आगामी आर्थिक वर्ष २०८२∕८३ बजेटमा सम्बोधन गरिनुपर्ने विषयमा नेकपा (एमाले)को शीर्ष तहमा छलफल भएको छ ।
ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आज (२४ वैशाख) पार्टीका शीर्ष नेताहरुबीच बजेटका विषयमा छलफल भएको एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले जानकारी दिए ।
‘पार्टी अध्यक्ष एवं प्रधानमन्त्री बाहेक सबै सचिवालयका सदस्यहरु बैठकमा सहभागी हुनुहुन्थ्यो । बैठकमा बजेटलाई जनमुखी बनाउने विषयमा छलफल भयो, बजेटले उत्पादन र जनताका समस्या समाधान केन्द्रित हुनुपर्ने नेताहरुले सुझाव दिनुभएको थियो’, उनले भनेका छन् ।
यसअघि यही वैशाख २१ गते बसेको सचिवालय बैठकमा सबै सचिवालयका सदस्यहरुले समय अभावका कारण सुझाव दिन नसकेपछि आज बजेटबारे छलफल गरेका उनले जानकारी दिए ।
कार्यालय सचिव डा. अधिकारीका अनुसार कृषि, उद्योग, विकास निर्माणको साथै मुलुकलाई आत्मनिर्भरतामा बढाउने गरी बजेट केन्द्रित हुनुपर्ने सुझाव नेताहरुले दिएका थिए । बैठकमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षद्वय युवराज ज्ञवाली, विष्णुप्रसाद पौडेल, सुरेन्द्र पाण्डे, रामबहादुर थापा, अष्टलक्ष्मी शाक्य र गुरु बराल, महासचिव शङ्कर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली पृथ्वीसुब्बा गुरुङ, विष्णु रिमाल, सचिवद्वय लेखराज भट्ट, छविलाल विश्वकर्मा, योगेश भट्टराई, रघुवीर महासेठ, पद्मा अर्याल र गोकर्ण विष्ट सहभागी थिए ।
प्रतिक्रिया