बेइजिङ र वासिङ्टनले उनीहरूको व्यापार युद्धको एक प्रमुख तनाव कम गर्दै अस्थायी रूपमा भन्सार शुल्कहरू घटाउन सहमति जनाएपछि चीनले घरेलु एयरलाइन्सलाई नयाँ बोइङ विमान स्वीकार गर्नमाथिको प्रतिबन्ध हटाएको एक रिपोर्टमा उल्लेख छ ।
गत महिना अमेरिकी विमान निर्माताले चिनियाँ एयरलाइन्सले दुवै पक्षले लगाएको भारी भन्सार शुल्कका कारण नयाँ विमानको डेलिभरी स्वीकार गर्न छाडेको पुष्टि गरेको थियो । तर, ब्लुमबर्ग न्युजका अनुसार चिनियाँ अधिकारीहरूले घरेलु वाहकहरूलाई उनीहरू अमेरिकानिर्मित विमानको अर्डर पुनः सुरु गर्न सक्छन् भनेर भन्न थालेका छन् । बोइङले चाहिँ टिप्पणीको अनुरोधमा तत्काल प्रतिक्रिया नदिएको जनाइएको छ ।
दुई देशले सोमबार ९० दिनका लागि भन्सार शुल्क घटाउने र वार्ता जारी राख्ने घोषणा गरेपछि यो समाचार आएको हो ।
वासिङ्टनले चीनबाट हुने धेरै आयातमा एक सय ४५ प्रतिशत नयाँ भन्सार शुल्क लगाएको थियो भने बेइजिङले अमेरिकी सामानमा एक सय २५ प्रतिशत भन्सार शुल्क लगाएर जवाफ दिएको थियो ।
जेनेभामा वार्तापछि सोमबारको घोषणाले संयुक्त राज्य अमेरिकाले ३० प्रतिशतमा कर घटाएको र चीनले आफ्नो १० प्रतिशतमा कटौती गरेको देखिएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले परिणामलाई ‘पूर्ण पुनर्निर्धारण’ भनेका छन् र समकक्षी सी जिनपिङसँग चाँडै वार्ता हुनसक्ने बताएका छन् ।
कम्पनीले सन् २०२५ मा चीनलाई करिब ५० वटा विमान आपूर्ति गर्ने योजना बनाएको कम्पनीका प्रमुख कार्यकारी केली ओर्टबर्गले गत महिना बताएका थिए ।
चीनको विदेश मन्त्रालयले पनि टिप्पणीको अनुरोधको तत्काल जवाफ नदिएको एएफपीले जनाएको छ ।
प्रतिक्रिया