यो हो ‘घर-घरकी कहानी’ !

यो हो ‘घर-घरकी कहानी’ !


विक्रम संवत् २०८२ को विवाह लगनका दिनहरू शुरु भइसकेका छन् । केही महिनाबाहेक यो सालको फागुन मसान्तसम्म विवाहहरू सदाझैँ भइरहनेछन् । त्यसो त, क्रान्तिकारी नेता भनाउँदाहरू र उरण्ठेउला व्यभिचारीहरूले श्रावण, कात्तिक र चैत्रमा पनि विवाह गरेका उदाहरण नभएका होइनन् । खैर, यतापट्टी नजाऊँ ! यहाँ केवल समयले बँदलेको विवाह पद्दति र छोराछोरीका स्वनिर्णयले हाम्रा अभिभावक, हाम्रो समाज, रीतिरिवाज, परम्परा र संस्कृतिमा पारेको प्रभावहरूका बारेमा संक्षिप्तमा चर्चा मात्र गरौँ !

विवाहको सिजन लाग्दानलाग्दै अभिभावकहरू मागि विवाहका लागि वरबधुहरूको खोजीमा दौडधुप गर्दैछन् । जति, उमेर पुगेका छोराछोरीको विवाहको चिन्ताले अभिभावकहरू दौडधुपमा हैरान छन्, त्यति नै अचेलका केटाकेटीहरूले आफ्ना अभिभावकहरूलाई थपक्क घरमै बसी-बसी ज्वाइँ र बुहारी हातपर्न थालेका छन् । किनभने अचेलका युवाहरूको जोडीले आफै आफ्नो सुन्दर भविष्यको तय गरिसकेका हुँदारहेछन्- ले गर्दा अभिभावकलाई बरवधु जुटाउन त्यतिसाह्रो दौडधुप र टण्टा पर्न छाडेको रहेछ । तर भविष्यमा हाम्रो सामाज कता पुग्ने हो ? हाम्रा सनातनी परम्परा रितिरिवाज संस्कृति के हुने हुन् ? जस्ता प्रश्नहरूले भने उनीहरूलाई पिरोलिरहेको स्वयं अभिभावकहरू नै बताउन थालेका छन् ।

जमाना यस्तो आयो कि अचेल स्कुले उमेरदेखि नै आफ्नो पार्टनरको तय गर्न शुरु हुँदोरहेछ । लामो समय बसउठ् र मायामा रमाएपछि अपरिचित र नौलो केटोसँग अटेच्मेन्ट गर्न पटक्कै रुचि नहुँदो रहेछ । अभिभावकको दबाबमा केटाकेटीलाई राजी गराउनु भनेको अप्रिय घटना घटाउनु हो भन्ने भयले गर्दा दबाब दिन पनि नहुने भयो । त्यसैले पहिला जस्तै विवाहका लागि बरबधुको खोजी गरेर परम्परागत ढङ्गले गरिने विवाहहरू कम हुँदै जान थालेको यथार्थ अब लुकाएर नलुक्ने भएको छ ।

केही समय पहिलासम्म केटा नपाएर केटीहरूको विवाह गर्न मुस्किल थियो । तर अहिले ठ्याक्कै त्यसको उल्टो भएको छ । विवाहयोग्य केटाहरू थुप्रिएका छन् तर प्रशस्त केटीहरू भएर पनि ‘केटी’ भेटिँंदैनन् । भेटिहाले पनि केटीका अभिभावकलाई कुरा पुऱ्याउँदा केटीले अपरिचित केटालाई हेर्नै नमानेको भन्दै पन्छिन्छन् । जतिसुकै सम्पन्न, सुन्दर र सुयोग्य केटो भएपनि केटीले उसको अनुहारसम्म हेर्न चाहन्नन् । किनकि ऊसँग ‘अलरेडी ब्वायफ्रेण्ड’ छ । अथवा ‘अलरेडी गर्लफ्रेण्ड’ छ ।

केही समय अघिसम्म वैदेशिक रोजगारमा लागेको केटा पाए हुरुक्क हुने बधुहरू अहिले अरु त अरु, अमेरिकाको ग्रिनकार्डवालालाई समेत केटीहरूले ‘कौन पुछे खेसरीका दाल’ भन्न थालेका छन् । केटो अमेरिकामा रहेको आकर्षक सम्भावना देखाउँदा पनि केटीले ‘त्यस्ता जाबा अमेरिका जाम भने मै गैदिन्छु, कसैले लैजान पर्दैन’ भन्ने गरेको समेत केटाका अभिभावकहरूले नै सुनाउँछन् । तर त्यसरी उनीहरूले भनेजस्तै अमेरिका पुगेका केटीहरू अहिलेसम्म कतै भेटिएका छैनन्, न त सुनिएको नै छ ।

