उत्तर कोरियाको युद्धपोत प्रक्षेपणमा ‘गम्भीर’ दुर्घटना

उत्तर कोरियाको युद्धपोत प्रक्षेपणमा ‘गम्भीर’ दुर्घटना


उत्तर कोरियाको नयाँ नौसैनिक विध्वंसकको प्रक्षेपण समारोहमा ठूलो दुर्घटना भएको त्यहाँको सरकारी मिडियाले बिहीबार (मे २२) रिपोर्ट गरेको छ । उत्तर कोरियाली नेता किम जोङ उनले उक्त दुर्घटनालाई ‘आपराधिक कार्य’ भनेका छन् ।

बुधबार पूर्वी बन्दरगाह शहर चोङजिनमा पाँच हजार टनको नयाँ जहाज प्रक्षेपण गर्ने समारोहमा ‘एउटा गम्भीर दुर्घटना भएको’ आधिकारिक कोरियन सेन्ट्रल न्युज एजेन्सी (केसिएनए)ले जनाएको छ ।

दक्षिण कोरियाको सेनाले उत्तर कोरियाले बिहीबार ‘धेरैवटा अज्ञात क्रुज मिसाइलहरू’ पनि प्रहार गरेको बताएको छ, जुन उत्तरको दक्षिण हाम्ग्योङ प्रान्तनजिकै जापान सागर पनि भनिने ‘पूर्वी सागरतिर प्रहार’ गरिएपछि पत्ता लागेको थियो ।

किमले अवलोकन गरेको विध्वंसकको असफल प्रक्षेपणका लागि ‘अनुभवहीन कमान्ड र परिचालन लापरवाही’लाई दोष दिँदै केसिएनएले त्यहाँ एउटा दुर्घटना भएको र ‘युद्धपोतको तल्लो भागका केही भागहरू कुच्चिएको’ बताएको छ ।

किमले पूरै घटना हेरे र ‘यो सहन सकिँदैन’ भन्ने चेतावनी दिँदै यसलाई ‘पूर्ण लापरवाहीका कारण भएको आपराधिक कार्य’ घोषणा गरे । उनले जिम्मेवार अधिकारीहरूको ‘गैरजिम्मेवार गल्तीहरू’ अर्को महिना बोलाइने पार्टी केन्द्रीय समितिको पूर्ण बैठकमा सम्बोधन गरिने बताए ।

दक्षिण कोरियाको सेनाले अमेरिका र सियोलका गुप्तचर अधिकारीहरूले उत्तर कोरियाको जहाजको ‘साइड–लन्च प्रयास’ असफल भएको अनुमान गरेको जनाएका छन् । ‘यस मामिलामा प्रयोग गरिएको साइड–लन्च विधि अब दक्षिण कोरियाको सेनाले प्रयोग गर्दैन’, ज्वाइन्ट चिफ्स अफ स्टाफका प्रवक्ता ली सुङ–जुनले पत्रकारहरूलाई भनेका छन् ।

लीका अनुसार हाल सो जहाज पानीमा ढलिरहेको छ । यसको आकार र मापनका आधारमा यो पाँच हजार टन विध्वंसक-वर्गको युद्धपोत चो ह्योनसँग मिल्दोजुल्दो छ भन्ने विश्वास गरिन्छ । चो ह्योन उत्तर कोरियाले गत महिना सार्वजनिक गरेको थियो ।

गत महिना प्योङयाङको सरकारी मिडियाले किम आफ्नी छोरी जु एइसँग चो ह्योनको उद्घाटन समारोहमा सहभागी भएको तस्बिर सार्वजनिक गरेको थियो । जु एइलाई धेरै विज्ञले किमको सम्भावित उत्तराधिकारी मानेका थिए ।

उत्तर कोरियाले उक्त जहाज ‘सबैभन्दा शक्तिशाली हतियार’ले सुसज्जित रहेको र यो ‘अर्को वर्षको सुरुमा सञ्चालनमा आउने’ दाबी गरेको छ । केही विश्लेषकले जहाज आणविक हतियार बोक्न सक्षम छोटो दूरीको सामरिक मिसाइलहरूले सुसज्जित हुनसक्ने बताएका छन् ।