आन्दोलनको तयारीमा स्थानीय
- अनुषा थापा, भक्तपुर
‘शक्ति हुनेले जे गरे पनि हुने, सानालाई मात्रै कानुन लाग्ने ?!’ भन्दै भक्तपुरको काँक्राबारीका जनताले प्रश्न तेर्साएका छन् । सियो खसेको देख्ने वडाध्यक्ष अनि नगरपालिकाले वन तथा स्थानीय प्राकृतिक स्वरुप-सम्पदा नै मासिनेगरी तीस वटाभन्दा बढी डोजर दैनिक चलाउँंदा किन देखेनन् भनी स्थानीयले प्रश्न उठाएका हुन् । ‘भक्तपुर जिल्लाको रोल्पा रुकुम’ भनेर चिनिने सूर्यविनायक नगरपालिका वडा नं ९ कांक्राबारीको पूरै क्षेत्रमा झण्डै तीन दर्जन डोजरहरु दिनरात चले पनि उनीहरुमाथि कारबाही नभएको भन्दै स्थानीयले विरोध गरेका हुन् ।
यो ठाउँ जिल्लाको सूर्यविनायक नगरपालिका वडा नं ९ (साविक न:खेल गाविस वडा नं. ४ क र ख) काँक्रावनस्थित घिसिङ डाँडामा रहेको छ । यो आयोजना निक भुजिकिक हाउजिङ कम्पनीले सञ्चालन गरिरहेको हो ।
टाढाबाट हेर्दा कमिला जत्रा देखिने डोजर तथा स्काभेटर चलाएर सामुदायिक भित्री वनको क्षेत्र अतिक्रमण गरी काम भइरहेको महिनौ बिते पनि कसैले वास्ता नगरेको भन्दै स्थानीयले पत्रकारहरुसँंग हारगुहार मागेका छन् । वन क्षेत्रमा रहेको स्थानीय जनताले प्रयोग गर्दै आएको खानेपानीको मूल तथा पानी पँधेरो, खेल्सााखोल्सी, बाटो पुर्नुका साथै खानेपानीको पाइपलाइन समेत क्षतविक्षत गरेर स्थानीयलाई खानेपानीबाट बञ्चित गरेको उनीहरुको दुःखेसे छ । आयोजनाले जंगलबाट घाँसपात ल्याउने बाटो समेत अवरोध गरेको स्थानीयले बताए ।
उक्त कम्पनीले डोजर चलाउँदा परम्परादेखि रहँदै आएको खोल्साखोल्सी समेत पुरिएर पानीको निकास समेत थुनिएको हुँदा वर्षामा आउने भेलबाढीले स्थानीयको घरबारी समेत बगाउने खतरा बढ्दो छ । घिसिङ टोलमा आयोजना सञ्चलान गर्दा घिसिङ टोलभन्दा मुनि रहेको लामाटोल अति जोखिममा पर्न गएको छ । आयोजनाले स्थानीय जनताको सहमतिविना जबर्जस्ती व्यक्तिको जग्गा समेत खनेर व्यक्तिको बसोबास रहेको घरसमेत स्थानान्तरण गर्न बाध्य पारेको जनाइएको छ ।
वन क्षेत्रको जैविक विविधता, पर्यावरण र स्थानीय जनताको जीवनमा समेत गम्भीर असर पर्ने गरी सरकारी र सामुदायिक वन क्षेत्र अतिक्रमण गरेर निक भुजिकिक हाउजिङ कम्पनीले प्लटिङ्ग आयोजना सञ्चालन गरेको हुँदा सो आयोजना तत्काल रोक्का गरी वन-जंगल र प्राकृतिक पर्यावरण बिगार्ने काममा संलग्न हाउजिङ कम्पनीका डिल्ली बराइली, प्रविण कुस्मा र जग्गाधनी भनिने सुधीरकुमार अधिकारी तथा यसै स्थानका शंकर तामाङ र हाउजिङ्ग कम्पनीसँगको अवैध प्रतिवद्धतामा वन-जंगल अतिक्रमण गर्न सहमति दिने सबैलाई कारवाही गर्न उनीहरुले जिल्ला प्रशामशन कार्यालय भक्तपुर, जिल्ला वन, सूर्यविनायक नगरपालिका, वडा कार्यालयसमेतलाई ज्ञापनपत्र बुझाइसके जनाए । तर कसैले पनि केही कदम नचालिदिएको भन्दै स्थानीयले मंगलबार (१६ वैशाख) त्यहाँं पुगेका पत्रकारहरुसँंग सहयोगको याचना गरे ।
यसैका लागि स्थानीयले संघर्ष समिति पनि गठन गरेका छन् । गठित संघर्ष समितिको अध्यक्षमा स्थानीय प्रेमबहादुर तामाङ रहेका छन् । उपाध्यक्षमा एकराज तामाङ, सचिवमा सुनिल तामाङ दोङ्ग रहेका छन् । सदस्यहरुमा बाबुराम लामा, बुद्ध लामा, शंकर लामा, ज्ञानबहादुर लामा, देवबहादुर तामाङ (लो), केशव तामाङ, सानो तामाङलगायतका रहेका छन् ।
यो ठाउँं अरनिको राजमार्गअन्तर्गत भक्तपुरको साँंगा झोलुंगे पुलबाट सिधै पहाडमाथिको जंगैलैजंगलको बाटो भएर दस १२ किलोमिटर माथि पर्दछ । यहाँंको पूरै क्षेत्र जंगलै जंगल रहेका छन् । साथै फाट्टफुट घरहरु पनि छन् ।
सरोकारवालाहरुले वेवास्ता गरेपछि उनीहरु आफैं आन्दोलनको तयारीमा जुटेका छन् । यहाँंको पूरै बस्ती तामाङ समुदायको रहेका छ ।
प्रतिक्रिया