युरोपको बारोनिक फिगर : समुन्द्रको हावा जस्तै शितलो चिन्तक !

युरोपको बारोनिक फिगर : समुन्द्रको हावा जस्तै शितलो चिन्तक !


शब्द प्रयोगको सन्दर्भ :

दर्शनको भाषामा ब्यारोन भन्नाले इमान्दार वा सफा आत्मालाई बुझाउँछ । मध्यकालतिर फ्रान्समा बारोन भन्नाले एक सम्मानपूर्ण पदवी थियो । त्यहाँका राजाहरूले राज्य र समुदायलाई जोड्न प्रयोग गर्ने ब्याक्तिलाई यो ‘अनर अफ टाइटल’को प्रयोग गर्दथे । ल्याटिनमा कुलीन योद्धाको रूपमा बारोनको प्रयोग भएता पनि अहिले यसलाई सम्मानपूर्ण बिम्बको रूपमा प्रयोग गरिन्छ । बेल्जियमको गेन्टमा रहेको विश्व विद्यालयको लाइब्रेरीमा राखिएको पुरानो शब्दकोषमा यसको अर्थ ‘लर्ड अफ पार्लियामेन्ट’ छ । तर यहाँ मैले एक शुद्ध तथा पवित्र आत्मा भएको युवा अर्थात् ‘लर्ड अफ कम्युनिटी सर्भेन्ट’को अर्थमा मदन दवाडीलाई यो ‘उपाधि’ दिएको छु ।

जसले मदनको स्वभावलाई नजिकबाट चिन्छ उसले यो शब्दलाई सम्मानपूर्ण अर्थमा बुझ्दछ, जसले उनलाई चिन्दैनन् उनीहरूले हराइसकेको बारोन शब्दलाई बोझिलो उपाधि भन्लान् । हरेकले आफ्नो अनुकुल प्रयोग गर्न सक्ने यो शब्दबाहेक अर्को शब्द मैले अन्तरहृदयबाट खोज्दा नेपाली भाषामा भेट्टाउन सकिनँ । ‘सामुदायिक सोच भएको मान्छे’ले मात्र पनि उनको विशेषता र मेरो उनीप्रतिको सम्मानभावलाई समेट्न सकेन । त्यसैले उनलाई ‘विलक्षण केटो’को सट्टा ‘बारोनिक फिगर’ नै प्रयोग गरेँ ।

बेल्जियमको तात्कालिक परिवेश :

मैले बेल्जियममा छिरेदेखि नै यहाँ अवस्थित नेपाली आप्रबासीको बारेमा चासो लिन थालेको हुँ । वैचारिक ध्रुवीकरणताका अर्थात सन् २०००–२००५ सम्म बेल्जियममा नेपाली आप्रबासीहरूको एकखालको भुमरी उठ्यो, सेलायो र बिस्तारै त्यो हराएर गयो । त्यो अवस्थामा नेपालीहरूले उच्च सामाजिक सक्रियता देखाएकै हुन् । आफ्नो हित आप्रबासी आन्दोलनसँग जोडिएको हुनाले होला अधिकतम नेपालीहरूले सन् २००१ देखि २००५ सम्म केही संघ संगठनको नेतृत्वमा चलेको संघर्षमा अधिक चासो देखाए । त्यही संघर्षको सम्पर्कमा टेकेर विभिन्न वैचारिक तथा सांस्कृतिक धारका नेपाली आप्रबासीहरूले आफ्ना-आफ्ना गुँडहरू बनाउने कामलाई तीव्रता दिए । त्यतिखेरै एनआरएनए पनि जन्म्यो । ती अभियानमा लागेकाहरू नेपाली आप्रबासी इतिहासको पुर्वार्द्धपछि ओझेल परे वा केही हराए । केहीले भने अहिलेसम्म भिन्न-भिन्न संगठनहरूबाट आफ्नो सामाजिक निरन्तरतालाई कायम राखेका छन् । ती संगठनको समुदायिक प्रभावबारेमा अर्को पुस्तालाई जानकारी होस् भनेर हामीले बेला-बेलामा लेखिरहेका पनि छौँ ।

आप्रबासी इतिहासमा कोरिनुपर्ने नामको सन्दर्भमा :

