अमेरिकाद्वारा आफ्ना नागरिकलाई पाकिस्तान यात्रा नगर्न ‘एडभाइजरी’ जारी

अमेरिकाद्वारा आफ्ना नागरिकलाई पाकिस्तान यात्रा नगर्न ‘एडभाइजरी’ जारी


गत बुधबार राति भारतले ‘अपरेशन सिन्दूर’ शुरु गर्दै पाकिस्तानप्रशासित काश्मीर र पञ्जाब राज्यका ‘आतङ्कवादी शिविरुहरूमा क्षेप्यास्त्र आक्रमण गरेपछि दुई छिमेकीबीच ठूलो तनाव बढेको छ । यसले पाकिस्तानमा यतिखेर आतंक फैलिएको छ ।

त्यसको जवाफमा बिहीबार पाकिस्तानी सेनाले श्रीनगर, जम्मू र अमृतसर, जालन्धर र पञ्जाबको लुधियानामा ड्रोन र मिसाइलहरू मार्फत आक्रमण गर्ने प्रयास गरेको थियो । त्यसपछि भारतीय सशस्त्र बलले पाकिस्तानका धेरै स्थानहरूमा वायु रक्षा रडार र प्रणालीहरूलाई निशाना बनाएको थियो ।

यसरी भारत र पाकिस्तानबीच बढ्दो तनावका बीच अमेरिकी विदेश मन्त्रालयले अमेरिकी नागरिकहरूलाई पाकिस्तान यात्रा नगर्न सल्लाह दिएको छ । यो सल्लाह भारतले बुधबार पाकिस्तानका नौ आतंकवादी स्थलहरूमा आक्रमण गरेपछि आएको हो ।

अमेरिकी विदेश मन्त्रालयले भनेको छ, ‘हामीलाई भारतले पाकिस्तानमा सैन्य आक्रमण गरेको रिपोर्टको बारेमा जानकारी छ । यो अझै पनि विकसित हुँदै गइरहेको अवस्था हो, र हामी घटनाक्रमलाई नजिकबाट निगरानी गरिरहेका छौँ ।’

चेतावनीको क्रममा अमेरिकी नागरिकहरूलाई आतंकवाद र सम्भावित सशस्त्र द्वन्द्वका कारण भारत-पाकिस्तान सीमा र नियन्त्रण रेखानजिकका क्षेत्रहरूमा यात्रा नगर्न शुरुमै चेतावनी दिइएको छ भनेर सम्झाइएको छ । यस परिवेशमा पाकिस्तानभरी सकभर यात्रा नगर्न भन्दै चेतावनी दिइएको छ ।