- भरत कोइराला

बयासी साल प्रारम्भ हुनासाथ पुराना झापाली पत्रकार श्याम अधिकारीले काठमाडौंमा एक नयाँ अनुसन्धानमूलक पुस्तक ‘आर्यजातिको आदिम वैदिक सामाजिक प्रणाली’ प्रकाशनमा ल्याएका छन् । दक्षिण एसियामा प्राग् ऐतिहासिक कालदेखि बसोबास गर्दै आएको उन्नत आर्य सभ्यताको आदिम अवस्थाको झलक दिने ऋग्वेदमा आधारित भएर समीक्षात्मक उद्देश्यले लेखिएको यो पुस्तक सामान्यतः अनुसन्धानमूलक भए पनि आर्यजातिका बारेमा पश्चिमा विद्वान् र आर्यसमुदायका विशेषज्ञ भारतीय इतिहासकार र दार्शनिकहरूको भन्दा फरक दृष्टिकोणबाट तयार पारिएको स्वयम् लेखकले आफ्नो प्राक्कथनमा बताएका छन् ।
मूलतः समाजशास्त्र विधाको पुस्तक भए पनि यस पुस्तकले वैदिक सनातन धर्म, आर्य इतिहासका कुरामा पनि नयाँ अवधारणा अघिसारेको छ । यसरी नेपाली भाषामा संक्षिप्तरूपमा प्रकाशित भए पनि हालसम्मका आम धारणाभन्दा फरक दृष्टिमा लेखिएकोले यस पुस्तकको ऐतिहासिक महत्व रहेको छ । वेदहरू, खासगरी ऋग्वेदको अध्ययन-अनुसन्धान गर्नेहरूका लागि त यो कृति कालजयी नै रहेको छ भन्ने यसका अध्येताहरूले बताएका छन् । शब्दयात्रा प्रकाशन बनेपाका अध्यक्ष हरि मञ्जुश्रीले त आफ्नो फेसबुक स्टाटसमै लेखेका छन्- यो पुस्तकले मेरो सोचाइमै परिवर्तन गराइदियो । मैले वैदिक आर्यहरूबारेमा सुनेका कुरालाई गलत भन्यो, मेरो विचारमै परिमार्जन गर्न सुझायो । मेरो दिमागै रन्थनाइदियो । राजनीति शास्त्रका प्राध्यापक लोकराज बरालले पनि हालै पढ्नयोग्य पुस्तक भनेर टिप्पणी गर्नुभएको छ ।
पुस्तकमा भूमिका र लेखकको प्राक्कथन बाहेक १३ वटा विषय समावेश गरिएको पाइन्छ । जस्तै विषयको पृष्ठभूमिका रूपमा आर्य जाति र ऋग्वेद र ऋग्वेदका युगचरण शीर्षकका लेख रहेका छन् । यिनमा प्रचलित इतिहासको प्रसङ्गको समीक्षा गरिएको छ । भारतमा आर्यहरूको प्रवेशको सन्दर्भ कोट्याइएको छ । आर्य कसलाई भन्ने भन्ने कुराको सन्दर्भमा आर्यकरण गर्ने परम्परा र किराती पनि आर्य भएकै दाबी गर्छन् भन्नेसमेत उल्लेख छ भने हाम्रो संविधानमै खस आर्य भनिएकोले हामीले आर्यको बारेमा जानकारी लिन आवश्यक भएको सङ्केत गरिएको छ ।
आदिम समाजमा दान भन्ने शीर्षकमा आर्यजातिको आदिम स्वामी वर्गले दानका नाममा कर लिने गरेको र यही दानभोगी वर्ग पछि ऋषि, पुरोहित र ब्राह्मण कहलाएको दाबी छ । यस वर्गले आफ्नो समुदायको आदिम अवस्थामा नेतृत्व गरेको, देवताको प्रार्थना गर्ने, नियम बनाउने, सभ्यताको उपदेश गर्ने र बौद्धिक कर्म गर्ने गरेको उल्लेख छ ।
आर्यलाई शुरुमा देव गण भनिने गरेको र यसको यज्ञ परम्परा पहिचानकै रुपमा स्थापित भएको उल्लेख छ । यज्ञ सामूहिक उत्पादन र वितरण प्रणालीका रूपमा शुरु भएको र पछि वितरणमुखी प्रचलनमा परिणत भएको दर्शाइएको छ । आर्यहरूको आदिम ढुङ्गे र गुफायुग पनि थियो । त्यो कस्तो थियो र मातृसत्ता कस्तो थियो भन्ने पनि ब्याख्या गर्दै शुरुमा यौन स्वतन्त्रता र पछि पुरुषप्रधान बनेको कुरालाई पनि ऋग्वेदका ऋचा या मन्त्रको उद्धरण दिएरै बताइएको छ ।