लेखिनुपर्ने नयाँ पुस्ताका भाइ, छोरा-छोरीहरू धेरै छन् बेल्जियममा । तिनीहरूको सामाजिक सक्रियतालाई कुनै न कुनै रूपमा सम्बोधन गरिनु पर्छ । सामाजिक सक्रियता भन्नाले लेखेर, बोलेर र संघ–संगठनमा कर्ता बनेर मात्र पुग्दैन भन्ने लाग्छ मलाई । त्यसले समुदायका हरेक क्षेत्रलाई समेटेको हुनुपर्छ । ऊ चारित्रिक रूपले निर्मल, भावनात्मक रूपले पवित्र, पारदर्शी र सन्तुलित पनि हुनुपर्छ । उसको आवाज सुनेर समाजले सकारात्मक प्रतिक्रिया दिएको पनि हुनु पऱ्यो । त्यस्ता मान्छेहरू छन् जसले स–साना नानीहरूलाई बटुलेर निःशुल्क रूपले नेपाली लिपि सिकाइरहेका छन् तर उनीहरूको योगदानको पनि समाजले मुल्याङ्कन गरिरहेको छ । त्यस्ता दिदी-बहिनीहरू छन्, जसले फुर्सदको समयमा नेपाली संस्कृतिको पुस्ता हस्तान्तरण गरिरहेका छन् अझै । लेखिनुपर्ने सहयोगी मनहरूको कथा लेख्न नभ्याउदा निर्मल पानीमाथि फुलेका कमलका फूलहरू पनि धुलोको बादलभित्र लुकेझैं महसूस हुन्छ मलाई । यो समाजमा धेरै सोफियाहरू लेखिनयोग्य थिए, धन्न उनको स्टोरी लेखियो । केही बाँकी छन् । ब्यवसायिक क्षेत्रमा केही प्रेरणादायी उद्यमी-ब्यापारी अभियात्रीहरू पनि शब्दको प्रकाशमा उज्यालिन अझै बाँकी छ ।

प्रवाशी दुःखका गाँस काटेर आफ्नो समुदाय, मातृभाषा र नेपालको लागि योगदान गर्नेहरू हाम्रा प्रेरणा हुन्÷हुनुपर्छ । सांस्कृतिक कर्मीहरू जसले पन्चेबाजा बोकेर प्रवाशमा नेपाली रौनक भित्र्याइसके । आदरणीय बलाराम दाइ लगायत सबैलाई ती साँस्कृतिक आन्दोलनका पात्रहरू बनाउनुपर्छ । अबेर भइसकेपनि यो उज्यालोको इतिहास भविष्यको पुस्ताले पक्कै पढ्न पाउनेछ । ती कलाकर्मीको आत्माको सुसेलीलाई शब्द बनाएर लेख्नेछु, लेखिरहने छु । भाषा साहित्य, गीत, संगीत र खेल क्षेत्रमा योगदान गर्नेहरूको जीवनकथा लेखिनुपर्छ । नेपाली झण्डा उचालेर गरिने गतिविधिबारे वृत्तकथा लेखिनुपर्छ । लेख्न अझ धेरै बाँकी छ । पङ्क्तिकारको आफैसँग आत्मिक गुनासो !

एक विलक्षण सम्भावना बोकेको बेल्जियमको दोश्रो पुस्ताको प्रतिनिधिपात्र मदन दवाडीको बारेमा :

गत अप्रिल १९ तारिख बिहानीको कुरा हो । काममा जाँदै थिएँ, एउटा कुराले मेरो कान टिनिन्न बज्यो । ‘पुराना संघर्षका गाथाहरू धेरै लेखिस् र लेखिरहेको छस् मान्छे ! ती विभिन्न किताबका पानामा इतिहास बनेर लाम लागिसके । अर्को पुस्ताका आप्रबासी नेपालीहरूले आफ्ना अग्रजको त्याग तिनै लेखहरूमा टेकेर मनन गर्नेछन्, अझै खोज्ने छन्, पुनर्लेखन गर्नेछन् र अर्को अध्ययन–अनुसन्धानको सुरुवात गर्नेछन् । त्यसले नै लेखिएका पात्रहरूलाई अमर बनाएर लैजाने छ ।’

बाटोमा हिँड्दै गर्दा पनि लेखकले सपना देख्ने गर्छ । त्यो बिहानीमा देखेको ‘सुइना सपना’को पर्दामा मदन दवाडी बाबुको तस्बिर एक भिक्षुको जस्तै शितल अपेक्षासहित मेरो आँखाअगाडि उभियो । केटो रहरले भनौँ वा करले बेल्जियमको आप्रबासी बनिसकेको छ । नेपाली समुदायका हरेक समवेदनामा जोडिएर आँशु बगाउन कहिल्यै छुटेको छैन । सामाजिक सहयोगको लागि काम छोडेर पनि माछाजस्तै कुँदिरहन्छ, गुण र स्वभावमा कमलको फूलजस्तै निर्मल र नरम छ । सूचनाको क्षेत्रमा पनि चनाखो छ । आफूले थाहा पाएको हितकारी सुचना तुरुन्त समुदायलाई सम्प्रेषण गर्दछ । स्वरोजगारको लागि नेपाली आप्रवासीहरूमा जागरण पैदा गर्दछ । मैले देखेको सत्य । त्यसको बारेमा किन नलेख्ने ?

