बीपी कोइरालाका अनुसार लोकतन्त्र जनताको आत्मसम्मान, व्यक्तिगत स्वतन्त्रता र समान अवसरको प्रत्याभूति हो । उहाँले स्पष्ट रूपमा भन्नुभएको छ- ‘लोकतन्त्र केवल शासनको रूपमात्र होइन, यो जनताको आत्मसम्मानको प्रत्याभूति पनि हो ।’
✍ रश्मिशेखर सुवेदी
नेपाली राजनीतिका शिखर पुरुष एवं नेपालको प्रजातान्त्रिक आन्दोलनका महान् अगुवा, नेपाली काङ्ग्रेसका संस्थापक नेता बीपी कोइरालाको विचार, दृष्टिकोण र राजनीतिक मार्गदर्शन आज पनि उत्तिकै सान्दर्भिक छ । वि.सं. २०३३ साल (सन् १९७६) तिर नेपालको राजतन्त्रद्वारा प्रतिबन्धित अवस्थामा रहनुभएका बीपी कोइराला भारतमा निर्वासित जीवन विताइरहनुभएको समयमा वरिष्ठ भारतीय पत्रकार तथा राजनीतिक चिन्तक भोला चटर्जीले दिल्लीमा उहाँसँग एक ऐतिहासिक अन्तरवार्ता लिनुभएको थियो । उक्त अन्तरवार्ता भोला चटर्जीकै पुस्तक Portrait of a Revolutionary: BP Koirala (१९८२) मा प्रकाशित छ । यो अन्तर्वार्ता विभिन्न भारतीय पत्रपत्रिकाहरूले पनि छापेका थिए, जसले नेपाली राजनीतिमा गहिरो तरङ्ग उत्पन्न गराएको थियो ।
यो संवाद राजनीतिक, वैचारिक तथा दार्शनिक दृष्टिले ऐतिहासिक महत्व बोकेको दस्तावेजको रूपमा रहेको छ । यो अन्तरवार्तामा बीपीले आफ्नो जीवन–दर्शन, राजनीतिक ध्येय, नेपाल-भारत सम्बन्ध, समाजवादको अवधारणा तथा नेपाली जनताको चाहना र आकांक्षाबारे गहिरो विश्लेषण गर्नुभएको छ । विशेषतः उहाँले नेपाली समाजको परिवर्तनीय स्वभाव, ऐतिहासिक परिप्रेक्ष्य र भावी सम्भावनाहरूलाई ध्यानमा राखी लोकतन्त्र र समाजवादबीचको सम्बन्धलाई व्याख्या गर्नुभएको छ।
बीपी कोइरालाले लोकतन्त्रलाई केवल शासन प्रणालीको रूपमा मात्र नभइ जीवनशैलीको रूपमा परिभाषित गर्नुभएको छ । उहाँका अनुसार लोकतन्त्र जनताको आत्मसम्मान, व्यक्तिगत स्वतन्त्रता र समान अवसरको प्रत्याभूति हो । उहाँले स्पष्ट रूपमा भन्नुभएको छ- ‘लोकतन्त्र केवल शासनको रूपमात्र होइन, यो जनताको आत्मसम्मानको प्रत्याभूति पनि हो ।’ यस भनाइले प्रस्ट पार्दछ कि उहाँका लागि लोकतन्त्रको सार जनताको गरिमा, चेतना र अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चितता हो ।
‘संवाद राजनीतिक, वैचारिक तथा दार्शनिक दृष्टिले ऐतिहासिक महत्व बोकेको दस्तावेजको रूपमा रहेकोछ । यो अन्तरयोवार्तामा बीपीले आफ्नो जीवन-दर्शन, राजनीतिक ध्येय, नेपाल-भारत सम्बन्ध, समाजवादको अवधारणा तथा नेपाली जनताको चाहना र आकांक्षाबारे गहिरो विश्लेषण गर्नुभएको छ ।’
