सर्वोच्च अदालत मुद्दा शाखाका अधिकृतको यस्तो हर्कत ! रेशम चौधरी थुनामुक्त हुने !!

सर्वोच्च अदालत मुद्दा शाखाका अधिकृतको यस्तो हर्कत ! रेशम चौधरी थुनामुक्त हुने !!


जनमत पार्टीसँग एकता घोषणा हुनैलाग्दा पक्राउ परेर कारागार पुऱ्याइएका नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी थुनामुक्त हुने भएका छन् । सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्न भन्दै बुधबार दिउँसो प्रज्ञा प्रतिष्ठान कमलादीबाट उनी पक्राउ परेका थिए ।

रेशम चौधरीलाई पक्राउ गर्नेबारे सर्वोच्च अदालत मुद्दा शाखाका अधिकृत महिमानसिंह विष्टबाट जारी गरिएको आदेश नै अनधिकृत रहेको सर्वोच्च अदालतले प्रष्टिकरण दिएपछि अधिकृत विष्ट पक्राउ परेका छन् भने चौधरी रिहा हुने भएका हुन् । मुद्दा शाखाका अधिकृत विष्टको व्यक्तिगत निर्णयका आधारमा गएको पत्र सर्वोच्चको आधिकारिक पत्र नभएको सर्वोच्चका सहायक प्रवक्ता निराजन पाण्डेले जनाएका छन् ।

सर्वोच्च अदालतले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यस अदालतको शाखा अधिकृतले चनं १९२७७ मिति २०८२/०१/१७ को कारागार कार्यालय डिल्लीबजार काठमाडौँलाई लेखिएको पत्र अनधिकृत रहेकाले उक्त माथि उल्लेखित चनं र मितिको अनुरोधपत्र कार्यान्वयन नगर्न अनुरोध गर्दै सम्बन्धित निकायमा पत्राचार गरिसकिएको र अनधिकृत रूपमा सो पत्र लेख्ने अधिकृतलाई कानून बमोजिमको कारबाहीको प्रकृया सुरु गरिएको व्यहोरा सबैमा जानकारीको लागि अनुरोध छ ।’

विष्टले राष्ट्रपति रामचन्द्र पौडेलबाट यसअघि भएको आममाफीको निर्णय नै उल्ट्याइदिएका थिए । विष्टलाई काठमाडौं प्रहरी परिसरको टोलीले सर्वोच्चबाटै पक्राउ गरेर हिरासतमा राखेको छ भने उनले टीकापुर घटनामा ज्यान गुमाएका मान्छेहरूको आत्माले पोलेकाले पत्र लेखेको बयान दिएका छन् ।