ठोस र परिमाणमुखी बजेट ल्याइनुपर्ने एमाले सचिवालय बैठकको निष्कर्ष

ठोस र परिमाणमुखी बजेट ल्याइनुपर्ने एमाले सचिवालय बैठकको निष्कर्ष


नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी आर्थिक वर्षको बजेटबारे छलफल गरेको छ । ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आइतबार (२१ वैशाख) बसेको सचिवालय बैठकमा आगामी आर्थिक वर्षको सन्दर्भमा छलफल भएको बैठकपछि आयोजित पत्रकार सम्मेलनमा एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । बैठकमा नेताहरूले बजेट ठोस र परिमाणमुखी हुनुपर्नेमा जोड दिएका उनको भनाइ छ ।

‘मूलतः नीति तथा कार्यक्रमले भनेजस्तै बजेट पनि ठोस र परिमाणमुखी होस् । विगतमा योजनाको छनौट स्रोतको विन्यास र योजनाको प्राथमिकतामा भद्रगोल देखिएको छ, विगतमा भएको अव्यवस्थालाई चिर्दै बजेट आओस् । सङ्घीय सरकारले राष्ट्रियस्तरका योजनामा केन्द्रित हुनुपर्ने बाँकी योजना प्रदेश र स्थानीय तहलाई दिनुपर्ने भन्ने कुरामा जोड दिइएको छ’- नेता ज्ञवालीले भने ।

यसैगरी, बैठकले बजेट उत्पादन र उत्पादत्वमा केन्द्रित हुनुपर्ने नेताहरूले सुझाव दिएका छन् । कृषि क्षेत्रका सघन पक्ष निर्माण गरेर किसानलाई जमिन, प्रविधि, बजार र बचतमा जोड दिँदै उनीहरूको आम्दानी बढाउने र मुलुकलाई आत्मनिर्भरतामा बढाउने गरी बजेट केन्द्रित हुनुपर्ने सुझाव प्राप्त भएको उपमहासचिव ज्ञवालीले जानकारी दिए ।

बजेटमा ‘जेन–जी’ पुस्तालाई केन्द्रमा राखेर उद्यमशीलता, उद्यममा क्रियाशील बनाउँदै जेन-जीसँगैको सहकार्यमा सूचना प्रविधिको विकासलाई अगाडि बढाउन बैठकमा छलफल भएको पनि उनले बताए ।

यसैगरी, बदलिँदो भूराजनीतिकले गर्दा अन्तरराष्ट्रिय सहयोग कटौती भएको र ठेक्का लागेका योजनामा दाताहरूले हात झिक्ने अवस्थाले गर्दा सरकारको दायित्व झन् थपिने भन्दै त्यसलाई ध्यानमा राखेर योजनाको प्राथमिकता गर्न पार्टीले सरकारलाई सुझाव दिएको छ । उपमहासचिव ज्ञवालीका अनुसार बैठकमा सुशासन, भष्ट्राचार नियन्त्रण र स्रोतको अधिकतम सदुपयोगलाई ध्यानमा राखेर बजेट निर्माण गर्न सुझाव दिइएको छ ।

photo: rss