उहाँले लोकतन्त्रलाई व्यवहारिक अभ्यासका रूपमा पनि व्याख्या गर्नुभएको छ । उहाँको विचारमा प्रजातन्त्र स्थापनाको सङ्घर्ष केवल सत्ता प्राप्तिको माध्यम नभई समाज रूपान्तरणको आन्दोलन हो । उहाँको दृष्टिमा प्रजातन्त्रको सार तत्व जनताको सहभागिता, सशक्तिकरण तथा जीवनस्तरको समुन्नति हो । त्यसैले उहाँले लोकतन्त्र र समाजवादलाई एकअर्काका पूरक तत्वका रूपमा लिनुभएको छ ।
समाजवादबारे आफ्नो धारणा प्रष्ट पार्दै उहाँले भन्नुभएको छ- ‘म समाजवादको पक्षमा छु, तर त्यो समाजवाद जनताको स्वतन्त्रतालाई निल्ने होइन, उब्जाउने हुनुपर्छ ।’ यस अभिव्यक्तिले उहाँको लोकतान्त्रिक समाजवादप्रतिको निष्ठा उजागर गर्दछ । नेपाली समाजको सांस्कृतिक र ऐतिहासिक सन्दर्भलाई समेट्दै समाजवादलाई व्यवहारमा उतार्नुपर्ने आवश्यकता औंल्याउनुभएको थियो बीपीले । उहाँको दृष्टिकोण ‘लोकतान्त्रिक समाजवाद’मा आधारित थियो, जसमा लोकतान्त्रिक प्रणालीभित्र नै समाजवादी नीतिहरू कार्यान्वयन गर्दै सर्वसाधारण जनतालाई सशक्त बनाउने लक्ष्य समावेश थियो । उहाँले सर्वसत्तावादी विचारधाराको अस्वीकार गर्दै चरम पूँजीवादी शोषणको संरचनालाई पनि चुनौती दिनुभएको थियो ।
नेपाल–भारत सम्बन्धबारे चटर्जीले उठाउनुभएको जिज्ञासामा बीपी कोइरालाले भारतलाई नेपालको सबैभन्दा नजिकको छिमेकी मात्र नभई ऐतिहासिक, सांस्कृतिक र राजनीतिक साझेदारको रूपमा चित्रण गर्नुभएको छ । तर, उहाँको जोड आत्मसम्मान र समानतामा आधारित सम्बन्धमा थियो । उहाँले स्पष्ट रूपमा भन्नुभएको छ- ‘नेपालको स्वतन्त्रता र सार्वभौमिकतामा सम्झौता गरेर कुनै सम्बन्ध टिक्दैन । भारतसँग मित्रता आत्मसम्मानको आधारमा हुनुपर्छ ।’ यो भनाइमा आत्मनिर्भरता, समान हैसियत र असल छिमेकी सम्बन्धको स्थायी सूत्र पाइन्छ ।
‘नेपालको स्वतन्त्रता र सार्वभौमिकतामा सम्झौता गरेर कुनै सम्बन्ध टिक्दैन । भारतसँग मित्रता आत्मसम्मानको आधारमा हुनुपर्छ ।’
– बीपी कोइराला
उक्त अन्तरवार्तामा कोइरालाले लोकतान्त्रिक नेतृत्वमा सिद्धान्तप्रतिको निष्ठा, जनसेवाको भावना र सत्तामोहबाट मुक्त चरित्र आवश्यक हुने कुरामा जोड दिनुभएको छ । उहाँले भन्नुभएको छ– ‘राजनीति भनेको त्याग हो, जुन त्याग जनताको निम्ति गरिन्छ ।’ यो अभिव्यक्ति उहाँको राजनीतिक दर्शन र जनप्रेमको प्रतिविम्ब हो । उहाँका अनुसार राजनीति केवल अधिकार प्राप्तिको माध्यम मात्र होइन, सेवा, त्याग र उत्तरदायित्व पनि हो । उहाँले नेताहरू जनताको प्रतिनिधि मात्र नभइ, जनभावनाको संवाहक हुनुपर्ने धारणा प्रस्तुत गर्नुभएको छ । जनतामाथि विश्वास राखी, उनीहरूलाई अभिभावकीय दृष्टिकोणले होइन, बराबरीको हैसियतमा सम्बोधन गर्नु लोकतन्त्रको आधार हो भन्ने उहाँको मत छ ।
