रविन्द्र मिश्रलाई थप पाँच दिन हिरासतमा राख्न जिल्ला अदालतको अनुमति

रविन्द्र मिश्रलाई थप पाँच दिन हिरासतमा राख्न जिल्ला अदालतको अनुमति


जिल्ला अदालत काठमाडौंले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

जिल्ला अदालत काठमाडौंका श्रेष्तेदार तीर्थराज भट्टराईका अनुसार मिश्रलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

गत चैत १५ गते पक्राउ परेका मिश्रसहितका आरोपितलाई आठौँपटक म्याद थपका लागि आज (३० वैशाख) अदालत लगिएको थियो । राजासंस्था पुनर्स्थापन पक्षधरले गत चैत १५ गते काठमाडौंको तीनकुनेमा आयोजना गरेको प्रदर्शनले हिंसात्मक रुप लिएपछि त्यसमा भूमिका खेलेको आरोपमा मिश्रलगायतमाथि प्रहरीले विभिन्न अभियोग लगाएर अनुसन्धान गरिरहेको छ ।

नेता मिश्रमाथि प्रहरीले राज्यद्रोह, सङ्गठित अपराध, आपराधिक उपद्रव कसुरमा अनुसन्धान गरिरहेको छ । उक्त आन्दोलनको नेतृत्व गरेका दुर्गा प्रसाईं पनि थुनामै छन् । प्रसाईंलाई कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग कसुर लगाइएको छ ।