शाखा अधिकृत विष्टलाई चार दिन हिरासतमा राख्न अनुमति

शाखा अधिकृत विष्टलाई चार दिन हिरासतमा राख्न अनुमति


जिल्ला अदालत काठमाडौंले सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्टलाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।

नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरीलाई पक्राउ गर्न अनधिकृत पत्र लेखेपछि पक्राउ परेका विष्टलाई शुक्रबार जिल्ला अदालत काठमाडौंले चार दिन हिरासतमा राखेर थप अनुसन्धान गर्न अनुमति प्रदान गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए ।

उनले भने, ‘अनधिकृत पत्र लेखेपछि विष्ट पक्राउ परेका थिए । आज अदालतले चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । उनीविरुद्ध लिखत कीर्ते कसुरमा अनुसन्धान भइरहेको छ ।’ प्रहरीले विष्टमाथि मुलुकी अपराध संहिता-२०७४ को दफा २७६ (३) को ‘क’ र ‘ख’सँग सम्बन्धित कसुरमा अनुसन्धान गरिरहेको प्रवक्ता बोहराले बताए ।