अबको तत्परता- सर्वपक्षीय जागरुकता र जनएकता

अबको तत्परता- सर्वपक्षीय जागरुकता र जनएकता


जहिल्यैसुकै जनताका निम्ति यसो गर्छौं र उसो गर्छौं भनेर बारम्बार फलाको हाल्दै आए पनि व्यवहारमा चैं दलीय नेतृत्व सदैव सत्ता हासिल गर्ने बल्छी थापेर पर्खिरहेका हुन्छन् । त्यस्ताहरूकै बगाल रहेको वर्तमान मूलधारका राजनीतिक दलका मुखियाहरूबाट वर्तमान अव्यवस्थाको अन्त्य होला भन्ने आश गर्न सकिने त्यान्द्रो आधार पनि छैन । किनकि, भ्रष्टाचारी-कमिशनखोरहरूको जुन दलाली सिण्डिकेटमा उनीहरू आबद्ध छन्, त्यो सर्वकालिक हो । अनि, त्यस्ता अनैतिक व्यक्तिहरूको नेतृत्वमा देश भ्रष्टाचारबाट मुक्त होला र सुशासन कायम होला भनेर अपेक्षा गर्नु नै मूर्खता ठहर्ने अवस्था केही वर्ष यता बहाल छ ।

राष्ट्र, राष्ट्रियता, सार्वभौमिकतामा खलल पर्ने अवस्था पारेका पनि १८ वर्ष यता सत्तामा रहनेहरूले नै हो । त्यससँगै गलगिद्द दलाल, कमिशनखोर र भ्रष्टाचारीहरू लूटेरा बनेर शासन, प्रशासन र नियामक निकायमा उपरखुट्टी लगाइआएका छन् । न्यायपालिकामा समेत तिनैको पकड रहेको प्रतीति छ । घुमिफिरी सत्ताको म्युजिकल चेयरमा खासगरी ३ ठूला भनिइने दलका नेतृत्व मगनमस्त रहँदै आए, जसले सत्तालाई केवल आफ्नो स्वार्थपूर्तिको साधन बनाए, न कि देश र जनताको हितका निम्ति उपयोग ! त्यसको नतिजा आज हामी सबै सामू छ- जसले बलिदान दिएर वर्तमान शासन व्यवस्था बहाल हुन सक्यो, तिनै जनता आज राज्यले प्रदान गर्नुपर्ने सेवा र सुविधाबाट वञ्चित छन्, कुशासनको मारमा छन् ।

गणतन्त्रपछिको कालखण्डमा राजनीतिक आदर्श र नैतिकताबाट च्यूत हुँदै पालैपिलो राज्यसत्तामा रैफाँडो गर्दै आइरहेका दलपतिहरू देश तथा जनताका सपनाका सौदागर हुन पुगेका छन् । भ्रष्ट राजनीतिक पेशाजीवी, कमिशनखोर कर्मचारीतन्त्र, देशी-विदेशी दलाल, तस्कर, माफिया सञ्जाल आदि परजीवीहरूको लूट-धन्दा अकण्टक रहेकैले जनताको निराशा आज आक्रोश बनेर विष्फोटको संघारमा छ । सत्ता त केवल भ्रष्ट नेता, कमिशनखोर बिचौलिया, कालाबजारिया, दलाल पूँजीपति र माफियाको हित सोच्ने/गर्ने मञ्च जस्तो बनिरहेको छ, त्यस्तै तत्वहरूको गिरफ्तमा पनि छ । अर्थात्, राजनीतिलाई अवैध तवरले अकुत कमाउने पेशा बनाइआएका नेताप्रति जनताको विश्वास गुमेको छ । त्यसकारण वर्तमान सिलसिलेवार दुरावस्थाको अन्त्यका लागि आमजनता फेरि एकखेप गोलबन्द भएर शासकीय र प्रशासकीय शैतानी मच्चाइरहेकाहरू विरुद्ध सशक्त ढंगले प्रतिकारमा उत्रिन अपरिहार्य छ ।

देशमा अनेक स्वरूपका बेथितिहरू मौलाउनुको प्रमुख कारण ‘लोकतान्त्रिक गणतन्त्रात्मक’ शासन व्यवस्था नभइ यो पद्धतिलाई ढाल बनाएर सत्तामार्फत लूटतन्त्र चलाइरहेका दलका नेताहरू हुन् । वर्तमान दुरावस्थाको मुख्य कारण जनताले विश्वास गरेर सत्ता सुम्पिएकाहरूले नै गरेको बेइमानी, गद्दारी र विश्वासघात हो । यसैले सत्ताधारीहरूप्रतिको घोर वितृष्णा र घृणा लोकतान्त्रिक गणतन्त्रविरुद्ध लक्षित हुनुअगावै राज्यसञ्चालक परिवर्तनका लागि निरन्तर संघर्ष गर्न नितान्त जरुरी छ । यसका लागि जुनसुकै पार्टीमा वा बाहिर रहेका ऊर्जावान युवाहरूसँगै सबै उमेरवयका चेतनशील एवम् जागरुक जनपंक्ति साझा वैचारिक धार, पारस्परिक विश्वास र भातृत्वभावमा सगोल हुने विकल्प मात्रै बचेको छ, निश्चित रूपमा समयको माग पनि यही नै हो ।