प्रतिनिधिसभा आगामी आर्थिक वर्ष २०८२/८३ को सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि आज (२२ वैशाख)देखि छलफल प्रारम्भ हुँदैछ । छलफल शुरु हुनुअघि राष्ट्रपति रामचन्द्र पौडेलद्वारा यही वैशाख १९ गते शुक्रबार सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा गरिएको सम्बोधनमा उल्लेख भएको नीति तथा कार्यक्रममाथि छलफल गरियोस् भनी प्रधानमन्त्री केपी शर्मा ओलीले प्रस्ताव पेस गर्ने कार्यसूची छ ।
आगामी आर्थिक वर्षको सरकारको उक्त नीति तथा कार्यक्रममाथि सदस्यबाट प्राप्त संशोधन प्रस्तुत हुने र सम्बोधनमाथि छलफल गरिने सङ्घीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिएका छन् ।
कार्यसूचीअनुसार, त्यसका लागि प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्नेछ । सरकारको उक्त नीति तथा कार्यक्रममाथिको छलफल राष्ट्रियसभामा भने आइतबारबाटै प्रारम्भ भइसकेको छ । आजको बैठकमा पनि उक्त कार्यक्रममाथि छलफल हुनेछ । राष्ट्रियसभाको बैठकचाहिँ दिउँसो १ः १५ बजे बस्ने कार्यसूची छ ।
प्रतिक्रिया