भोलिपल्ट फोन गरेर भनेँ, ‘मदन भाइ, नमस्कार, यही २१ तारिक सोमबार तपाईंको फुर्सद भए एकछिन टाइम दिनुस् है ।’

‘हुन्छ दाइ ! दिउँसो एक बजेबाट चार बजेसम्म मेरो फुर्सद हुन्छ । बरु कहाँ बसौँ ?’- उनले ढुक्कसँग जवाफ फर्काए । मैले उनलाई लिङ्करोहबरको तलाउकिनारमा बस्ने जवाफ दिएँ । उनले मलाई घरमै लिन आउने बताएका थिए, तर मैले मेरो कामको लागि आफैबाट सम्भव हुने कुरामा अरुलाई दुःख दिन चाहिनँ । अप्रिल २१ तारिक दिउँसो दुई बजे द्दभानइडेन’को पार्किङ्गमा भेट हुने निधो गरि मैले फोन राखेँ । सिफारिसमा मैले लेख्दिनँ । उनी मैले मनदेखि नै लेख्न आमन्त्रित पात्र हुन् ।

अप्रिल २१ तारिख २ बजे हामी तय भएको योजनाअनुरूप शान्त तलाउको छेउमा पुगेर एउटा बेञ्चमा बसी आफ्नो कुराकानी आरम्भ गऱ्यौं ।

‘कुरा शुरु गरौँ भाइ ?’ भन्ने मेरो प्रश्नमा उनले सहमति जनाए । ‘भन्नुस् त छोटोमा बेल्जियम आउनुपूर्वको कथा, घरतिरको अवस्था !’ उनले तलाउको डिलमा हामीलाई हेरेर उभिएको स्याउको रुखतर्फ हेर्दै भन्न थाले– ‘म दुई भाइ र ६ दिदीमध्यमा सबैभन्दा कान्छो । दाजुको नाम बाबुराम दवाडी हो । उहाँ पुल्चोक इञ्जिनियरिङ्ग कलेजको अहिले सहायक डीन हुनुहुन्छ । जीवनको शुरुवात गोर्खा जिल्लाको दुर्गम भेग तात्कालिन सिम्जुङ्ग गाविस, अहिले अजिर्कोट गाविसमा जन्मियो, हुर्कियो । गोर्खा सदरमुकामबाट १२ घण्टा पैदल जानुपर्ने भएकोले हाम्रो गाउँपालिका दुर्गम स्थान नै पर्छ दाइ । मेरो बुवा नजिकैको विद्यालयमा शिक्षक हुनुहुन्थ्यो । उहाँले नै पढाउने हिमालय माविबाट मैले एसएलसी उत्तीर्ण गरेँ । मध्यम वर्गीय किशान परिवार भएकोले हामी घाँस–दाउरा, बाख्रा चराउने गरेर हुर्केका हौँ । पछि गोर्खाको द्रब्य शाह क्याम्पसबाट आइकम सक्याएँ । अनि काठमाडौं आएर शंकरदेव क्याम्पसबाट ब्याचलर । पहिलो श्रेणीमा एमबिए उत्तीर्ण गरेँ । घरबाटै खर्च पठाएर पढाइ पूरा गरेकोले मैले कतै टिपुवा काम खोज्नु परेन । एमबिएको पढाइ सकेपछि केही समय प्लस टु, ब्याचलर र मास्टर्सलाई ट्युशन पनि पढाएँ ।’

उनले लगातार भन्दै गए, ‘वि.सं. २०६२ सालतिरबाट गोर्खा जिल्लाको भीमोदय बहुमुखी क्याम्पसमा अध्यापन थालेँ । उनले भने अनुशार भीमोदय उच्च माविलाई म्यानेजमेन्टमा ब्याचलर पढाउन थालेपछि त्यो क्याम्पस बनेको रहेछ । सो माविमा एक जमानामा प्रचण्डले पनि पढाएका रहेछन् ।

