के सारी र चुराको पहिरन अपमानको प्रतीक हो ?

के सारी र चुराको पहिरन अपमानको प्रतीक हो ?


एकदिनको प्रसङ्ग, एक वित्तिय संस्थाको कार्यक्रममा उपस्थित हुनुपर्ने भयो । आयोजकले बोलाएपछि सहभागी हुन पुगियो । वातावरण पूरै अलग थियो । पुरुषहरू मात्रै होइनन् महिलाहरू पनि वित्तिय लगानीको सम्भावना कुन क्षेत्रमा छ भनेर कुरा गरिरहेका सुन्न पाइयो । धराशायी बन्दै गइरहेको अर्थतन्त्रका साथै आफूसँग भएको रकम कहाँ लगानी गर्ने भन्ने बारेमा महिला-पुरुषहरू मिलेर सम्भावनाहरूका कुरा गरिरहेका थिए । उनीहरूको कुरा सुन्दा महिलामा आर्थिक सशक्तिकरण आएको आभास हुन्थ्यो ।

वर्षौदेखि वित्तिय व्यापारमा पुरुषहरूको मात्र सहभागिता देखिँदै आएकोमा अहिले भने महिलाहरू पनि वित्तिय क्षेत्रलाई हाँक्ने भएका छन् भन्ने भयो । केही समयपछि सञ्चालकले कार्यक्रम सुरु हुने जानकारी दिए र सबै आ-आफ्नो स्थानमा बसे । कार्यक्रम विधिवतरूपमा सुरु भयो । कार्यक्रमको बीचमा एक निजी स्तरको बीमा कम्पनीलाई सम्मान गर्ने कार्यक्रम रहेछ । एक जना अभिकर्तालाई सम्मान गरियो । सम्मानित भएपछि ती अभिकर्ताले मन्तव्य दिने पालो आयो । मन्तव्य दिँदै गर्दा उनले आत्मप्रशंसा गर्दै गए । ‘म यस्तो… मैले यति काम गरेँ…’ लगायत शब्दहरू बोल्दै गए । उपस्थित सबैले यिनमा घमण्ड आयो भन्न पनि भ्याए । त्यस्तैमा अन्तिममा उनले अब आउने आर्थिक वर्षमा मैले १५० जनालाई विमित गरिनँ भने अर्कोपटक म सारी र चुरा लगाएर कार्यक्रममा आउँछु भने । उनको कुरा सुनेर सबैले ताली बजाए । मेरो छेउमा महिलाहरू बसेका थिए, उनीहरूले त झन् ‘दाइ… ठिक भन्नुभयो’ भन्दै समर्थन गरे । सारी र चुरा लगाएर आउने कुरालाई उनले अपमानजनक उदाहरण बनाएर पेश गरेका थिए । केही गर्न सकिएन भने सारी र चुरा लगाएर आउँछु भन्ने टुक्का उनले प्रयोग गरे । भन्नेले भने तर सुन्नेले पनि उनकै साथ दिए ।

सारी-चुरा महिलाले धारण गर्ने वस्त्र हुन् । परापूर्व कालदेखि महिलाको श्रृङ्गारको रूपमा सारी-चुरालाई लिइन्छ । सारी-चुरा जस्तो बलियो र पवित्र वस्त्रलाई मानिसले मजाकको विषय बनाउँछन् । किनकि सारी-चुरा कमजोर व्यक्तिले लगाउँछन् र सर्ट-पाइन्ट बलियाले पहिरिन्छन् भन्ने घृणित सोचबाट ग्रसित छन् । तब न ती अभिकर्ताले आफू बलियो छु यदि १५० जनालाई विमित तुल्याइन् भने अर्को पटक सारी र चुरा लगाएर आउँछु भने । तर, यो कुरालाई त्यहाँ उपस्थित महिला दिदी-बहिनीहरूले पनि समर्थन गरे । किनकि, उनीहरूलाई पनि हेक्का भएन आफैमाथि भनिएको शब्दलाई ती महिलाहरूले बुझेनन् । अहिले पनि हाम्रो घर समाजमा कोही छोरामान्छेलाई गाली गर्नुपऱ्यो भने ‘छोरामान्छे भएर केही नगरी बस्ने ? कमाउनु पर्दैन ? नकमाउने भए घरमा सारी र चुरा लगाएर बस’ भन्थे । अहिले पनि यदाकदा यस्ता कुराहरू सुनिन्छ । सारी-चुरालाई र त्यो पोसाक पहिरिनेलाई कति कमजोर सोच्छन्, मान्छेहरूले त्यही सारी र चुरा लगाउने आमाबाट जन्मिएका सन्तति हुन्, यो कुरालाई बिर्सेर महिलाको वस्त्रलाई कमजोरको संज्ञा दिँदै बोल्छन् ।

