‘फ्रड-क्राउड पोलिटिक्स’ले कसको ‘मोरल डाउन’ ?

‘फ्रड-क्राउड पोलिटिक्स’ले कसको ‘मोरल डाउन’ ?


राजनीतिक संगठन र पार्टी भनेको निश्चित सिद्धान्त, विचार, नीति र कार्यक्रमबाट चल्ने गतिशील मनवीय संरचना, अभियान र आन्दोलनको नाम हो । राजनीतिक संगठन र पार्टीमा राजनीति र कार्यक्रम पहिलो आधारभूत कुरा हुन्छ । राजनीतिक पार्टी र संगठन सञ्चालन गर्ने निश्चित विधि, प्रणाली र प्रक्रिया दोस्रो महत्वपूर्ण सर्त हो । निश्चित प्रकारको संगठन र त्यसको विधिसम्मत्त व्यवस्थापन अर्काे अनिवार्य विषय हो । राजनीतिमा पार्टी या संगठन भनेको जनता, नागरिक र राज्य प्रणालीसँगको सहकार्य गर्ने औजार हो । यसैले राजनीतिक पार्टी सञ्चालनको लागि उसले आफ्नो सिद्धान्त, विचार, दर्शन बनाएको हुन्छ र बनाउनु पर्दछ । सिद्धान्तलाई लागु गरी अघि बढ्नको लागि सोअनुकूलको राजनीतिक संगठनको आवश्यकता पर्दछ । संगठनलाई निश्चित विधि र प्रक्रियाबाट सञ्चालन गर्न त्यहाँ विधि, पद्दति, विधान, नियम, न्यूनतम मूल्य आदिलाई संस्थागत गरिएको हुन्छ र हुनुपर्दछ । निश्चित विधिमा पार्टी सञ्चालन हुन सकेन भने त्यो अराजक भीडमा परिणत हुन पुग्दछ । उदाहरणका लागि, नयाँ भनिएका रवि लामिछानेले सञ्चालन गरेको समूह एउटा अराजक भीडमात्र रहेछ । उनको ठगी र अन्य कान्डको पर्दाफास भएपछि उनको आधारभूत नैतिक धरातल पुराना पार्टीभन्दा पनि तल गिर्न पुगेको उदाहरण हाम्रासामु ताजा छ ।

राजनीति सबै नीतिको मूल नीति हो । राज्य र समाजमा रहेका द्वन्द्वहरूलाई शान्तिपूर्ण विधिबाट समाधान गर्ने माध्यम हो राजनीति । देश र समाज रहेसम्म राजनीति रहन्छ । राजनीति एउटा आदर्श विचार, सिद्धान्त र दर्शन पनि हो । यस्तो दर्शन मानिसको बृृहत् हितको सुरक्षा गर्नको लागि प्रयोग गर्न राजनीतिक पार्टी र संगठनको आवश्यकता पर्ने गर्दछ । राजनीतिक दर्शन, सिद्धान्त, विचार र मान्यता नभएको राजनीतिक संगठन भुत्ते हतियार जस्तो हुन्छ । राजनीतिक विचार र सिद्धान्त तथा संगठनको सम्बन्ध मानिससँग हुने भएकोले त्यसमा मानिसका मानवीयता, नैतिकता, मानवीय मूल्य, सदव्यवहार, गुण, आदत र कार्यशैलीको ठूलो भूमिका र अर्थ रहेको हुन्छ । राजनीतिक संगठन सञ्चालन मानिसले नै गर्ने भएकोले जबसम्म मानिसमा न्यूनतम नैतिकता, सामाजिक मूल्य र मानवीय व्यवहार बच्न सक्दछ तबमात्र विचार, सिद्धान्त, कार्यक्रम र संगठन प्रभावकारी बन्न सक्दछ । राम्रो सिद्धान्त र उत्कृष्ट संगठन भएर पनि नेतृत्व गर्ने नेतृत्वकर्तामा आधारभूत नैतिकता र व्यवहार भएन र पालना गरिएन भने त्यो झुट्टो सिद्धान्त र कमजोर संगठन बन्न पुग्दछ । त्यसैले राजनीतिक विचार, सिद्धान्त र संगठनको सम्बन्धको चर्चा गरिन्छ भने स्वभाविक हिसाबले त्यहाँ नेतृत्वकर्ताको आधारभूत नैतिकता तथा मानवीय व्यवहार हुनैपर्ने हुन्छ । निरंकुश पञ्चायती शासनको समयमा लोकतन्त्रवादी राजनीतिक नेताको ‘मोरल हाइ’ थियो । तत्कालिन राजाको निरंकुशता फाल्ने संघर्षका समयमा पनि त्यो नैतिकता देखिन्थ्यो । अहिले नेतृत्वकर्तामा नैतिकताको प्रश्न बढी उठ्ने गरेको छ ।

