‘राजाले गद्दी त्यागेर सुख पाउँदैनन्’

‘राजाले गद्दी त्यागेर सुख पाउँदैनन्’


राजसंस्था पुनःस्थानाका लागि गठित नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आगामी जेठ १५ गतेदेखि अनिश्चितकालिन आन्दोलन गर्ने जानकारी गराएको छ । कथित गणतन्त्र स्थापना भएको दिन जेठ १५ लाई इतिहासकै कहालीलाग्दो दिनको रुपमा सो समितिमा आवद्ध नेताहरुले ब्याख्या गरेका छन् ।

पत्रकार सम्मेलनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले गणतन्त्र चाहने र धर्मनिरपेक्षताको अन्त्य गरेर राजासहितको प्रजातन्त्र चाहनेबीच ध्रुवीकरण हुन जरुरी रहेको तर्क गरे । राजसंस्था र हिन्दुराष्ट्रको पक्षमा रहेका अन्य दलका नेता कार्यकतालाई ध्रुवीकरण हुन लिङ्देनले आह्वान पनि गरे ।

उनले राष्ट्रवादीहरुको आन्दोलन देशका लागि भएकोले सम्पूर्ण देशवासीलाई आन्दोलनमा सहभागी हुन आग्रहसमेत गरे। अबको आन्दोलन सफल नभएसम्म निरन्तर रहने उल्लेख गर्दै अध्यक्ष लिङ्देनले मुलुक यही अवस्थामा बसिरहन नसक्ने भएकाले अब नयाँ सम्झौतामा जानैपर्ने अवस्था रहेको धारणा राखे । यस क्रममा गणतन्त्र पक्षधरले दमनको बाटो रोजे उनीहरु बढारिने चेतावनी उनले दिए । राप्रपाका सबै कार्यक्रम अबदेखि संयुक्त आन्दोलनको एउटा अंगको रुपमा अघि बढ्ने घोषणासमेत लिङ्देनले गरे।

सोही कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाले कसैले चाहेर पनि अब राजावादीहरुको एकता नटुट्ने र कमजोर बनाउन नसक्ने जिकिर गरे ।

आफूहरू एकताबद्ध भएर अगाडि बढेको दाबी गर्दै उनले जेठ १५ गते काठामाडौंमा लाखौंको संख्यामा जनता उपस्थित भएर प्रदर्शन गर्ने तर आफूहरूले आयोजना गर्न लागेको आन्दोलन शान्तिपूर्ण हुने बताए । स्वस्फुर्तरुपमा जिल्ला, पालिका, वडा र टोलटोलमा राजसंस्था पुनःस्थापना समिति गठन गर्न र जनता परिचालन गर्न आग्रह गर्दै उनले गणतन्त्र स्थापना भएको दिन जेठ १५ लाई इतिहासकै कहालीलाग्दो दिनको रुपमा ब्याख्या गरे ।

यसैगरी, राष्ट्रिय शक्ति नेपालका अध्यक्ष केशरबहादु विष्टले राजसहितको प्रजातन्त्र पुनःस्थापित हुने दाबी गर्दै नेपालले छिट्टै राजासहितको प्रजातन्त्र र सम्वर्द्धनवादी राजनीतिक नेतृत्व विश्वमाझ प्रस्तुत गर्ने तर्क गरे ।

आफूहरुले १८ वर्षदेखि देशलाई बलियो बनाउन राजसंस्थासहितको प्रजातन्त्र आवश्यक भएको बताउँदै आएको स्मरण गराउँदै बिष्टले राजसंस्थासहितको प्रजातन्त्र आवश्यक छ भन्नेहरु अहिले राष्ट्रिय झण्डामुनि गोलबद्ध भएर आन्दोलनको जग बसालेको धारणा राखे ।

राजाले गद्दी त्याग गरेर सुख नपाउने उनको तर्क थियो । उनले भने, ‘राजाले गद्दी त्यागेर सुख पाउँदैनन् । राजाको वंशले यसमा अल्छी गरेर सुख पाइँदैन । राजा नभई यो देश चल्दैन ।’

सो अवसरमा संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले ‘सशक्त जनदबाब सिर्जना गर्न जेठ १५ गतेदेखि अनिश्चितकालीन जनआन्दोलन गर्ने’ घोषणा गर्दै आन्दोलन शान्तिपूर्ण हुने बताए ।