माधव नेपाल प्रधानमन्त्री भइरहन बाध्य

माधव नेपाल प्रधानमन्त्री भइरहन बाध्य


(भिड्न नसके पनि रोक्न बसिरहने)
क्षमता र साहसको कमी भएपछि मानिसलाई प्रधानमन्त्री पद पनि कतिसम्म घाँडो हुँदोरहेछ भन्ने कुराको दृष्टान्त माधवकुमार नेपाल बन्नुभएको छ । उहाँ पद त्यागेर लुसुक्क भाग्न नपाएका कारण यति छटपटिनुभएको छ, जति प्रधानमन्त्री बन्न नपाएर प्रचण्ड छटपटिनुभएको विश्वास गरिन्छ । माधव नेपालले बितेका केही सातायता आफूसँग भेट गर्ने सबैजसो मानिससँग राजीनामा गरेर हिँड्न नपाएकोमा दु:खेसो पोख्ने गर्नुभएको छ । आश्चर्यको कुरा के छ भने माओवादीले बाहेक अरू कसैले माधव नेपालको राजीनामा मागेको छैन, जब कि माओवादीले एक वर्ष अघिदेखि नै उहाँको राजीनामा माग्दै आएका हुन् । माओवादीले वर्ष दिनदेखि केही काम गरेको छ भने त्यो एउटै हो- माधव नेपालको राजीनामा माग्ने काम । जब वर्ष दिनदेखि नै माओवादीले राजीनामा माग्दै आएका हुन् भने अहिले आएर मात्र माधव नेपाल त्यसप्रति किन गम्भीर हुनुपरेको हो- आश्चर्यको विषय भएको छ । उहाँ संसद् (संविधानसभा) मा बहुमत सदस्यहरूको समर्थन प्राप्त नेता हुनुहुन्छ र पच्चीसमध्ये बाईस राजनीतिक दलको र्समर्थन पनि माधव नेपाललाई नै छ । त्यसर्थ संवैधानिक, कानुनी र राजनीतिक कारणबाट पद त्याग गर्नुपर्ने अवस्थामा नेपाल हुनुहुन्न । वर्ष दिनभित्र मुलुकमा दिगो शान्ति स्थापनाका दिशामा सरकारबाट खासै केही सकारात्मक काम हुन सकेको छैन, त्यसैगरी देशको शान्तिसुरक्षा, भ्रष्टाचार नियन्त्रण, विकास निर्माणका कार्यक्रम तथा जनसाधारणलाई राहत पुग्ने कुनै ठोस काम पनि सरकारबाट भएको मानिँदैन । देशमा विद्यमान आर्थिक सङ्कट र सङ्कटग्रस्त औद्योगिक एवम् वित्तीय क्षेत्रको सुधारमा पनि कुनै प्रगति हुन सकेको छैन । बरु यो वर्ष नेपालले दक्षिण एसियाकै सबैभन्दा भ्रष्टाचारयुक्त मुलुकको कीर्तिमान राखेको छ । सकारात्मक काम हुन नसकेको र भ्रष्टाचारमा कीर्तिमान राखेको यो बेला प्रधानमन्त्रीका रूपमा कोही रहन्छन् भने तिनको दायित्व देशलाई समस्याबाट मुक्त गर्नु हुन्छ, न कि छोडेर भाग्नु । तर माधव नेपाल त्यही छोडेर भाग्ने गल्ती गर्न हतारिनुभएको छ । यस्तो अवस्थामा पद त्याग गर्न तयार हुनु भनेको देश सञ्चालन गर्न पूर्ण अक्षम र असफल रहेको प्रमाण पेस गर्नु पनि हो, जसका निम्ति माधव नेपाल निकै ठूलो बहादुरी देखाउन खोजेझैं तत्पर हुनुभएको छ ।
निकटवर्तीहरूका अनुसार प्रधानमन्त्री नेपाल आफ्नो पार्टी मालेका नेताहरूको भूमिकाबाट खिन्न हुनुहुन्छ । खासगरी अध्यक्ष झलनाथ खनाल र उपाध्यक्ष वामदेव गौतमलगायतका केही नेताहरूबाट आफू सताइएको महसुस उहाँले गर्नुभएको छ । अर्कोतिर सरकारमा रहेका केही मन्त्री तथा राज्यमन्त्रीहरूको भ्रष्टाचारपूर्ण क्रियाकलापले पनि उहाँलाई हैरान बनाएको बताइन्छ । त्यसभन्दा पनि बढी हैरान त माधव नेपाल माओवादीबाट हुनुभएको छ । माओवादीलाई फकाउन र उनीहरूसँग एकप्रकारको समझदारी बनाएर काम गर्ने प्रयास माधव नेपालले प्रधानमन्त्री भएदेखि नै गर्दै आउनुभएको हो । माओवादीलाई खुसी पार्न नेपालले आफू प्रधानमन्त्री हुनेबित्तिकै पटकपटक प्रधानसेनापति पदबाट रुक्मांगद कटवालसँग राजीनामा पनि माग्नुभएको थियो । जुन कटवालले अडान लिइदिएका कारण आफूलाई प्रधानमन्त्री बन्ने अवसर प्राप्त भएको थियो, तिनैलाई पद त्याग्न दबाब दिएर माधव