यसैगरी अर्को एक कार्यक्रममा पुग्दा एक महिला अधिकारकर्मी भनिने महिलाले ‘हामी महिला सारी लगाएर लर्केर खुबै संस्कारी बनेर हिँड्नु हुँदैन, यसले कमजोर बनाउँछ’ भन्दै झर्कोलाग्दो अभिव्यक्ति दिइन् । उनले बोलेको प्रत्येक शब्दमा सारी-चुरामाथि नै प्रहार गरिरहेकी थिइन् । उनका शब्दहरू अराजक तवरबाट आइरहेको थियो । कार्यक्रममा सहभागी अधिकांशले सारी नै लगाएर आएका थिए । उनको कुरा सुन्ने उपस्थित महिलाहरू पनि आफैलाई अपमानित गरेको भन्दै मुर्मुरिएका थिए । आफैले हामी समानताको लागि काम गर्ने भन्दै थिइन् तर उनको व्यवहारबाट कहीँ समानताको झल्को आएको थिएन । उल्टै उग्र, दम्भी र आफू नै राम्रो भन्ने आभास हुन्थ्यो । बोल्दै जाँदा कपडा लगाउनु आफ्नो रुचिको कुरा हो पनि भन्न भ्याइनँ । त्यही सारी लगाउनेलाई अपमानित गर्दै बोलेका शब्दहरू फेरि आफैले कपडा लगाउनु रुचिको कुरा हो पनि भनिन् । उनको दोहोरो कुरालाई बुझ्ने कसरी ?

त्यसैगरी, सञ्चारिका समुहको आठौँ र नवौँ अधिवेशनको समयमा पनि केहीले ‘सारी’को गलत ब्याख्या गर्दै सामाजिक सञ्जालमा लेख्न पनि भ्याए । अभिव्यक्तिको स्वतन्त्रता भन्दै अरुको पहिरनलाई लिएर सार्वजनिक स्थानमा जे पायो त्यही लेखेर आखिर उपाधि त पाउने होइन केवल एक छिनको लागि मनलाई सन्तोष मात्र भयो । सारी र चुराको पहिरन विवाहित महिलाहरूले मात्र होइन अविवाहित महिलाहरूले पनि प्रयोग गर्छन् । कुनै समय सारी र चुरा विवाह भएपछि पतिले दिने वस्त्र र गहनाको रुपमा चिनिन्थ्यो भने अहिले त्यो समय छैन अहिले युवा वर्गले कलेजको कार्यक्रम या अन्य कोहीको विवाहलगायत पारिवारिक जमघटमा सारी नै लगाउँछन् । अनि सारी लगायो भन्दैमा सबैलाई गाली गर्दै हिँड्ने ?

दुइ वर्षअघि भारत पहिलो पटक चन्द्रयानमा पुग्यो । चन्द्रयानको यात्रा तय गर्नेदेखि लिएर रकेटको डिजाइन गर्ने महिलाहरू र पुरुषहरू थिए । ती महिला सबै सारी लगाउने नै थिए । जब चन्द्रयान गन्तव्यमा पुग्न सफल भयो धेरैले सामाजिक सञ्जालमा कमेन्ट गरे, सारी लगाउने महिलालाई कमजोर नसोच, उनीहरूले नै बनाएको चन्द्रयान आज गन्तव्यमा पुग्न सफल भयो भनेर । यस्ता थुप्रै उदाहरणहरू दिन सकिन्छ । यसैगरी नेपालमा अवस्थित विदेशी नियोगका महिला सहकर्मीहरू नेपाली कला र संस्कृतिलाई जगेर्ना गर्ने काम गरिरहेका हुन्छन्, तर हामी सानो-सानो कुरामा टीका-टिप्पणी गर्दै आफूभित्रको मानवतालाई नष्ट गर्दै गइरहेका छौँ । अहिले पनि हामी गाउँघरमा जाँदा आमा-हजुरआमाहरू सारीमै देखिनुहुन्छ, यसैगरी तराइ-मधेशमा गयौँ भने त्यहाँका महिलाहरू सारी नै लगाएको देख्छौँ । अझ विवाहित महिला छ भने जतिसुकै ठूलोे ओहदामा पुगे पनि उसले कपाल छोपेकै हुन्छ । उसले अरुलाई सम्मान गरेको छ भने त्यसलाई हामीले गलत धारणा बनाउने ? यस्तो संस्कारलाई हामीले गलत भन्ने ? मैले लगाएको सारीले मलाई बाधा गरेको छैन भने अरुले किन गलत टीका-टिप्पणी गर्ने ?

