नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी पक्राउ परेका छन् । नेपाल प्रहरीले चौधरीलाई आज (१७ वैशाख) कमलादीस्थित प्रज्ञा भवन परिसरबाट पक्राउ गरेको हो ।
नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबीच आज प्रज्ञा भवनमा एकता हुने कार्यक्रम तय गरिएको थियो । पार्टी एकता घोषणा सभामा पक्राउ परेका चौधरीलाई प्रहरीले डिल्लीबजार कारागार बुझाएको छ । पार्टी एकता घोषणा सभामा पुगेका निजलाई जिल्ला प्रहरी परिसर काठमाडौंको प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो ।
सर्वोच्च अदालतको फैसला कार्यान्वयनसम्बन्धी आदेशबमोजिम उनलाई पक्राउ गरेर डिल्लीबजार कारागार पठाइएको काठमाडौं परिसरका प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए ।
ज्ञातव्य छ, रेशम चौधरीलाई कैलालीको टीकापुर घटनाको मुख्य योजनाकारको रुपमा रहेको भन्दै सर्वोच्चले जन्मकैदको फैसला गरेको थियो । सोही मुद्दामा लामो समय कारागार बसेका चौधरी गणतन्त्र दिवसका अवसरमा कैद माफी मिनाहा भइ रिहा भएका थिए ।
प्रतिक्रिया