निजी दरबन्दीमा पढाउनु भएको हो भन्ने मेरो जिज्ञासामा उनले मुस्कुराउँदै थपे, दाइ त्यस्तै भनौँ । त्यतिबेला कान्तिपुरमा शिक्षकको लागि एउटा विज्ञापन आएको थियो । त्यसपछि मेरो दिदीले शिक्षकको जागिर खुलेको सूचना दिनुभयो । म रेडन कलेजमा पुगेँ । ३०० जनाको आवेदन परिसकेको रहेछ । मैले पनि आवेदन दिएँ । सबै आवेदकमध्ये तीन जना छानिए । तीन जनामध्ये प्राक्टिकलमा म प्रथम भएकोले छानिएको हुँ । दुई वर्ष पढाएपछि गोर्खाको भीमोदय उच्च मावि पढाएँ, तर पछि छोड्नुपर्ने बाध्यता आयो । कारण गोरखामा माओवादी द्वन्द्वको प्रभाव तीव्र थियो । जगन्नाथ गुरुको हत्यापछि शिक्षकहरू समेत द्वन्द्वको चपेटामा परेका थिए । बुबालाई पनि त्यसको आभास भयो र बुबाले काठमाडौंको वनस्थलीमा जमिन घर जोडी बसाइ सरेको अवस्था थियो । दाइ पहिल्यैदेखि वनस्थलीको घरमा बस्दै आउनुभएको थियो । गाउँमा कमाई राम्रै भएपनि बुबा-आमासहित सबै परिवार काठमाडौं बस्ने भएकोले पछि म जागिर छोडेर बाबा-ममीसँगै काठमाडौं बस्न थालेँ । पछि केही वर्ष मनमोहन मेमोरियल तथा ३ महिना जति बिष्णुमति बिएसटी कलेजमा पनि पढाएँ । कमाइधमाइ त राम्रै थियो ।’

अहिले भन्दा त्यतिबेलै बढी सन्तुष्ट थिए रे उनि । उनले यसो भन्दैगर्दा अनुहारको चमक ओइलाइसकेको थियो । उनका दुवै आँखाको नानी रसिलो देखिएपनि आँशु बनेर परेलामा झुण्डिन मानिरहेका थिएनन् ।

मैले उनलाई नेपाल, घर परिवारबारे धेरै सोधिनँ र प्रवासको बारेमा उनको धारणा बुझ्ने कोशिस गर्दै जिज्ञासा राखेँ– ‘भन्नुस् मदनजी, कसरी बेल्जियम आउने परिस्थिति बन्यो ?’ उनले अलिक संकोच मान्दै मुख खोले, ‘विदेशको बारेमा कौतुहल त थियो तर कमाइ नेपालमा पनि राम्रै थियो दाइ । यस्तैमा दाइको ससुरालबाट बेल्जियमको नेपाली कन्यासँग बिहेको प्रस्ताव आयो । बाहिर गएर अझै राम्रो गर्न सकिन्छ कि भन्ने पनि लाग्यो । बिहे प्रस्तावलाई कुनै आनाकानी नगरी हुन्छ भनिदिएँ ।’ उनले थपे, ‘पूर्णतया मागी विवाह थियो त्यो ।’ कुरा चलेको दश दिनभित्रै बिहे गरेका रहेछन् उनले । भन्दै थिए, ‘भाग्यमा लेखेको कुरा फेर्न सकिँदैन दाइ ।’

मदनले गाडीको चाबी गोजीमा राखे । घरको सम्झनाले उनको अनुहारको रङ्ग बुकी फूललाई हावाले हल्लाउँदा जस्तै हल्का बनाएको प्रतीत हुन्थ्यो । बुकीका सेता केश्राहरू हावासँग उड्न त खोज्छन् तर सक्दैनन् । उनको मनभित्रको हलचल सायद त्यस्तै भए होला । उनले उनैको मनलाई उनैको भाषामा सम्झाएँ, ‘अमुदर्य, सिन्टास्था, एड्रोनोवो, मिश्र, यल्लो रिभर, हित्ति, यमन्या, भोल्गा, क्यातल ह्यूक, अनातोलिया, मेसोपोटामिया, सिन्धु उपत्यका, लेवान्त, इन्का, ओल्मेकजस्ता सभ्यता पनि मानिसको आप्रवासनका परिणाम हुन् दाइ । मानव इतिहासले निर्माण र समाप्ति धेरै भोगेको छ । उत्पत्तिकालदेखि हाम्रो जैविक स्वभाव (ब्लुप्रिन्ट) नै सहजताको खोजीमा भौँतारिनुसँग जोडिएको छ । अन्त्यहीन आप्रवासनको इतिहासको एक पात्र बन्न म आफैंले रोजेको हुँ । बा-आमाको फरक चाहना थियो होला । म मनको द्वन्द्वलाई चिरेर आफ्नै निर्णयमा बेल्जियम आएको हुँ । हाम्रा सन्ततिहरूले पनि यस किसिमको जैविक परिवेशलाई निरन्तरता दिने छन् भन्ने लाग्छ ।’