नेपाली कांग्रेसबारे विचार व्यक्त गर्दै बीपी कोइरालाले पार्टीलाई केवल चुनाव लड्ने संगठनको रूपमा नभई समाज रूपान्तरणको ऐतिहासिक आन्दोलनको रूपमा परिभाषित गर्नुभएको छ । उहाँले स्पष्ट रूपमा भन्नुभएको छ- ‘नेपाली कांग्रेस एउटा चुनाव जित्ने उपकरण होइन, यो समाज रूपान्तरणको सिंगो आन्दोलन हो ।’ त्यसैले उहाँले पार्टीभित्र विचारको स्पष्टता, सैद्धान्तिक बहस र अनुशासनमा विशेष जोड दिनुभएको छ । उहाँका लागि कांग्रेस केवल सत्ता प्राप्तिको साधन थिएन, यो सामाजिक न्यायको स्थापनाका लागि साधन थियो ।
चटर्जीले उठाएका प्रश्नहरूको उत्तर दिँदै कोइरालाले नेपालमा भएका आन्दोलनहरू केवल राणा वा राजाविरोधी आन्दोलन नभइ सामाजिक न्यायका लागि निरंकुशता विरुद्ध जनसशक्तिकरणको आन्दोलन भएको स्पष्ट पार्नुभएको छ । उहाँले नेपाली जनतालाई विवेकी, सचेत र स्वतन्त्र निर्णय क्षमता भएको नागरिकमा रूपान्तरण गर्नु प्रजातन्त्रको मूल उद्देश्य ठान्नु भएको थियो । बीपीका दृष्टिमा प्रजातन्त्र केवल व्यवस्थामा सीमित नभई चेतनामा आधारित हुन्छ । त्यसैले नागरिकमा चेतना आवश्यक थियो उहाँको विचारमा ।
वि.सं. २०६२/६३ को जनआन्दोलनपछि नेपाल गणतन्त्रमा प्रवेश गऱ्यो । बीपीको विचार अनुसारको लोकतान्त्रिक समाजवादले निर्देशित गणतन्त्र निर्माण हुनुपर्ने थियो, तर व्यावहारिक रूपमा त्यस अनुरूपको मूल्य, आचरण र सिद्धान्तमा आधारित शासन प्रणालीको विकास हुन सकेन । बीपीको दृष्टिकोणबाट हेर्दा वर्तमान राजनीतिक नेतृत्वको चरित्र, सत्तामोह र सैद्धान्तिक विचलन नै मुलुकले सही बाटो नअँगालेको मुख्य कारण हो ।
बीपीको विचारधारा केवल नेपालभित्र सीमित थिएन; दक्षिण एशियाली लोकतान्त्रिक आन्दोलनहरूका लागि समेत प्रेरणा थियो । उहाँ सधैं सत्यको पक्षमा उभिनु भयो । कारावासको पीडा, निर्वासनको दुःख, र निरन्तर दमनको बाबजुद पनि उहाँ आफ्नो विचारमा अडिग रहनुभयो । उहाँको आत्मबल, वैचारिक निष्ठा र जनताप्रतिको अटूट प्रतिबद्धताले उहाँलाई साधारण राजनीतिज्ञ होइन, एक विचारक, युगद्रष्टा र यथार्थ जननेता बनाएको हो ।
बीपी कोइरालाको जीवन, दर्शन र संघर्षलाई बुझ्न चाहने सबैका लागि यो अन्तरवार्ता एक अमूल्य स्रोत हो । यो संवादले प्रष्ट पार्दछ कि बीपी कोइराला केवल एक ऐतिहासिक नेता मात्र होइन, लोकतन्त्रप्रतिको गहिरो विश्वास, जनताको चेतना प्रति अगाध श्रद्धा, सशक्त, समान र स्वाधीन समाजको कल्पनामा समर्पित एक सच्चा लोकतन्त्रवादी राजनेता हुनुहुन्थ्यो । आजको सन्दर्भमा उहाँका विचारहरू अझ सान्दर्भिक छन् र वर्तमान नेतृत्वले उहाँका सिद्धान्त, मूल्य र चेतनालाई आत्मसात गर्नु आवश्यक छ ।
प्रतिक्रिया