भिजिट भिसाको आडमा हुने मानवतस्करी अझ भयावह हुने खतरा

भिजिट भिसाको आडमा हुने मानवतस्करी अझ भयावह हुने खतरा


नेपाली नागरिकहरूलाई वैदेशिक भ्रमणको बहानामा अवैध तवरले खाडी मुलुक पठाउने र तिनको श्रम शोषण गराउने मानवतस्करीको प्रवृत्ति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुनः मौलाउन थालेको छ । विगत केही समय सुरक्षामा कडाइ गरिए पनि पछिल्लो समय अध्यागमन कर्मचारी र बिचौलियाहरू बीचको साँठगाँठ झन् बलियो बनेको प्रमाण भेटिएको छ।

सुरक्षा निकाय र अनुसन्धानले भिजिट भिसाको नाममा भइरहेका आपराधिक गतिविधिविरुद्ध पटक-पटक अनुसन्धान गरे पनि कारबाहीका नाममा भएको कसरत अस्थायी र फितलो सावित भएको छ । भिजिट भिसामा विशेषगरी यूएई हुँदै कुवेत जान लागेका महिला र पुरुषहरूलाई अध्यागमन कार्यालयका कर्मचारीले अवैध रूपमा अनुमति दिँदै आएका छन् ।

महिला ‘एल’ र पुरुष ‘एस’

मानवतस्करीका मतियार बनेका त्रिभुवन विमानस्थलका केही कर्मचारीहरू यात्रुहरूको पहिचान गर्न ‘कोड वर्ड’ प्रणालीको प्रयोग गरिरहेका छन् । महिलाहरूका लागि ‘एल’ र पुरुषहरूका लागि ‘एस’ कोड राखिएको छ। यही संकेतका आधारमा भिजिट भिसामा विदेश जान लागेका यात्रुहरूलाई छुट्याइने र तिनबाट मनलाग्दी रकम असुल्ने गरिएको छ । अनुसन्धानबाट एक जना महिलाबाट ४० हजार र एक जना पुरुषबाट २० हजार रुपैयाँसम्म असुलिएको भेटिएको प्रहरी सुत्रको भनाइ छ।

उक्त कोड वर्डको माध्यमबाट सञ्जालका सदस्यहरूलाई यात्रु को हो भन्ने जानकारी सजिलै गराउँछ। महिला यात्रुलाई यूएई हुँदै कुवेत पुर्‍याइन्छ, जहाँ उनीहरूलाई घरेलु कामदार बनाइन्छ र श्रम शोषण गरिन्छ । यी महिलाहरूको अवस्था निकै दयनीय हुने गरेको बुझिन्छ।

यसअघि पनि अध्यागमन कार्यालयका केही कर्मचारीले बिचौलियासँग मिलेर नेपाली नागरिकहरूलाई अवैध रूपमा विदेश पठाउने काम गरेका थिए । २०८० मंसिरमा अध्यागमन अधिकृत नरवीर खड्कासहित ९ जनाविरुद्ध फर्जी कागजात बनाएर भिजिट भिसा जारी गराएको आरोपमा मुद्दा दायर गरिएको थियो । आरोपितमध्ये विमल पौडेल, ताराबहादुर कुँवर, कुशल बराल, शैलेन्द्र ढकाल, विष्णु अर्याल, विकास डंगोल, पिताम्बर रिमाल र सुजन फागोसमेत रहेका थिए। तर विडम्बना ! उनीहरूलाई सेटिङमै सफाइ दिलाइयो र उनीहरु फेरि विमानस्थलमै कार्यरत छन् । प्रहरी अनुसन्धानअनुसार उनीहरूले गैरकानुनी रूपमा आर्थिक लाभ उठाएको प्रमाण भेटिएको थियो।

अध्यागमन विभागसँग ट्र्याकिङ प्रणाली छैन

नेपाल सरकारको अध्यागमन विभागसँग विदेश जाने यात्रुहरूको एकीकृत तथ्याङ्क त छ, तर उनीहरू फर्किए कि फर्किएनन् भन्ने व्यक्तिगत विवरण ट्र्याक गर्ने प्रणाली छैन । सूचना अधिकारी टीकाराम ढकालका अनुसार सन् २०२४ मा भ्रमण र तीर्थयात्राका लागि विदेश गएका पुरुषहरूको संख्या १ लाख ५९ हजार ४३ र महिलाको संख्या १ लाख १५ हजार ३५६ रहेको छ। तर तिनमध्ये फर्किएका यात्रुहरूको ठोस विवरण हालसम्म उपलब्ध छैन। यस्तो अवस्थामा यात्रुहरू विदेशमा अलपत्र परे पनि राज्यलाई थाहा नहुने अवस्था सिर्जना भएको छ।

गृहमन्त्रालयको निर्णय अनुसार २०८० माघ १० गतेदेखि लागु गरिएको ६ बुँदे निर्देशन भिजिट भिसाको दुरुपयोग रोक्न पर्याप्त देखिएको थिएन। यस निर्देशन अनुसार विदेश जान लागेकाहरूले दुईतर्फी टिकट र ५ सय अमेरिकी डलर बराबरको सटही छाप अनिवार्य रुपमा पेस गर्नुपर्ने थियो। तर बिचौलिया र कर्मचारीको मिलेमतोमा यात्रुहरूबाट एकतर्फी टिकट लिइन्छ र फर्जी डलर सटहीको छाप लगाइन्छ। यसरी उनीहरूलाई यात्रा अनुमति दिइन्छ। विमानस्थलमा कार्यरत कर्मचारीका अनुसार ‘नियम कागजमा मात्र सीमित छ। वास्तविकतामा सेटिङकै भरमा यात्रुहरू विदेश जान पाउँछन्।’

निगरानी हटाइयो, सेटिङ मौलायो

विगतमा मानव बेचबिखन नियन्त्रण ब्युरोका प्रहरीहरू त्रिभुवन विमानस्थलमा खटाइएका थिए। उनीहरूले यात्रुहरूको कागजात परीक्षण गर्ने, शंकास्पद गतिविधिको निगरानी गर्ने जिम्मेवारी पाएका थिए । तर, हाल ती प्रहरीहरूलाई विमानस्थल प्रमुखकै सक्रियतामा हटाइएको छ।

निगरानी कमजोर भएसँगै बिचौलिया र कर्मचारीको मनोबल बढेको छ। सुरक्षामा संलग्न अन्य निकायहरू पनि समन्वयविहीन देखिन्छन् । विमानस्थलमा १२८ जना अध्यागमन अधिकृत कार्यरत छन्, जसमा केही अधिकृतहरू अवैध सेटिङमा संलग्न रहेको आरोप लाग्दै आएको छ।

सम्बद्ध क्षेत्रका विश्लेषकहरूका अनुसार समस्याको मूल जरा प्रविधिको कमी र कानुनी कार्यान्वयनमा कमजोरी हो । अध्यागमन विभागसँग एकीकृत डिजिटल प्रणाली नहुनु, कर्मचारीहरूको नियमित मूल्याङ्कन नहुनु र स्वतन्त्र निगरानी टोलीको अभावले मानव तस्करीका गतिविधिलाई मलजल दिएको छ।

यदि तत्कालै अध्यागमन प्रक्रियामा पारदर्शिता र जवाफदेहिता कायम गर्न सकिएन भने भिजिट भिसाको आडमा हुने मानवतस्करी अझ भयावह बन्ला भन्ने चिन्ता व्यक्त गरिएको छ।