हो, उनी बिहे भएको लगत्तै अर्थात् उहाँ २०१० को मे महिनामा बेल्जियम आए । तपाईं यता आउने बेला प्लेनमा खुट्टा चढाएपछि कस्तो अनुभूति गरियो भन्ने जिज्ञासा राख्दा विस्फारित नेत्रले मलाई हेरेर अमिलो मुस्कान दिँदै दवाडी भाइले भने, ‘यत्रो पढेर एक खालले क्यारियर बनाइसकेको मान्छे, अलिक नरमाइलो फिल भयो । उता गएपछि के होला, नहोला भन्ने अनिश्चितताको पर्दाले मन निचोरियो ।’ टाउको हल्लाउँदै उनले थपे, ‘जे होस्, दुःख मानि-मानि नै जहाजमा उक्लेको हुँ । तर त्यो मेरो रहर र विवशता दुवै थियो ।’

उनको बोली मलिन भएपनि प्रष्ट थियो, ‘मेरो अभिलाषा ठुलै थियो । त्यत्रो पढेको मान्छे, काम त्यसअनुसारको होला भन्ने आशा गरेको थिएँ । अन्त नभएपनि बैंक वा अन्तर्राष्ट्रिय कम्पनीमा एकाउन्टेन्ट त मिल्छ होला भन्ने सोचेको थिएँ । आइसकेपछि जागिरको लागि मेरो अध्ययन क्षमताको विवरण धेरैतिर पठाएँ पनि, तर समस्या भाषाको देखियो । डच र फ्रेन्च जान्नैपर्ने ।’

त्यतिबेलाको एउटा अनुभव सुनाउँदै उनले दबिएको आवाजमा आफ्ना शब्दहरू कोरले, ‘लिर शहरमा राम्रै कामको लागि अन्तर्वार्ता भयो । अन्तर्वार्ता लिने कर्मचारीले डच भाषामा भ्याटको बारेमा प्रश्न सोध्यो । बेटेवेको बारेमा मैले थेसिस नै लेखेको मान्छे । बेल्जियमको कर प्रणाली बारेपनि मुले थेसिस लेखेको छु । भ्याट लागु गर्ने पहिलो देश बेलायतको कर प्रणालीको बारेमा पनि पेपर लेखेको छु । भ्याट लागु गर्ने देशमा बेल्जियम संसारमै दोश्रो देश हो । सबै जानकारी थियो । तर भाषाको कारणले थाह छैन, बुझिनँ भन्ने परिस्थिति पनि आयो । त्यसपछि भन्नुस् त्यति बेला मेरो मनभित्र कति हीनताबोध भए होला । कहिलेकाहीँ त ‘आ…नेपाल फर्कनुपर्छ कि क्या हो !’ भन्ने पनि भयो । आखिर मनको बाढीलाई रोक्ने तागत कोसित पो हुन्छ र दाइ !’

झन्डै एक मिनेटको मौनताको बीचमा केही मानिस तालको छेउबाट यताउता गरिरहे । उनीहरूको छायाले कतिखेर कतिखेर हामीलाई पनि छुन्थ्यो । त्यतिबेला हाम्रा कुराकानी रोकिन्थे । मध्यान्नको बेला घाम हाम्रो पश्चिमको तलाउ किनारमाथि पुगेर हाम्रा गफ सुनिरहे झैँ लाग्दथ्यो ।

त्यत्तिकैमा पंक्तिकारको मुखबाट शब्द चुहियो, ‘अनि भाइ…?’

