राज्यविरुद्धको कसुर र सङ्गठित अपराध कसुरमा अनुसन्धान गर्न राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र मेडिकल व्यवसायी दुर्गा प्रसाईंलगायत २३ जनामाथि पाँच दिनको म्याद थप गरिएको छ ।
उनीहरुलाई आज (२५ वैशाख) काठमाडौं जिल्ला अदालतमा पेश गरिएकामा अदालतले अनुसन्धानका लागि पाँच दिनको म्याद दिएको जिल्ला प्रहरी पसिसर काठमाडौँका प्रवक्ता एस्पी अपीलराज बोहराले जानकारी दिए ।
मिश्र र प्रसाईंविरुद्ध राज्यविरुद्धको कसुर र सङ्गठित अपराधमा अनुसन्धान भइरहेकामा आपराधिक उपद्रव कसुरमा पनि अनुसन्धान थालिएको छ । बयान ढिला भएकाले आपराधिक उपद्रव कसुरमा पछि नै अनुसन्धान थालिएको हो । सङ्गठित अपराध र आपराधिक उपद्रवमा अनुसन्धान भइरहेका अन्य २८ जनाको हकमा भने ७ दिनको म्याद थप भएको बोहराले जानकारी दिएका छन् ।
ज्ञातव्य छ, गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको प्रदर्शन हिंसात्मक हुँदा २ जनाको ज्यान गएको थियो भने दर्जनौँ घाइते भएका थिए । सरकारीलगायत निजी संरचनामा आगो समेत लगाइएको थियो भने तोडफोड समेत भएको थियो ।
प्रतिक्रिया