उनीहरू काममा ब्यस्त छन्, हामी कुरामा !

उनीहरू काममा ब्यस्त छन्, हामी कुरामा !


यही सन् २०२५ को अप्रिल महिनामा दुबई र युनाइटेड अरब इमिरेट्स (युएइ)को यात्रा गर्दा विगत दुई वर्षअगाडिको यात्रामा भन्दा बढी मन भारी भए जस्तो, ग्लानी जस्तो महसूस भयो । सन् २०२३ र अहिले यो दुई वर्षको बीचमै कति धेरै संरचनाहरू थपिएछन् । एकपछि अर्को शहर बनिरहेका… दुबई र अबुधावीमा मानिसको सङ्ख्या बढ्दै जाँदा शहरहरू पनि थपिँदैछन् । ट्राफिक जामलाई कम गर्न फ्लाइ ओभरहरू बढ्दै गएका… बन्दै गरेका… ! अरुको प्रगति देखेर, कसैको राम्रो भएको देखेर मन भारी हुने मान्छे पटक्कै होइन, उनीहरूको प्रगतिले भन्दा पनि आफ्नो देशमा पनि यस्तो गर्न सकिन्थ्यो भनेर सकस भएको हो ।

हामीकहाँ काठमाडौं उपत्यकामा इशान लगायतका केही शहरहरू बन्ने भनेर नाम तोकिएको धेरै भयो । केही डीपीआरहरू पनि बने, केही वर्ष बजेट पनि छुट्टियो तर समयक्रममा शहर बनिसक्नुपर्ने बेलामा अहिले त ती शहरको चर्चा नै हुन छाड्यो, बजेट पनि छुट्याउन छोडियो । काठमाडौं उपत्यका विकास प्राधिकरणमा भाइकाजी तिवारी रहिरहेका भए शायद यतिबेलासम्ममा उपत्यकामा बनाइने भनिएका तीनमध्ये दुई वटा शहर बनिसकेका हुन्थे होलान् । आफ्ना मान्छेलाई नियुक्ति दिने क्रममा सम्बन्धित क्षेत्रमा अनुभव भएका भन्दा बाहिरका मान्छेलाई राख्दा ती शहरको नाम-निशान हरायो । शहरी विकास मन्त्रालयमा अलिकति भिजन भएका मानिसहरू भएका भए पनि तिनले साकार रूप लिने थिए होलान्, तर त्यस्तो भएन ।

दुबई र अबुधावीका अधिकांश भौतिक संरचना निर्माणमा नेपालीहरूको सहभागिता रहेको छ । इन्जिनियरहरू भेट हुँदा उनीहरू देखाउने गर्छन्- उ.. त्यो पुल बनाउँदा मैले यति वर्ष काम गरेँ, उ.. त्यो बिल्डिङ्ग बनाउँदा यस्तो भएको थियो…, कति चाँडो-चाँडो विकास भएको, कति धेरै संरचना बनेका…, पुल, बिल्डिङ्ग… नयाँ शहर… शहरलाई चाहिने आवश्यक संरचना… विज्ञदेखि प्राविधिक हुँदै मजदुरसम्म प्रायः सबै नेपाली… तिनले आफ्नै देशमा पसिना बगाउन पाएका भए…, आफ्नै देश यसरी बनाउन पाएका भए… जस्तो लाग्ने । त्यहाँ मानिसहरू एकर्कामा भेट्दा प्रायः कामकै कुरा गर्ने रहेछन्, यहाँ यस्तो भयो, त्याहाँ यस्तो भयो । त्यो प्रोजेक्ट यसरी सम्पन्न भयो…, अब यो प्रोजेक्टको खाका बनिरहेको छ । बालुवैबालुवाको जमिनलाई हरियालीमा कसरी बदल्ने ? त्यस्तो मरुभूमि कसरी हराभरा बन्यो… ? के कुरामा पुरानै तरिका अपनाउन सकिन्छ, नयाँ केमा गर्ने हो… ब्यापार ब्यवसाय के गर्दा राम्रो हुन्छ, के फष्टाइरहेको छ ? केले फरकपन खोजेको छ ?

