर्दा सफल भइन्छ’ भनिदिएको भए हुने जस्तो लाग्यो । ‘अभिनयचाहिँ आउनुपऱ्यो, त्यत्तिकै त कसले एसेप्ट गर्छ र ?’ भन्ने जवाफले झसङ्गै बनायो ।

काठ्माण्डौ महानगरपालिकाका मेयर बालेनदेखि सिनेमा हलमा गएर दर्शकसँगको भेटघाटसम्मका जवाफहरू सोचेभन्दा अलि फरक थिए । प्रथम महिला राधिका शाक्यको तस्बिर देखाउँदा सुरक्षाले ‘केपी बाको वाइफ’ भनिन् । प्रधानमन्त्री केपी शर्मा ओलीको श्रीमती भनेको भए हुन्थ्यो जस्तो लाग्यो । प्रधानमन्त्रीको श्रीमतीको नाम थाहा नहुन सक्छ तर ‘बा’ भनिसकेपछि आमाको नाम थाहा नपाउने कमै हुन्छन् । आमाको नाम नै थाहा नपाएको ब्यक्तिलाई के बा भन्नु ? खासमा यो कुराकानी मैले यति धेरै चर्चामा आउँछ, भाइरलवाला कुराकानी हुन्छ भनेर हेरेको होइन, सुरक्षालाई आफूले चिनेको कारणले र हृदयेन्द्रलाई उनले नचिनेको कारणले इन्ट्रेष्ट जागेर हेरेकी थिएँ । पछि यसले अर्कै रूप लियो ।

अहिले यही कुराकानीका कारण सुरक्षालाई साइबर आक्रमण गरिएको छ । ट्रोलमात्रै होइन, पढ्नै नसक्ने शब्द प्रहार गरिएको छ । कसैले कुनै कुरा लेखेकै, बोलेकै भरमा यस प्रकारले कसैको पनि चरित्रहत्या गर्न पाइँदैन । सुरक्षाले बोलेका कतिपय कुरा नबोलेको भए हुन्थ्यो जस्तो लागेको हो तर अहिले जसरी उनीमाथि हमला गरिएको छ, त्यो गलत छ । सुरक्षालाई प्रयोग गरिएका शब्द हेर्दा त्यसका लागि उनले कानूनको प्रयोग गर्न सक्छिन्, गर्नुपर्छ । हामीकहाँ सूचना प्रविधि र समाजिक सञ्जालसम्बन्धी कानून छैन । सामाजिक सञ्जालमार्फत कसैले हिंसा गऱ्यो भने विद्युतीय कारोबार ऐनको प्रयोग गर्ने गरिएको छ । विद्युतीय कारोबार ऐनको दफा ४७ मा इन्टरनेटमार्फत कसैप्रति द्वेष फैलाउने अभिब्यक्ति दिएमा, महिलालाई हैरानी पार्ने, जिस्काउने, अपमान गर्ने अभिब्यक्ति दिएमा एक लाख रुपैयाँ जरिवाना र पाँच वर्षसम्म कैद या दुवै सजाय हुने ब्यवस्था छ ।

सार्वजनिक अभिब्यक्ति दिँदा कहिलेकाहीँ तलमाथि हुनसक्छ । सबैले सोचेजस्तो गरी बोलिन्छ, लेखिन्छ भन्ने हुँदैन, अलिकति तलमाथि हुनेबित्तिकै सामाजिक सञ्जालबाट लखेट्ने, अपशब्द प्रयोग गर्ने र जे लेखेपनि, बोलेपनि हुन्छ भन्ने पवृत्ति केही समययता मौलाउँदै गएको छ, यसलाई निरुत्साहन गर्नैपर्छ । राजावादीको विरोधका कारण सुरक्षाले अभिनय गरेको सिनेमा चलेन भन्ने भाष्य पनि सही हो जस्तो लाग्दैन । हिजोआज सबै क्षेत्र धरासयी बन्दै गएको छ । उनले अभिनय गरेको मात्र नभइ धेरै सिनेमाहरू चलेका छैनन् या कम चलेका छन् । बोलेकै कारण सिनेमा चलेन भन्नु उनलाई अनावश्यक विवादमा तान्ने र मानसिक तनाव दिने बहाना मात्रै हो । यदि राजावादीहरूले नहेरिदिँदा राम्रो सिनेमा नै हलमा चलेन भने हाम्रो देशको अवस्था फरक हुँदै गएछ भनेर राजनीतिक चिन्तकहरूले सोच्ने विषय हो यो । सिनेमा चल्ने/नचल्ने कुरामा दर्शकको हात हुन्छ । दर्शक प्रायः सर्वसाधारण नै बढी हुन्छन् । यदि सर्वसाधारणले हेरेनन् र ती सबै राजावादी हुन् भने त मुलुक चलाउनेहरूले वर्तमान परिस्थितिलाई धेरै नै गम्भीरतापूर्वक लिनुपर्ने हुन्छ ।

सुरक्षालाई मात्र नभई आफ्नो विषयमा कसले के बोल्यो भन्ने कुरामा अनजान पूर्व नवयुवराज हृदयेन्द्रलाई समेत अनावश्यक विवादमा ल्याउने काम भएको छ । आफूलाई नचाहिने कुरामा मुछेकोमा निश्चय नै उहाँलाई पनि दुःख लागेको होला । सुरक्षाको बचाउ गर्नका लागि आफ्नै संसारमा रमाइरहेका राजपरिवारका सदस्यलाई विवादमा तान्ने र राजावादीका नाममा अभिनेत्री सुरक्षा पन्तलाई तनाव दिने दुवै काम गलत छन् । हाम्रो मुलुक सभ्यता सकिएको र कानून नभएको मुलुक होइन । सामाजिक सञ्जाल जे पनि लेख्न मिल्ने प्लेटफर्म होइन भन्ने कुराको हेक्का राखौँ । नेपाल प्रहरीको साइबर ब्युरोले यो घटनालाई गम्भीरतापूर्वक लेओस् ।