‘पार्टीभन्दा राष्ट्र राम्रो बनाउनु पहिलो कर्तव्य’
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीभन्दा पनि राष्ट्र राम्रो बनाउने सबैको कर्तव्य भएकाले त्यसतर्फ लाग्नुपर्नेमा जोड दिएका छन् । पार्टीको आर्थिक नीति तथा योजना विभागद्वारा केन्द्रीय कार्यालय सानेपामा मंगलबार (२३ वैशाख) आयोजित विद्यमान आर्थिक परिवेशमा बजेटले समेट्नुपर्ने नीति विषयक संवादमा सभापति देउवाले देशको अर्थतन्त्रको क्षेत्रमा उदारीकरणका विषयमा कांग्रेसको जित भएको छ भन्दै दलगत स्वार्थभन्दा पनि बढी राष्ट्रिय स्वार्थलाई ध्यान दिनुपर्ने बताए ।
‘भारतमा उदारीकरणको नीति नहुँदा नेपालले सुरुआत गरेको हो, सरकारले व्यापार, उद्योग गर्ने हैन, हामी मात्रै हैनौँ, प्रचण्ड र ओलीजी पनि यही नीतिमा हुनुहुन्छ, सरकारले नागरिकको शिक्षा र स्वास्थ्यमा लगानी गर्ने हो, सबै पार्टीहरू उदारीकरण आएका छन्, बेलायतमा अहिले पनि शिक्षा राज्यको नै दायित्व छ, शिक्षामा प्राइभेटले राम्रो त गरेको छ, तर सरकारीले काम गर्न सकेको अवस्था छैन, दुवैलाई अगाडि बढाइरहेका छौँ’, सभापति देउवाले भनेका छन् । ।
जलवायु परिवर्तनको विश्वव्यापी समस्याले हिमालहरू पग्लिएर कालापत्थरमा परिणत हुने अवस्था रहेको भन्दै सभापति देउवाले वनजङ्गल बचाउन ध्यान दिनुपर्ने उल्लेख गरे र भने, ‘ग्लोबल वार्मिङको समस्याले धेरै असहज बनाएको छ, यसमा ध्यान दिनुपर्छ, शिक्षा, स्वास्थ्य एवं हवाई यातायातका क्षेत्रमा नेपालले महत्त्वपूर्ण उपलब्धि हासिल गरेको छ ।’
राज्यको आवश्यकताअनुसार प्रतिफल दिने आयोजनामा मात्रै लगानी गर्नुपर्नेमा जोड दिँदै पूर्वप्रधानमन्त्री देउवाले विदेशी अनुदान घट्दै गएको परिप्रेक्ष्यमा देशभित्रै लगानीमैत्री वातावरण तयार गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘आइटी क्षेत्रको विकासमा जोड दिनुपर्छ, युवावर्गलाई यस क्षेत्रमा लाग्न प्रोत्साहन गर्नुपर्छ ।’
गभर्नर नियुक्तिका विषयमा भइरहेको ढिलाइका बारेमा सभापति देउवाले राजनीतिक कारणभन्दा पनि राष्ट्र बैंकभित्रैको समस्याले ढिलाइ भएको तर्क गरे । ‘गभर्नरको विषयमा अहिले राजनीतिक समस्या छैन, ओलीजी पनि सकारात्मक नै हुनुहुन्छ, राष्ट्र बैंकभित्रकै समस्या हो’, उनको भनाइ थियो ।
प्रतिक्रिया