हिमालयको झल्का पसेको शब्द

हिमालयको झल्का पसेको शब्द


श्री सरस्वतै नमोनम : । श्री गणेशाय नमोनम : । आमाजस्ती गुनिली यो दुनियाँमा को हुन्छ र ? बाऊले काँध थापेकै  हुन्; किन दोष थोपर्नुपरो र ? मुलुक बेहुली अन्माएको घरजस्तो । गाँडतन्त्र भाँडतन्त्र भो; मुखिया कानमा तेल हालेर बस्दो ; प्रतिगमन प्रतिगमन भनेर चिच्याउँदो । धुन्धुकारीहरूको बढोत्तरी । अल्छिपाटे पहार ताप्दो । निरोहरू हिरो; बुद्धिमा किरो । चुनाउपिच्छे खण्डहर बनेका हाम्रा सपनाहरू । फ्याउराहरूले झुक्याएका झुक्यायै । नारायणीमा धेरै पानी बगिसक्यो तैपनि हाम्रो हविगत उस्ताकोउस्तै । विदीर्ण कर्णालीको चित्कार अरण्यरोदन हुँदो ।

नेताले गर्दा हामी काँढाका झ्याङमा अलमलिएका चराझैं रङमङिएका छौं । गुराँस र सुनगाभा फुल्ने हाम्रो देश विध्वसिंत जीवन बाँच्दो ! नेता चाना पखालेको जस्तो कुरो गर्छ । चूक घोप्ट्याएजस्तो अँधेरो निराशाहरू; झरीका भोलिपल्टको घामजस्तो स्मृति बनेर आइदिए हुन्थ्यो नि । झरेका सपनाका पातहरूमा टेकेर नेपाली परदेशिंदो । डाँडाको बताससरि उड्दो छ मेरो मन । छोप्राकीले फूलपाती हेरेझैं केही हुन्छ किको आसमा जिन्दगानी ।

पम्फाको फूलजस्तो कोमल हृदय भएका हामी निर्दयी भइदिंदा जगत उदासीन । मान्छे पृथ्वीजस्तो सहनशील हुनसक्या खोइ ? मुलुकवासीको हाल पोल्दापोल्दै उछिट्टिएको माछोजस्तो ! प्रीतिका आँखामा छचल्किएको आँसु पो आँसु । धेरै मान्छेहरू भँगालाले खाएको मन बोकेर हिँड्दा । बयलपाटाको पीपलको पातजस्तो नाचिरहने बैंसको के काम ? भन्ज्याङहरूमा बास बसेका कति मीठा सपनाहरू ?! विरान बस्तीलाई रुवाइदिउँ जस्तो लाग्छ पो । मरेको बिरालो काखी च्यापेर ठिमीतिर हिँडेजस्तो चाल । रगतबाट निस्केका अभिव्यक्तिहरू फगत् निष्काम भैदिए । बाटामा भेटिएकी पुतलीको फिरफिरे माया कहीनसक्नुको । रिकापीमा सिमीको बोट उम्रन नसकेझैं भुटिभाङ विकास हुन सकेन – भुँडीको विकासचैं भयो है । रुखले पात फेरेझैं सिद्धान्त फेरिरहने अगुवा/पछुवा छन् । 

लामा-लामा कामनाको सुरेली खेलेको त कामै लागेन नि । नेपालीको हृदय सगरमाथाजस्तो उच्च थियो; द्रव्यभोकले अहिले होचिएको छ । नेताले चुनाउमा हाम्लाई लोरीको सुरमा निदाउने नानी बनाउँदो । साँढेजस्ता मिचाहा कुमेकी भएसि कसको के लाग्छ ? साउनमा आँखा फुटेको डिंगोले सधैं हरियो देखेझैं भ्रष्टाचारीले भ्रष्टाचारको छिद्र कति  देखेको देखेको । सेतीको गडुवाझैं पीर गड्दो छ । वैचारिक टकराउले आँखाको कसिङ्गर हुनुपर्ने ।

हँसिला मिजासिला नेपाली । सेता हिमाल । बहुसांस्कृतिक समाज । ऐंचोपैंचो परम्परा । सीता – भृकुटी – बुद्धको जन्मथलो । हरियो वन । छङछङाउने झरना । गुराँसैगुराँस । लहलहाउँदो बाली । चहचहाउँदो चराचुरुङ्गी । अपूर्वी गैंडा हात्ती ।

धेरै अघिको कुरो हो । अकबरले बीरबललाई दिल्ली शहरमा कति मूर्ख छन् भनेर सोधेछन् । यसको प्रत्युत्तरमा बीरबलले भनेछन्, ‘भोलि चोकमा आउनोस्; त्यसपछि यसको छिनोफानो  हुनेछ । ‘भोलिपल्ट बिहानैदेखि चोकमा बसेर बीरबल केही नबोली डोरी बाट्न थाल्छन्  । उनीले के गर्दैछौ ? बीरबल भनेर प्रश्न सोध्ने मान्छेको नाउँ मूर्खको लिष्टमा लेख्नु भनेर आफ्नो मुनिफलाई अह्राएका हुन्छन् । त्यहाँ मान्छे आउने जाने उपक्रम दिनभरि नै जारी रह्यो । साँझ परेसि बीरबलले मुनिफसित लिष्ट लिएर घरतिर लागे । अनि भोलिपल्ट खाना खाइवरी राजमहलतर्फ लम्किए । उन्ले त्यो लिष्ट सम्राट अकबरलाई देखाए । लिष्ट हेरेसि अकबरले बीरबललाई हकारे , ‘मेरो नाम किन मूर्खको लिष्टको १ नम्बरमा ?’ बीरबल उत्तराए , ‘डोरी बाटेको देख्दादेख्दै के गरेको भनेर प्रश्न सोध्ने मूर्ख नभए अरू को होला ? यस शहरमा तपाईं जस्ता पाँच हजार मूर्खहरू छन् ।’ यत्ति भनेसि अकबर नाजवाफ रहे । सुदामाको तन्डुल बिसाएँ है । बाउसे सकियो । आजलाई मैजारो ।अस्तु !