उनले आफ्नो हातले पाइन्टको धागोको झुत्रो तान्दै मनभित्रको उकुसमुकुस उछाले, ‘दाइ.. जहाँ गएपनि स्थानीय भाषा नभइ केही काम नहुने रहेछ भन्ने कुराको मलाई त्यसपछि बोध भयो । लगत्तै प्रशासनिक भाषा कक्षा भर्ना भएर डच पढ्न थालेँ र दुई वर्ष औपचारिक तहको भाषा र पार्टटाइम काम गरेर बिताएँ ।’ एकाउण्टेनको प्रशासनिक भाषा सिकेपछि मैले सो पदको लागि निवेदन पठाएँ । मौखिक टेष्ट उत्तीर्ण गरेँ । सानो गल्तीका कारण लिखितमा असफल भइयो । मेरो मनले भाषामा सानो खोट देखाएर नियतवश नै निकालेजस्तो सोच्यो । अति दुःखी हुँदै घर आएँ । लिखित परीक्षामा एउटा अक्षर सानो हुनुपर्ने ठुलो भएछ । त्यति नै गल्ति देखायो । त्यसपछि मन निचोरिएर आयो तर आँशु बडो मुस्किलले थामेँ । म घरमा आएपछि पनि मन संग्लिएन । आँशु हर्हरी झऱ्यो । धेरै बेर रोएँ । बेल्जियम आएर आँखाबाट मन पखाल्ने गरी रुनु परेको त्यही क्षण हो दाजु ।’

कुरा सन् २०१२ को हो । अन्तर्वार्तामा असफल भएको केही दिनपछि उनले काम खोज्ने कामलाई निरन्तरता दिइरहे । उनले हावनतिर एउटा जापानी कम्पनीमा काम भेट्टाए । साउण्ड सिष्टमसम्बन्धी काम रहेछ त्यहाँ । झण्डै दुई वर्ष जति त्यहाँ काम गरेछन् । उनलाई त्यही बेला नेपाल जानुपर्ने भएकोले बिदा मिलेन र काम छोडे । नेपाल गएर आएपछि फ्रेन्च कम्पनीमा काम शुरु गरे । त्यहाँ ६ महिना काम गरेपछि सुपरभाइजर बने । त्यो कम्पनीमा स्थाई कन्ट्याक्ट पनि मिल्यो । सबैकुरा राम्रैसँग चलेको थियो । एकप्रकारले उनी त्यहाँ सेट भैसकेका थिए ।

२०१६ को अक्टोबरतिरको कुरा हो । उनको जीवनमा एउटा फरक परिवेश उत्पन्न भयो । भएछ के भने मदनका साला भाइ सन्तोष पौडेलले रेस्टुरेन्ट लाइनमा आउन उनलाई सुझाएछन् । एक खालले सेट भैसकेका मदन, काम ठिकै थियो । उता रेस्टुरेन्टमा आफै मालिक हुन पाइने । उनलाई के गरौँ के गरौँ भएछ । घरसल्लाहमा पनि घर किनियो, गाडी पनि छ अब किन दोधार गर्नु, जोखिम मोलेर ब्यवशाय गर्नु उपयुक्त हुने कुरा भएपछि उनले त्यो काम छाडेर ब्यवसायिक बन्न उठे । उनले त्यतिबेलाको निर्णयलाई जीवनको महत्वपुर्ण टर्निङ प्वइन्ट भन्ने गरेका छन् ।

‘२०१७को कुरा हो दाइ, म ब्यवशायमा ब्यवस्थित रूपले प्रवेश गरेँ । ब्यवशायबाट मलाई कहिल्यै असफल हुनु परेन । शुरु-शुरुमा त ब्यवशायिक झमेला हुने भयो । कागजी प्रक्रिया पनि यता जटिल नै हुन्छ । अनुभव नभएको मान्छे ।’ रेष्टुरेन्टमा वेटर काम सिक्दै सबै खाना बनाउने कला पनि उनले आफ्नै रेष्टुरेन्टबाट सिकेछन् । आफ्नै सेफलाई सिकाएको थप तलब दिएर पनि उनले खाना बनाउने कलामा पोख्त बने । मेहेनतको फल मिठो हुन्छ भनेझैँ उनी आफ्नै बिजनेसमा रमाए र राम्रै कमाइ पनि गरे । अहिले उनले त्यही ब्यवशायलाई थप गर्दै लागेका छन् । केहीलाई रोजगार दिएका छन् र परिवार पनि खुशी छन् ।

‘आर्थिक रूपान्तरणको लागि जोखिम मोल्नैपर्नेरहेछ दाइ’, उनले हौसिँदै भने- ‘मेरो प्रिय भाइ सन्तोष त्यो बेला मेरो गुरुजस्तै भयो । ऊ आफू ब्यवशायी भएर होला उसले मलाइ सदैव परोक्ष गाइडले झैँ अझैसम्म भरथेग गरिरहेको छ ।’