हामीकहाँ हेऱ्यो, आज कसले कसलाई के भन्यो ? त्यसको प्रतिकार अर्कोले कसरी गऱ्यो ? कसले कस्ता शब्द प्रयोग गऱ्यो ? कुरैकुरामा जीवन बित्न लाग्दा निश्चय नै दुःख लाग्छ । दुई वर्षको फरकमा उनीहरूले कति धेरै काम गरेछन्, हामीले के गऱ्यौं ? यसबीचमा विभिन्न क्षेत्रमा प्राविधिक र अन्य ज्ञान भएका धेरै मानिसहरू विदेशिए । यहीँ बसेर केही गर्न खोज्नेहरू निराश भए । डाक्टर, नर्स, इन्जिनियर, ओभरसियर लगायतका ब्यवसायिक ब्यक्तिहरू खाडीतिरै लागे, किनभने त्यहाँ उनीहरूले आफ्नो दक्षताअनुरुपको काम पाउँछन्, दाम र सम्मान पाउँछन् । नेपाली मात्र होइन युरोपका विभिन्न मुलुकबाट दुबई, अबुधावीमा कामका लागि जानेहरूको सङ्ख्या बढ्दै रहेछ । जसले जे गर्न चाह्यो, सरकारले वातावरण सिर्जना गरिदिएको छ । मुलतः शान्ति-सुरक्षा, रोजगार र बजार नै महत्वपूर्ण रहेछ । कामको संसारमा जागिरको सुरक्षा छ, बाहिरको संसारमा जो जतिबेला पनि हिँडडुल गर्न सक्ने वातावरण छ । राति १२ बजेसम्म त बजारमा मानिसहरू मजाले किनमेल गरिरहेका हुन्छन् । मध्यराति गाडीमा होस् या सडकमा हिँड्ने मान्छेलाई सुरक्षाको चिन्ता लिनु पर्दैन ।

बस या ट्राममा चढ्दा महिलाहरू अगाडिको ढोकाबाट र पुरुषहरू पछाडिको ढोकाबाट चढ्ने नियम रहेछ । अगाडितर्फका सबै सिटमा महिला, पछाडिका सिटमा पुरुष, यदि अगाडि महिलाहरू धेरै भए भने पछाडिको सिटमा गएर बस्न मिल्ने, पुरुषको संख्या धेरै भयो भनेचाहिँ पछाडि नै उभिएर बस्ने तर अगाडितिर नआउने ! बस चढ्दा होस या बाटो काट्दा या किनमेल गर्दा – महिलालाई प्राथमिकता । अफिसियल कामकाजमा बाबुको भन्दा आमाको नाम अगाडि र अनिवार्य चाहिने । त्यस्तो ठाउँमा बस्दा त महिला हुनु आफैमा विशेष जस्तो पनि लाग्ने रहेछ । ‘स्पेशल’ महसूस हुने रहेछ । करकापले, जबर्जस्ती या गर्नैप ऱ्यो भनेर होइन, संस्कृति नै त्यस्तो ।

सुरक्षा भनेको सुरक्षाकर्मी, बन्दुक या हतियार नभएर अनुभूति हो भन्ने कुराको अनुभव अबुधावीमा गर्न सकिन्छ । कहीँ–कतै केही सामान छुट्यो भने हराउला भन्नु परेन, आफूलाई कसैबाट असुरक्षा होला कि भन्ने सोच्नै परेन ! जतिबेला जहाँ गएपनि सय प्रतिशत सुरक्षाको अनुभूति गर्न पाउनु हाम्रालागि आफैमा फरक कुरा हो । अन्य विकसित मुलुकहरू युरोप होस् या अमेरिका – यति ढुक्कले हिँड्न बस्न मिल्ने शहर भेटिँदैन । कहीँ न कहीँ, कुनै न कुनै प्रकारका अपराधहरू भइरहेकै हुन्छन् । चोरी होला, कसैले फुत्त तानेर लगिदेला भनेर कतिपय शहरमा महिलाहरूले ब्याग पनि अगाडि बोकेर, च्यापेर हिँडेको देखिन्छ । तर, अबुधावीमा ब्यागको चेन खुल्लै राखेर हिँड्दा पनि कसैलाई केही मतलव नै छैन ! पर्स या कुनै पनि सामान चोरी हुने कुनै सम्भावना छैन । आफूलाई हरेक तरहबाट सय प्रतिशत सुरक्षित महसूस गर्नु भनेको के हो भनेर थाहा पाउन पनि एकपल्ट अबुधावी पुग्नुपर्छ ।

कानूनको कडा कार्यान्वयन कति ठुलो कुरा हो भन्ने उदाहरण अबुधावीको सुरक्षा ब्यवस्था हो । नत्र मान्छेको प्रकृति र प्रवृत्ति त सबैतिर करिब-करिब उस्तै-उस्तै हो । दुबई अबुधावीतिर लामै समय बिताएर यता आएका मानिसहरूमा त्यो स्तरको अनुशासन देख्न पाइन्छ नै भन्ने निश्चित छैन । मान्छे भन्दा पनि त्याहाँको सिस्टम र कानूनको कार्यान्वयनले त्यो सब सम्भव भएको हो भन्न सकिन्छ । कुनै पनि अपराधमा शून्य सहिष्णुताको नीति अपनाएकै कारणले अहिले अबुधावी अपराध शून्य मुलुक बन्न पुगेको हो । दुबई र अबुधावी मात्र नभएर पूरै युएइ सुरक्षित भूगोलमा मानिन्छ । आइसल्याण्डपछि विश्वको सबैभन्दा सुरक्षित मुलुक युएइ हो ।