राजनीतिक पार्टी र संगठनमा नीति, विचार, सिद्धान्त, कार्यक्रम, लक्ष्य, उद्देश्य जस्ता पक्ष अन्तरसम्बन्धित तथा आवश्यक विषय हुन् । विचार र सिद्धान्तले संगठन चल्ने हुन्छ । संगठन भएर नीति, विचार, कार्यक्रम लागु गर्न सकिन्छ । यस अर्थमा एकको अभावमा अर्काे बाँच्न कठिन हुन्छ । आदर्श र विचारकका दर्शनलाई पनि त्यसलाई पालना र सम्मान गर्ने तथा बुझ्ने मानिसहरूको खाँँचो पर्दछ । गौतम बुद्धका विचार र दर्शन पनि यसकारण मान्य र जीवित छन् कि त्यहाँ त्यो मान्यता र विचारलाई आदर्श ठान्दै पालना गर्नेहरूको संख्या अध्याधिक रहेको छ । यस अर्थमा विचार, दर्शन र मूल्यको पालना गरिदिने मानिस भएन भने त्यो विचार केवल विचार मात्र रहन्छ । यसैले राजनीति र राजनीतिक पार्टीमा विचार, सिद्धान्त, नीतिको घनिष्ट अन्तरसम्बन्ध रहेको हुन्छ । यी दुवैको सन्तुलन मिलाउन सक्नु तथा व्यवस्थापन गर्नु नै उत्कृष्ट नेतृत्वको कला र क्षमता हो । त्यसका लागि नेतृत्वकर्ता आफैंमा ‘हाइ मोरल’ हुनु आवश्यक छ ।

भीडले नेताको उक्साहटमा वा अन्य कारणबाट बिगार्न, भत्काउन, नाश गर्न, नोक्सान गर्न, विभिन्न प्रकारका क्षति गर्न सक्ने क्षमता राख्दछ । तर निर्माण गर्न, बनाउन, सुधार गर्न, सच्चाउन, सत्कार्य सम्पन्न गर्न, तथा समग्र व्यवस्थापन गरी निश्चित लक्ष्यमा पुग्नको लागि भने उद्देश्यमूलक विचार, सिद्धान्त र कार्यक्रमसहितको नैतिक बलसमेत भएको निश्चित संगठन चाहिन्छ । त्यसलाई सञ्चालन गर्ने स्थापित विधि र प्रक्रिया आवश्यक पर्दछ । स्थापित विधि, प्रक्रिया र पद्दतिले संगठनलाई सहकार्य, सहमति र एकताको सूत्रमा बाँध्न सहयोग गर्दछ । विधि, प्रक्रिया र प्रणाली बनाइएन वा लागु गरिएन वा उल्लङ्घन गर्ने तरिका भयो भने त्यसले अराकता र विधिहीनता निम्त्याउँदछ । जुन अराकता र अनैतिक हर्कत रविको रास्वपाले ‘रवि छोडो आन्दोलन’का नाममा गऱ्यो । राजावादीका नाममा २०८१ साल चैत १५ गते भएको लुटपाट, चोरी र हिंसाले ‘आन्दोलनको भाष्य’ नै पतीत पाऱ्यो । त्यस्तो फ्रड, फन्टुस र वाहियात तरिकाले मुलुकमा चौतर्फी अराजकतासिवाय केही दिँदैन । अराजकता, नीतिहीनता, विधिहीनता, सिद्धान्तहीनता, प्रणालीहीनता जस्ता पक्षले संगठन खासमा ‘मोरल पोलिटिक्स’ ध्वस्त बन्दछ । यस्ता कार्य र संगठनको कुनै भविष्य पनि हुँदैन ।

राजनीतिमा टाउका या भीड आवश्यक हुने भएपनि विचारविहीन ‘भेँडा बथान’, फ्रड र ‘मोरललेस क्राउड’को अर्थ हुन्न । नीति विचारको व्यवस्थापनदेखि लिएर कार्यक्रमको व्यवस्थापन तथा संगठनकै पनि व्यवस्थापन गर्नु आवश्यक हुन्छ । संगठनको जिम्मेवारी र पदीय व्यवस्थापनको पक्षले पनि संगठन र पार्टीमा उर्जा थप्ने र उर्जा गिराउने कार्य गर्ने हुन्छ । जिम्मेवारीमा अन्याय भयो र पक्षपात गरियो भने त्यसले संगठनमा लाग्नेहरूको मोरल गिराउने कार्य गर्दछ । मनोवल गिरेको भीड र संगठनले केही गर्न सक्दैन । त्यसैले समग्र पक्षमा उर्जा र उत्साह ल्याउनको लागि नीति, विचार, कार्यक्रम, संगठन सबैतिर आवश्यक समन्वय, सहकार्य, व्यवस्थापन तथा अन्तरसम्बन्धको मान्यतालाई ख्याल गर्नुपर्ने हुन्छ ।