२०१६ मा नै उनी नेपाली मिलन केन्द्रको महासचिव भइसकेका रहेछन् । पछि उनि नेपाली ब्यवशायी संघको महासचिवको भूमिकामा रहे । २०२२ को डिसेम्बरपछि उनले नेपाली ब्यवशायी संघ युरोपको महासचिव र एनआरएनए बेल्जियमको अन्तर्राष्ट्रिय समिति सदस्य छन् ।

नेपालमा फर्कने सोचको सवालमा उनले यसै गर्छु भनेर निर्णय सुनाएनन् । भन्छन्, ‘भावनाको कुरा एउटा भयो दाइ, वास्तवमा परिस्थिति कस्तो हुन्छ त्यसको निर्णय भोलि नै होला ।’

उनका अनुशार, ‘जीवनको निष्कर्ष आ-आफ्नै हुन्छ । प्रदीप गिरीले अध्ययनको अवसरको लागि जेल बसाइलाई जीवनकै महत्वपूर्ण समय मानेझैँ मानिसका जिउने कलाले निष्कर्षलाई ब्यक्तिगत बनाइदिन्छ । त्यो बेला मान्छेको निर्णय समयको बसमा हुन्छ । यहाँ सन्तुष्ट नै छु भन्नुपर्छ । आफैंले रोजेको बाटोमा जे भेटिन्छ त्यसैमा सन्तुष्ट हुनुपर्ने रहेछ ।’ उनले भनेझैँ, उनको जीवन पनि क्षेत्रगत रूपमा गाउँले, शहरिया र प्रवाशी भयो भने ब्यवशायिक रूपमा बालककालको विद्यार्थी जीवन, अध्यापन, जागिरे र ब्यवशायिक हुन पुग्यो ।

पङ्क्तिकारको साहित्यिक मन भएकोले होला मैले उनलाई नेपाली भाषा, साहित्यिक रुचि र बेल्जियममा जुन २३, २४ र २५ मा हुँदै गरेको सम्मेलनको बारेमा जिज्ञासा राखेँ । त्यसमा उनको उत्तर थियो, ‘नेपाली भाषा जागिर खाने वा समान बेच्ने भाषा मात्र हैन, सपना देख्ने भाषा हो । नेपाली भाषा हाम्रो कल्पना, भावना र सपनामा समुन्द्रको लहर झैँ बगेको हुन्छ । आमाको काखमा खेल्दै सिकेको भाषा आमा जत्तिकै प्रिय हुन्छ । त्यसैले मातृभाषा साहित्यको म पनि अनुरागी हो । आगामी साहित्यिक महायज्ञमा सहयोगी हुन पाउनु हाम्रो सौभाग्य हुनेछ । खुलेर सहयोग गर्नेछौँ, बरु समयमै भन्नुहोला ।’

मदनले आफूलाई युरोपको दोश्रो नेपाली पुस्ता भन्न रुचाउँछन् र भन्छन्, ‘युरोपको दोश्रो पुस्ता, पहिलो तथा तेश्रो पुस्ताको सम्वेदना र संज्ञानलाई जोड्ने जुगुलर भेन हो जस्तो लाग्छ दाइ । दोश्रो पुस्ताले प्रवाशमा रहेको पहिलो पुस्ताको हृदयभावलाई तेश्रो पुस्तासम्म पुऱ्याउँछ । यो पुस्ताले नेपालप्रतिको लगाव र पहिचानप्रतिको श्रद्धालाई पनि तेश्रो पुस्ताले प्राप्त गरेको प्राविधिक तथा संज्ञानात्मक उपलब्धिसँग जोड्ने काम गर्दछ । दोश्रो पुस्ताको अभावमा तेश्रो पुस्ताले पहिलो पुस्तालाई सुन्दैन भने पहिलो पुस्ताले तेश्रो पुस्तालाई बुझ्दैन । प्रवासमा भएको प्राविधिक क्रान्तिले यी दुई पुस्तालाई सताब्दीयौँ परको मान्छेमा बदलिदिएको छ । नेपाली पहिचानको सन्दर्भमा पहिलो पुस्ताले बढी बुझेको हुन्छ । सामुहिक जीवन पद्दति र पूर्वीय समाजका उपलब्धिहरूको ज्ञान पनि उसँग बढी हुन्छ । तर पश्चिमा सांस्कृतिक परिवेशमा हुर्केको तेश्रो पुस्ता यतैका साँस्कृतिक विशेषतामा अभ्यस्त हुन्छ । उनीहरूलाई समुदाय भन्दा ब्याक्तिगत क्यारियर महत्वपुर्ण हुन्छ । सामुहिक जीवनभन्दा निजी जीवनमा उनीहरूको रुचि बढी हुन्छ । घंचमंच सहने क्षमता उनीहरूमा हुँदैन । त्यसैले नयाँ पुस्तालाई पारिवारिक सुझावले मात्र पूर्वीय जीवन पद्दतिको सार बुझाउन सकिँदैन । दोश्रो पुस्ताको आवश्यकता भनेको त्यतिनै बेला हुने हो । किनकि दोश्रो पुस्ताले दुवै पुस्ताको अन्तरविरोध बुझेको हुनाले तेश्रो पुस्ताको संज्ञानमा सकारात्मक प्रभाव पार्न सक्छ ।’