विवाह जीवन श्रृष्टीको मूल तत्व हो । हाम्रो सनातन हिन्दुपरम्परा अनुसार जन्मदेखि मृत्युसम्मका विभिन्न कर्म पूरा गर्नुपर्ने मान्यताभित्र विवाह कर्म पनि पर्दछ । विवाह त भइरहेका छन्, तर पुर्वजहरूद्वारा परिकल्पित परम्परागत विवाहकर्मलाई भुलिँदैछ/बिर्सिइँदै छ । परम्परागत मान्यताहरू बिस्तारै हराउँदै जान थालेका छन् । सजातीय र मागी विवाहमा विद्रोह उत्पन्न भएकोमा अभिभावकहरू निराश छन् । आधुनिकता र अनियन्त्रित विकसित सञ्चार जगत यसको दोषी देखिएता पनि आफ्नो नीजि राजनीतिक स्वार्थका लागि समाज भाँड्ने उग्र राजनीतिक विचारहरू नै विद्रोही विवाहका लागि मुख्य जिम्मेवार छन् भन्ने आरोप व्याप्त छ ।

विशेषगरी उग्र राजनैतिक भड्कावले गर्दा घरघरमा सबैलाई सताउन थालेको छ । मान्छे-मान्छेमा के को विभेद ? रगत-रगत यौटै हो, यो वा ऊ किन भन्ने ? जस्ता तर्ककै आधारमा निर्णय लिएर विवाहबन्धनमा बाँधिएका दम्पतिहरू बढ्दो छन् । तर यस्ता तर्कले बाँधिएका दाम्पत्य जीवनहरू सबै सुखमय देखिंदैनन् । बरु, यस्ता दाम्पत्य जीवनका कारण थुप्रै अभिभावकहरूले आफ्नो जीवनलीला समाप्त पारेका घटना हाम्रा घर-समाज वरिपरि छरपष्ट छन् ।

कतिपय दाम्पत्य जीवनहरू छोटो समयमै विघटनमा पुगेर पनि स्वनिर्णयकर्ताले खुट्टा त माथि नै परेको छ भन्ने भ्रममा रमाउन विवश छन् । तथापि, आम नेपाली समाजमा आफ्ना सन्तानमा पन्पिँदो उच्छृङ्खल स्वच्छन्दतालाई लिएर अभिभावकहरू चिन्तित हुनुलाई अस्वाभाविक पनि मान्न सकिन्न । यस्ता स्वच्छन्दतालाई बढावा दिन सरकार पनि मरिमेटेर लाग्ने गरेको छ । सरकारले नै तिमीहरूले यसो गऱ्यौ भने यति पैसा पाउँछौ भन्दै युवा मष्तिष्कमा स्वतन्त्रता नभइ स्वच्छन्दताको विष भरिदिन्छ ।

विशेषगरि ब्राह्मण समुदाय आफ्नो जातीय पहिचान निचोरिँदै सुक्दै जान थालेकोमा चिन्तित देखिन्छ । ब्राह्मण समुदायकै केटाहरूले गर्ने गरेको विद्रोहले स्वयं ब्राह्मण समुदाय खुम्चिँदै जान थालेको प्रष्टै छ । ब्राह्मण इतरहरूलाई जो जससँग जसरी विवाह भएपनि जातथर बदलिन्न र उनीहरूको समुदाय घट्दैन, बरु बढ्छ । तर, ब्राह्मण केटाले त्यसो गरेमा ऊ ब्राह्मण रहिरहन नसक्ने मान्यताले बाहुनहरू क्रमशः खिइँदै घट्दै जान थालेको यथार्थ पनि कतै लुकेको छैन । माथि उल्लेखित उग्र राजनैतिक विचारहरूको शिकार यही ब्राह्मण समुदाय लक्षित छ भन्दा फरक पर्दैन । धन्न, सरकारी ऐन नियम कानुनको प्रलोभनले उकासेका माया-प्रेमहरू उति झाँगिन पाएका छैनन् । नत्र, ब्राह्मण समुदायले अझ ठुलो क्षति व्यहोर्नुपर्ने हुने थियो । सरकारी माया-प्रेम पनि खास गरेर ब्राह्मण समुदायलाई घटाउन लक्षित रहेको छ भनेर कति पटक भनौँ !

हिजोआज बिहान बेलुका म कतै घुम्छु । बाटोमा भेटिने चिनेजानेका इष्टमित्रले बाटो छेऊ पुऱ्याएर केटो अथवा केटी खोजिदिन कानेखुशी गर्छन् । कसैले बिहान सबेरै उसैगरि फोनमा कुरा गर्छन् । उमेर पुगेका सन्तानको विवाह समयमै गरी जिम्मेवारीबाट छिटो उम्कन अभिभावकहरू मसँग जस्तै अरुसँग पनि कुरा गर्दा हुन् । जता गयो उतै माथि उल्लेखित समस्याले गर्दा समयमा छोरछोरीको विवाह हुन नसकेको गुनासाहरू सुनेको थिएँ । जुन हाम्रो समाजमा व्याप्त बनेका छन् । तिनै बिहान बेलुका घुम्दाका भेटघाट र कुराकानी सुन्दा लाग्छ, हाम्रा विवाह पद्दति घरघरकी अव्यक्त कहानी बनेको छन् भन्दा अन्यथा होला र ?