राजनीतिक विचार र संगठन जनता र नागरिकलाई गोलबद्ध गर्ने मान्यता र विधि हो, तरिका र प्रक्रिया हो । राजनीतिक विचार, नीति र मान्यतालाई सामाजिक विचार र सांस्कृतिक प्रणालीलाई समेत नेतृत्व गर्ने अवधारणा हो । राजनीतिक विचार र संगठनलाई आलोचनात्मक र विधिसम्मत्त ढाँचामा अघि बढाउन सहयोग गर्ने मूल्य हो । विचार र संगठनलाई विश्वव्यापी मान्यता र मूल्यसँग समायोजन गर्न सहयोग गर्ने दार्शनिक औजार हो । राजनीतिक विचार र संगठनले मानवीय मूल्य, मानवीयता, मानवीय व्यवहारलाई निर्देशित गर्न सहयोग गर्दछ । विचार, सिद्धान्त, नीति र संगठनलाई गतिशीलतामा बुझ्ने र व्याख्या गर्नु पर्दछ । राजनीतिक विचार, संगठन, नीति, सिद्धान्त र कार्यक्रमलाई समय, औचित्य, आवश्यकता र बस्तुगत विश्लेषणको आधारमा आवश्यक परिमार्जन र सुधार गर्दै लगिने र लैजान सकिने कुरा हो । यी सबैलाई डोहोऱ्याउन सक्ने शक्ति भनेको नेतृत्वकर्तामा हुने नैतिक बल नै हो ।

खासमा राजनीतिक पार्टी जनताद्वारा जनताको हित र राजनीतिक तथा सामाजिक आवश्यकताको सुरक्षाको लागि खोलिने मानवीय समूह र संरचना हो । त्यसैले जनता र नागरिकको तहबाट आएका आलोचना र सुझावलाई आत्मसात गर्न सक्नु पर्दछ । नीति, विचार, कार्यक्रम र सिद्धान्तलाई वैज्ञानिकता र यथार्थतामा बुझ्ने र व्याख्या गर्ने कुरा हो । पार्टी र संगठनको मार्फत राज्य सञ्चालनको प्रणालीमा सुधार र परिवर्तनको लागि सहकार्य गर्ने कुरा हुन्छ । मुलुकको संवैधानिक र कानुनी प्रणालीलाई जनता र सार्वजनिक हितमा कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने कुराले जनताको बृहत् हितको सुरक्षा हुन सहयोग गर्दछ । गतिशील संगठनविनाको नीति विचार, कार्यक्रम, सिद्धान्त, मान्यता दराजमा राखिएको पुस्तकभित्र रहेको कालो अक्षर जस्तो मात्र हो । नीति, विचार, कार्यक्रय, विधि, प्रणाली, सिद्धान्त नभएको संगठन असनको भीड जस्तो हुन्छ । जसमा मानिस पनि हुन्छन्, गति पनि हुन्छ, क्रियाकलाप पनि हुन्छ, तर निश्चित आकार हुँदैन । विचारविहीन ‘क्राउड’मात्रले गर्ने परिवर्तन अर्काे ‘क्राउड’ले पल्टाउँदछ । नाइजेरिया, सिरिया, यमन, बुरुन्डी आदिमा त्यस्तै भइरहेका छन् । भीडमा साझा कुरा र सामुहिकता खोज्न सकिन्न । त्यसैले भीडमा कसैको लक्ष्य, मान्यता, सिद्धान्त कसैसँग मिल्दैन । यसैकारण निश्चित नीति, विचार, सिद्धान्त संगठन आवश्यक हुन गएको हो । निश्चित संगठनसहितको नीति, विचार, सिद्धान्त, कार्यक्रमले मात्र केही गर्न सक्दछ । ‘होहोहोहो र हाहाहुहु’ मात्र गर्ने ‘भेँडो प्रवृत्ति’को भीडले समाजलाई हाँक्न सक्दैन भन्ने कुरा रास्वपा नामको विचारविहीन, अराजक र ‘पोलिटिकल्ली सेन्सलेस’हरू तथा ‘फ्रड’हरूको भीडबाट प्रमाणित हुँदैछ । ‘राजा फर्काउने क्राउड’ पनि त्यस्तै ‘मोरललेस’हरू र दासहरूको अर्थहीन ‘क्राउड’ मात्र हो, कुनै अर्थ छैन !