एक अर्को शीर्षकमा आर्य जातीय समावेशिता र बर्णव्यवस्थाको बारेमा व्याख्या गरिएको छ । त्यसमा आर्यहरूको बर्णव्यवस्थालाई श्रमविभाजन भन्ने प्रचलनको खण्डन गरिएको छ । शुरुको नायक वर्गबाट विस्तार हुँदै गएको आर्य समाजको व्यवस्थापन र सुरक्षा सम्भव नभएपछि सुरक्षा र युद्धको आवश्यकताले नयाँ लडाकु क्षत्रिय वर्ग राज्यसत्तासँगै देखापरेको र उसलाई नायक वर्गजस्तो संस्कारी नभए पनि अधिकार मानप्रतिष्ठामा दोश्रो दर्जामा राखिएको उल्लेख छ । राज्यसत्ता र फौज गठन भएपछि समाज सुव्यवस्थित गर्न नियम कानुन बन्न थालेका र त्यसका आधारमा समाज चल्न थालेपछि उत्पादन प्रणालीको विकास भएको र यस प्रणालीमा प्रजा वर्गले कुटुम्ब, परिवार र दास प्रयोग गरेर धन कमाउन थालेको, राज्यलाई आर्थिक रुपले कर दिएर भरथेग गर्न थालेपछि पुरानो नायक वर्ग धार्मिक सांस्कृतिक रुपले श्रेष्ठ भए पनि अधिकारविहीन हुन थालेको विचार राखिएको छ ।
बौद्धिक चिन्तनका दृष्टिले ऋग्वेद कति उत्कृष्ट छ भन्ने ऋग्वेदमा बौद्धिक चिन्तन शीर्षकमा व्याख्या गरिएको छ । विश्वप्रसिद्ध अध्यात्मवादी चिन्तन ऋग्वेदबाटै शुरु भएको तर त्यसबेलाका ऋषिहरू उपनिषद् कालका ऋषिमुनि जस्तो निसारतावादी, निराशावादी होइन आशावादी रहेको उल्लेख छ ।
भरतमा आएका आर्यका पुर्खा देवगणभित्र इन्द्र र वृत्तको सत्ता–संघर्षको कथालाई चीनको हाल हुने गरेका सत्ता संघर्षको टोरीजस्तै गरेर बनाइएको छ भने उपशीर्षक नभए पनि वरुणदेवको बारेमा अलग चरित्रका देवता भनेर परिचय दिइएको छ ।
श्याम अधिकारीले इस्वी सन् प्रारम्भ हुनु करिव एक हजार वर्षअघि नै भारतमा आर्यहरूका दासप्रथाका राज्यहरू थुप्रै गठन भइसकेका र तिनले धन कमाउने होडमा एकले अर्कोलाई दस्यु अर्थात् शत्रु घोषित गरेर दास बनाउने र सम्पत्ति लूट्ने उद्देश्यले ‘महाभारत’ युद्ध लडेकाले आफुलाई देवदूत भन्ने पुरोहित ब्राह्मणहरूको दवदवावको दास प्रथा ढल्न पुगेपछि भारतमा पुनर्जागरण काल शुरु भएको दाबी गरेका छन् । पुनर्जागरण कालमा वैदिक कर्मकाण्डका विरोधी बौद्ध, जैन र सांख्यजस्ता अनेकौँ अवैदिक विचारधाराको जन्म भएको, निसारतावादी उपनिषदहरू बनेका भन्ने उल्लेख गरिएको छ । पुस्तकको अन्त्यमा तत्कालीन सामाजिक प्रणालीका बारेमा झलक दिने ऋग्वेदका केही सूक्तहरू प्नि अनुसन्धाताहरूलाई उपयोगी हुनसक्ने भनी दिइएको छ ।
चार्ल्स डार्बिन र फ्रेडरिक एङ्गल्सको शैली अनुकरण गर्दै लेखिएको अनुभव पाठकले गर्दछन् । डिमाइ साइजको मूल पाठ करीव १२३ पृष्ठ रहेको करिव ३६ शब्दको यो पुस्तकको बिक्री-वितरणको जिम्मा हरेक प्रतिको रु २५०/- मा प्रगतिपुस्तक सदन बागबजारले लिएको देखिन्छ । सम्बन्धित विषयका विद्यार्थीलाई अनुसन्धान कार्यका लागि उपयोगी ठहर हुने यो पुस्तकले तर्क र प्रमाण भन्दा पनि नयाँ दृष्टिकोण र प्रस्थापनामा जोड दिएकोले केही कमजारी पनि महसूस हुन्छ । खासगरी हालसम्म दासप्रथाको बारेमा पश्चिमा इतिहासकारहरूले रोम र मिश्रजस्ता देशका दासप्रथाका दृष्टान्त मात्र अगाडि ल्याउने गरेकोमा आर्यहरूको भारतमा प्रचलनमा ल्याएका दासप्रथाको बेग्लै स्वरूपको व्याख्या पर्याप्त नभएको देखिन्छ ।
प्रतिक्रिया