स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उपचारमा संलग्न सबै सरकारी चिकित्सकहरूलाई कागजातमा आफ्ना सबै विवरण खुलाउन निर्देशन जारी गरेको छ ।
मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाले सबै सङ्घीय अस्पताल तथा प्रतिष्ठानहरूलाई आज (१७ वैशाख) पत्राचार गर्दै अस्पतालमा उपचारका लागि आउने बिरामीको रिपोर्टमा चिकित्सकको विवरण खुलाउन भनेको हो ।
उक्त निर्देशनानुसार आवश्यकताअनुसारको रेडियोलोजी, प्रयोगशाला र अन्य परीक्षणमा सिफारिस गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मीको पूरा नाम, विशेषज्ञता, काउन्सिल दर्ता नम्बर तथा सहीछाप बिरामी रिपोर्टमा खुलाउनपर्ने छ ।
निर्देशनले बिरामीको उपचार तथा पुनःपरीक्षणमा सहजता ल्याउने अपेक्षा गरिएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए । उनका अनुसार यस व्यवस्थाले अनावश्यक परीक्षण रोक्न तथा परीक्षण सम्भव हुँदाहुँदै अस्पतालबाहिर पठाउने (रिफर) प्रवृत्ति रोक्ने अपेक्षा गरिएको छ ।
‘हाल चिकित्सकीय विवरण चिकित्सकको सिफारिस (पेस्क्रिप्सन)मा पूरा नहुँदा बिरामीको उपचार तथा त्यसक्रममा भएका खराबी पहिचानमा समेत समस्या परेको छ । अब चिकित्सकीय विवरण अनिवार्य गरिँदा त्यसले चिकित्सकलाई थप जिम्मेवार र जवाफदेही बनाउन समेत मद्दत मिल्ने विश्वास गरिएको छ’, उनले भनेका छन् ।
जारी निर्देशनले सरकारी अस्पतालबाट बिरामीहरूलाई प्रभावकारी सेवा प्राप्त हुने तथा उपचारात्मक सेवा सुधारका लागि योगदान पुग्ने अपेक्षा गरिएको स्वास्थ्यमन्त्री प्रदीप पौडेलको निजी सचिवालयले जनाएको छ ।
प्रतिक्रिया