दिन-प्रतिदिन हाम्रा दक्ष र दक्ष हुन बाँकी सबै प्रकारका मानिसहरू विदेशिइरहेका छन् । युएइका अस्पतालहरू नेपाली डाक्टर र नर्सहरूले भरिँदैछन् । ठुला-साना सबै प्रकारका होटेलमा सुरक्षा गार्डदेखि खाना बनाउने सेफ हुँदै म्यानेजरसम्म नेपालीहरू छन् । संरचना निर्माणमा ठुलो सङ्ख्या नेपालीको छ । संरचनाहरू बनिरहेका, विभिन्न देशमा मानिसहरूको गन्तब्य स्थल बन्दै गएकाले होला- दक्षताअनुसारको काम पाइहाल्ने । काममा जब मानिस ब्यस्त हुन्छ, उसले दायाँबायाँ खासै सोच्न पाउँदैन । हामीकहाँ त्यस्तो दिन कहिले आउला ?

दुबई जाँदै हुनुहुन्छ ?

नेपालीहरूले विगतमा सहजरूपमा जाने-आउने गर्दै आएको युएइको भिसामा अहिले कडाई भएको छ । दुबई जाने त हो, अबुधावीसम्म त हो नि भनेर भिसा नलिइ अन्तिम समयमा लिँदा यो पङ्क्तिकारलाई नसोचेको अवस्था आइलागेको थियो । विगतमा युएइको राजदुताबासबाट दिने गरेको भिसा अहिले सर्बसाधारणलाई बन्द गरिएको रहेछ । राजदुतावासले अफिसियल भिजिटका लागि मात्रै भिसा दिने गरेको र अरुले यात्रा गर्दा ट्राभल एजेन्सीमार्फत भिसा लाउनुपर्ने बुझेपछि सोहीअनुरुप गर्दा थाहा भयो- धेरैको भिसा रद्द हुनेगरेको रहेछ ।

खासमा नेपालका सीमित ट्राभल एजेन्सीको मात्र स्वीकृत हुने रहेछ तर भइहाल्छ कि हेरौँ न त भनेर ‘अप्लाइ’ गर्नेहरूको कागज-पत्र नै नहेरी ‘रिजेक्ट’ भएको पनि पाइयो । जानकारीको अभावमा मानिसहरूले ट्राभल एजेन्सीहरूमार्फत गर्ने र भिसा रिजेक्ट भएपनि निराश हुनेहरूको संख्या बढ्दो छ । दुबई जानका लागि भिसा अप्लाइ गर्दा १२ हजार दुई सय तिर्नुपर्ने, रद्द भएपछि त्यो पैसा फिर्ता नहुने हुँदा धेरैको थाहै नपाइ पैसा खेर गइरहेको छ । विदेश घुम्न जानुपर्दा नेपालीहरूका लागि दुबई भिसाको हिसाबले सहज गन्तब्य थियो, अब त्यो पनि रहेन । युएइ जाँदा कुन ट्राभल एजेन्सीमार्फत जाँदा भिसा लागिरहेको छ राम्ररी बुझेर मात्रै भिसा अप्लाइ गर्नुपर्ने रहेछ ।

भिसा र आवश्यक सबै डकुमेन्ट हुँदाहुँदै पनि एयरपोर्टको अध्यागमनमा मानिसहरू रोकेको देखियो । अचम्म त के भने केही समय रोकिएपछि कर्मचारीलाई पैसा दिएर उड्न पाएको पनि भेटियो । सेटिङ्गमा मानिसहरू पठाउने, सेटिङ्गमा नाम नपर्ने, अलि सोझा जस्ता मानिसलाई अनेक बाहानामा रोक्ने र अन्तिममा पैसा तिरेर उडाउने घटनाहरू बढिरहेका छन् । सम्बन्धित पक्षले यसमा निगरानी नगर्ने हो भने ‘आ… भइहाल्यो…’ भनेर यात्रा गर्ने अहिलेको पुस्ता चुपचाप बस्ला जस्तो लाग्दैन, बस्न हुँदैन । भिसाको दुःख एकातिर भिसा भइसकेकाले पनि एयरपोर्टमा झेल्नुपर्ने दुःख अर्कोतिर । सबै डकुमेन्ट साथमा हुँदाहुँदै पनि इमिग्रसनमा ‘यहाँ बस्दै गर्नु’ भनेपछि यात्रा गर्ने मान्छे त्यसै आत्तिने रहेछ, परिणामतः ‘बरु अलि-अलि पैसा दिएरै भएपनि जान्छु, प्लेन त छुटाउनु भएन’ भन्ने अवस्थामा पुग्ने रहेछ । यस्तो अवस्था भोग्नेहरू उता गएपछि यस्तोसम्म भयो भनेर अहिले कुरामा सीमित छन् तर यस्तै अवस्था कायम रहे कुरामा मात्रै सीमित रहन्छन् भन्ने लाग्दैन, रहनु पनि हुँदैन । एयरपोर्ट अधिकारीहरूले यो विषयलाई गम्भीर रूपमा लिउन् ।