सारी र नारीको बीच सम्बन्ध परापूर्वकालदेखि नै आएको हो । करिव पाँच हजार वर्षदेखि सारीको प्रयोग हुँदै आएको इतिहासमा सुन्न पाइन्छ । धार्मिक ग्रन्थहरूमा पनि सारीको परिभाषा गरिएको छ, वर्तमानमा पनि बिहेभोज, पुजाआजा लगायत हरेक काममा सारीकै प्रयोग गरिन्छ । समय-क्रमसँगै कुर्ता-सुरुवाल लगायत अरु वस्त्रहरू पनि धारण गरिन्छ त्यसमा बिग्रेको केही हुँदौन तर मानिसहरूको टीका-टिप्पणी एकदम नकारात्मक तवरको हुन्छ । हामीले समाजमा गर्ने जुनसुकै काम व्यक्तिको सोच बदल्नको लागि गर्ने हो । तर विडम्बना ! आफ्नै सोच बदलिएको छैन अरुको सोचलाई कसरी बदल्न सक्छौँ । अरुको पहिरनलाई लिएर टीका-टिप्पणीमा ब्यस्त हुन्छौँ भने कसरी समाजिक सवालहरू पैरवी गर्न सक्छौँ ?

समयक्रम सँगै समाजिक क्षेत्र थुप्रै चुनौतीहरू थपिएका छन् । त्यो चुनौतीलाई हामी कसरी तोड्ने यदि अरुको पहिरनलाई लिएर आपसमा झगडा गर्न अग्रसर हुन्छौँ भने । विश्व कहाँबाट कहाँ पुग्यो तर हामी यस्तै कुराहरूमा अल्झिएर बस्छौँ, अनि कसरी ‘इस्यू’मा काम गर्न सक्छौँ त ? हामीलाई अरु व्यक्ति नराम्रै लाग्छ केवल आफूमात्रै राम्रो लाग्छ । यस्तो एकोहोरो र उग्रताले उँभो गतिभन्दा पनि उँधो गतितिर लैजान्छ । महिलाले लगाएको सारीलाई लिएर समाचार र समाजिक सञ्जालमा अपशब्द बोल्ने यस्ता व्यक्तिहरू पनि छन् । कपडा जुन भएपनि फरक पर्दैन तर आफूसुहाउँदो पक्कै हुनुपर्छ । वर्तमान समयमा पहिरनको लागि थुप्रै प्रकारका कपडाहरू भएपनि विश्वमा धेरै उत्पादन हुने भनेको सारी नै हो । अहिले पनि नेपालमा ढाकाको सारी, भारत, बंगलादेश, पाकिस्तान लगायतका अरु मुलुकहरू पनि सारी उत्पादन हुन्छ र उत्पादन भएको कपडा राष्ट्रको रुपमा चिनिन्छन् । यसले गर्दा त्यस देशको अर्थतन्त्रमा समेत वृद्धि भएको छ भने एक देशबाट अर्को देशमा समान जाँदा त्यस देशको महिलाहरूले प्रयोग गर्न पाएका छन् । अर्कोतर्फ सारी उत्पादनका कारण व्यक्तिहरू ठाउँ नै तोकेर ‘त्यो सारी दिनु न’ भन्छन् ।

वस्त्र र अस्त्रलाई राम्रोसँग प्रयोग गरिएन भने अनर्थ हुन जान्छ । सारीलाई नारीको बाधकको रूपमा चित्रण गरियो र उग्र महिलावादीहरूले यसलाई गलत ढंगले बोल्दै गए, तर फेरि आफै पनि सारीमा कहीँ-कतै देखिन थालेका छन् । हामीकहाँ अरुलाई अपमान गऱ्यो भने अधिकारको स्थापना राम्रो भयो भन्ने गलत बुझाइ छ । पुरुषको तुलनामा महिलाहरूले प्रयोग गर्ने वस्त्रको संख्या धेरै छ । धारण के गर्ने के नगर्ने व्यक्तिको आफ्नो रुचिको कुरा हो । र, रह्यो संस्कारी भन्ने कुरा, संस्कारको अर्थ अरुप्रति गरिने सुब्यवहार हो । यसमा धेरै कुरा पर्छ । सारी लगाउँदैमा संस्कारी भएको भनेर कोही उग्रले नभने नि हुन्छ । यदि व्यक्तिको सोच तुच्छ छ भने जुन कपडा लगाउँदा नि नराम्रो देखिहाल्छ ।