उनले आफ्नो सर्टको बटन मिलाए, आफ्नो तलाउतिर हेरिरहेको शिर मतिर घुमाउँदै अमिलो जिब्रोमा परेपछि बच्चाले मुख बिगारेझैँ मुख बिगारे । मेरो जिज्ञासाले उनलाई दुखाए वा थकाए जस्तो लाग्यो ।

‘अब अन्तिम जिज्ञासा भाइ, सबै पुस्ताका प्रवाशी नेपालीलाई एक ठाउँमा ल्याउने तपाईंसँग कुनै सुत्र छ ?’ मेरो जिज्ञासाले लास पोल्दै गरेको मलामीको झैँ उनको अनुहार झुल्सियो ।

‘खै दाइ, सबै नेपालीहरूलाई डल्लो पार्न सक्ने ताकत भाषा, खेल, सँगीत, साहित्य र कलासँग मात्र छ । अहिले पनि नेपाली भाषा स्कुलमा नेपाली आप्रबासीका बालबालिकाहरूले भाषा सिकिरहेका हुन्छन् । त्यो उनीहरूको बाध्यता र रुचि दुवै हो । खेल क्षेत्रमा पनि पुस्ताको हरक फरक कमजोर नै हुन्छ । त्यस्तै साहित्य, सँगीत र कलाले सबै उमेर समुहलाई एउटै कोठामा राखेर उही प्रकारको अनुभूति दिन्छ ।’ उनले यत्ति भने र फिस्स हाँसे ।

यत्तिकैमा हामी बसेको बेञ्चअगाडि एक जोडी काग आए । यिनीहरूले केही खान्छन् र अलिकति हामीलाई पनि खसालिदिन्छन् भनेर आशा गरेका थिए होलान् । झन्डै आधिघण्टा रुखको छिमल पारेर हामीलाई ढुके । हाम्रा हातबाट केही नझरेपछि ती काग पनि उडेर गए । हामी दुवै जनाले काग उडेको दिशातिर एकटकले हेऱ्यौं । धेरै नै बोल्दा घाँटीले साथ नदिएकोले होला मदनले आफ्नो घाँटी केहीबेर मुसारे र आफ्नो टाउको जमिनतिर ढलाएर केही गमेझैँ गरे । खै उनको मन त्यो दिन एक निर्दोष बन्दीको झैँ निन्याउरो देखेँ । अघिपछि त्यति फुर्तिलो मान्छे ।

‘हुन्छ त भाइ !’ म उठेँ ।

उठ्ने बेलामा उनि फुस्फुसाए, ‘पहिलो पुस्ताको कुनै पनि कार्यक्रममा तेश्रो पुस्ताले अरुचि प्रकट गर्नुको कारण समान्तरले बदलेको रुचि र अनुभूति हो दाइ ! यसलाई भाषा, सँगीत र खेलको माध्यामबाट जोड्न सकिन्छ । ’

उनले आफ्नो कुरा राख्दा उनको मुखबाट आत्माको आवाज निस्के झैँ लाग्यो । मदनको बारे अलिकति परीक्षण गरेको छु मैले । उनले बनावटी कुरा गरेको जस्तो मलाई कहिल्यै आभाष हुन पाएन । सिजनअनुसार रंग फेर्ने र आफूलाई केन्द्रमा राखेर पदीय महत्वाकांक्षाले पाखुरा सुर्केको मदनबाट पङ्क्तिकारले अहिलेसम्म देखे–बुझेको छैन । प्रष्ट विचार, गहनरूपले सुन्ने र बुझ्ने तागत, सकारात्मक मनोविज्ञान, जैविक स्वभाव, समुदायप्रतिको चिन्ता र सन्तचित्त उनीभित्र एकखालको दिब्य आभा देखिन्छ जसले यो पङ्क्तिकारलाई हमेसा लोभ्याइरहन्छ ।