- श्याम अधिकारी

मनिसको मनको धीत मार्न उसले अनेक राम्रा, नराम्रा उत्पट्याङ र अरुलाई मनपर्ने काम गर्ने गर्छ । यो मान्छेको रहर हो, शौख हो । एउटा क्रूर र आततायी मान्छेको धीत निर्दोष मानिसलाई यातना दिइ-दिइ मारेपछि पूरा हुन्छ तर नेपालको प्रजातान्त्रिक युगका स्थापित पत्रकार मित्र तारा बरालकी जीवन सँगिनी बिटु केसीको धीत ‘धीत’ नामको एउटा गजल संग्रह हामीलाई सार्वजनिक रुपमा समर्पण गरेर मरेको छ । धीत मर्नु भनेको मानिसको स्वान्तः सुख हो, तर बिटु केसीको स्वान्तः सुखको यो प्रयासमा हामी नेपालका सवै भावुक साहित्यप्रेमीहरुको पनि धीत मरेको छ ।
आजभोलि साहित्य जगतमा निकै चर्चित साहित्य पोष्ट (अश्विनी कोइराला) द्वारा यही २०८२ वैशाखमा प्रकाशनमा ल्याएको धीत गजल संग्रह काठमाडौका गजलप्रेमी साहित्यकार र प्रतिष्ठित विद्वानहरूमाझ औपचारिक रुपमा सार्वजनिक पनि गरियो । धीत आआफ्नो हुन्छ यही धीतमार्नकै लागि २० वर्ष अमेरिका बसेर पनि आफू नेपाल फर्केको अभिव्यक्ति दिनु भयो गजलकार बिटु केसीले त्यो समर्पण समारोहमा । करीव सयपृष्ठको सो गजल संग्रहमा ८१ वटा गजलहरु हाम्रासामु प्रस्तुत गरिएका छन् ।
मूलतः उर्दूभाषी गजल गायकहरुबाट प्रचलनमा आएको गजल विधाको परम्परा नेपालमा आम कविहरूमाझ लोकप्रिय विधाको रुपमा स्थापित भएको ३०/३५ वर्षमात्र भएको छ । त्यसो त कविता र गजलका शौखिन राजा मबीबि शाहले नेपालमा आधुनिक गजललाई स्थापित गराइसकेका थिए । त्यसो त ऋग्वेदका ऋचालाई गीतका रुपमा गाउने आर्यभूमिको हजारौ वर्ष पुरानो हो । तर आजभोलि नेपालमा यो विचार प्रवाह गर्ने कविताकै एक सशक्त माध्यम बन्दै आएको छ गजल । यसैले नेपालमा गजल मार्मिक गीतको रुपमाभन्दा पनि अनुप्रास आदि मिलाएर सशक्त सम्प्रेषण गर्ने कविताकै एउटा विधाको रुपमा प्रचलनमा आइरहेको छ । यहाँ यो व्याख्या गर्नुको तात्पर्य पनि धीत गजल संग्रहका रचयिता विटु केसी पनि मायाको मात नामको मुक्तक संग्रहबाट स्थापित मुक्तक कवि हुनुहुुहुन्थ्यो, अब गजल धिातिर कलम चलाउन अग्रसर हुनु भएकोले उहाँका गजल पनि उर्दू शायरी र गजलतिर भन्दा नेपाली मनका भावनासँग नजिक रहेका कवितासँग बढी नै नजिकिएका पाइन्छन् । तर पनि उहाँको यो कविता गजल नै हो भन्न मन लाग्छ । जस्तै-
मायालुको बातै मीठो
बिताएको रातै मीठो
मदहोशै पारिदिने
मायाको मातै मीठो
हातमा हात समाएको
मायालुको साथै मीठो
हाँसी हाँसी घाइते पार्ने
मायालुको घातै मीठो
जिन्दगीको सहीछाप लिने
मायालुको जातै मीठो
त्यसो त विटु केसी मुक्तक, कविता, गीत, कथा आदि सबै विधामा पछि हुनुहुँदैनरहेछ । घोत्लिएर कविता कोर्ने मात्र होइन, नेपाल अमेरिका पत्रकार संघ र स्रष्टा साँझ अमेरिका, नेपाल अन्तर्राष्ट्रिय साहित्य समाज ह्युष्टन (अमेरिका)मा काम गरेर वीस वर्ष बिताएपछि नेपाल फिर्नुभएकोले उहाँ जुनसुकै विधामा पनि सफल हुनसक्ने व्यक्तित्वको मान्नुपर्दछ । हरेक गजलका सिरानीमा उहाँले दिएका चित्रहरूले जसरी गजलको भाव पोखिरहेका छन्, त्यसबाट उहाँ चित्रकार मनको धनी हुनुहुँदोरहेछ भन्ने कुराको ब्याख्या गर्नैपर्दैन ।
उहाँको गजलका बारेमा साहित्यकार सरुभक्त श्रेष्ठ बिटुका स्वतन्त्र र सुललित गजलहरूमा जीवन र माटोप्रतिका प्रेम र चिन्तनहरू अभिव्यक्त भएका छन् भन्नुहुन्छ । प्रकाश सायमीले बिटुका गजल समयका प्रतिनिधि गजल भन्ने संज्ञा दिनुभएको छ भने गजलगुरु ज्ञानुवाकर पौडेलले उनले भावनात्मक प्रतिकृया गजलका माध्यमबाट व्यक्त गर्न निकै पारङ्गत भइसकिछन् भन्नुहुन्छ । समग्रमा बिटु केसीको गजल विधातर्फको पहिलै पाइलो सफल भएको धीतले पुष्टि गरेको छ । बधाइ !
प्रतिक्रिया