नेपालले एकातिर कृतघ्नताको हद प्रस्तुत गर्नुभएको थियो भने अर्कोतिर माओवादीलाई आफ्नो निकट तुल्याएर सरकार ‘स्मुथ्ली’ चलाउने प्रयास गर्नुभएको देखिन्थ्यो । माधव नेपालको वर्ष दिन माओवादीलाई फकाउँदैमा बितेको महसुस जनताले गरेका छन्, तर उनीहरू प्रधानमन्त्रीकै कुर्सी नदिएसम्म अरू केही दिए पनि या जेसुकै गरे पनि मान्ने छैनन् भन्ने बुझन माधवले सक्नुभएन । फलस्वरूप माओवादीलाई फकाउन या उनीहरूसँग समझदारी बनाउन वर्ष दिनदेखि गरिएको प्रयासमा माधव नेपाल असफल हुनुभएको छ । उदार या नरम व्यवहारबाट माओवादीलाई ‘ट्रयाक’मा ल्याउन नसकिने निष्कर्षमा प्रधानमन्त्री नेपाल पुगिसक्नुभएको छ, तर उनीहरूसँग भिड्न वा भिडेर ठीक ठाउँमा ल्याउन सक्छु भन्ने सामर्थ्य पनि माधव नेपालमा देखिँदैन । भिड्नुभन्दा छोड्नु ठीक भन्ने निचोडमा प्रधानमन्त्री पुग्नुभएको छ, जसका कारण देशमा ठूलो निराशा र अन्योलको स्थिति उत्पन्न हुन पुगेको छ ।
माधव नेपाल चाहनुहुन्छ- काङ्गे्रसको नेतृत्वमा सरकार गठन होस् । तर, आफ्नो नेतृत्वमा सरकार गठन भएमा झलनाथहरूले तीन महिना पनि टिक्न दिने छैनन् भन्ने विश्वास काङ्गे्रस नेतृत्वमा छ । आफ्नै पार्टर्ीीेतृत्वको सरकारलाई त हायल-कायल पार्ने र अन्तत: प्रधानमन्त्रीलाई राजीनामा नै गर्ने निष्कर्षमा पुग्न बाध्य बनाइन्छ भने काङ्गे्रस नेतृत्वको या अरू कसैको नेतृत्वको सरकारचाहिँ स्थीर बनाउन एमालेभित्रबाट सहयोग पुग्छ भन्ने विश्वास गर्न सकिने आधार देखिएको छैन । त्यसैले एमालेको वैशाखी टेकेर सरकारको नेतृत्व गर्नुभन्दा आफैं वैशाखी बनेर एमाले या अरू कसैलाई सघाउनु उचित हुने काङ्गे्रसले ठानेको हो । अर्कोतिर काङ्गे्रस महाधिवेशनको तयारीमा जुटेको हुनाले पनि उसको प्राथमिकतामा सरकारको नेतृत्व परेको छैन । तर, राज्य सञ्चालन गर्ने तागत नभएर या अर्काको काँधमा बन्दुक राखेर पड्काउने सोच भएर काङ्गे्रसले सरकारको नेतृत्व लिन नचाहेको भने बुझिँदैन । आवश्यक परे सरकारको नेतृत्व लिन आफू तयार रहेको स्पष्ट सङ्केत पनि काङ्गे्रसले दिइसकेको छ । माधव नेपाल व्यक्तिगत रूपमा माओवादी नेतृत्वमा सरकार गठन होस् भन्ने चाहनुहुन्न र उहाँ झलनाथ खनाललाई प्रधानमन्त्री बनाउन पनि उत्सुक र इच्छुक हुनुहुन्न । काङ्गे्रसले सरकारको नेतृत्व लिन तत्परता नदर्शाएमा माओवादी नेता डा. बाबुराम भट्टराईको नेतृत्वमा सरकार गठन गर्न सहयोग पुर्‍याउने सोच नेपालले बनाउनुभएको छ । तर, सामान्य स्थितिमा माधव नेपालको यस्तो इच्छा पूरा हुने देखिएको छैन । माओवादीलाई बदलेर अर्थात् शान्तिप्रक्रियालाई सकारात्मक टुङ्गोमा पुर्‍याएर मात्र छोड्ने दृढता लिएको अवस्थामा वर्तमान समीकरण र सरकारले निरन्तरता पाइरहने सम्भावना छ । माओवादीलाई बदल्नेतिर लाग्नुभन्दा आफैं पद छोडेर भाग्ने कार्य सजिलो भएको हुनाले माधव नेपालको रोजाइमा ‘भाग्ने विकल्प’ परेको छ । नेपाल यसरी भाग्नु भएमा त्यसको सीधा लाभ माओवादीलाई मात्र पुग्ने देखिन्छ । कदाचित माधव नेपालले सत्ता गठबन्धनका सबै दलहरूको अनुमति र सहमतिबेगर पदत्याग गर्नुभयो भने उहाँमाथि ‘पदमा छइन्जेल केही गर्न नसकेको र पद त्याग गर्दा पनि माओवादीलाई नै सजिलो हुने गरी गरेको’ भन्ने आरोप जीवनभरि लागिरहने स्थिति छ । यस्तो अवस्थामा माधव नेपालको प्रधानमन्त्री पदबाट बहिर्गमन कसरी होला, सबैको मुख्य चासोको विषय यही बनेको छ ।