‘प्रधानमन्त्री’ पद साँच्चै ‘यदुकुल विनाशक मुस्ली’मा रूपान्तर नहोस् !

‘प्रधानमन्त्री’ पद साँच्चै ‘यदुकुल विनाशक मुस्ली’मा रूपान्तर नहोस् !


बितिरहेको अठार वर्षयता देश र राजनीतिक पक्ष-विपक्षलाई समान देखीजान्ने निरीह-अनविज्ञ प्राकृतस्तरका नेपाली नै राज्यका चालक (तीन दल विशेष) को आलोपालो दलनमा छन् । सुख भयो भनेर खुशी हुन नपाए पनि, विशेषतः संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाको निष्कर्षदायी संघर्षमा हतियार बनेर परिवर्तनको मसाल उछालेका उनीहरू आज, बांगलादेश र श्रीलंका वा इथियोपिया र रुआण्डाका खालीखुट्टे नागरिकस्तरमै चाहिँ नपुगेकामा खुशी होलान् । यो स्थिति त ‘कानो मामा निको’ उखानको स्थिति न हो ।

अर्थात्, गणतन्त्र स्थापना-सन्दर्भको शुरुवातदेखि उत्कर्षकालसम्मका नाटकीय संवादरूपी प्रतिबद्धता र कर्णमधुर वाचाहरू जे-जे थिए, ती प्रायः सबै, यसै गणतन्त्र नामको रजगजकालमा रुग्ण-विदीर्ण देश र देशवासीलाई चाहिँ भोग्न दिइएको छैन ! धनबल वा सप्तरंगी छलछामका बलमा शासक-मण्डलमा ब्रह्मासन जमाउन पुगेकाहरूदेखि तिनकै ‘हनुमान-चालिसा’बाट उपकृत भई ‘खुट्टोसम्म टेक्न पाएका हिजोका बबुराहरू’सम्मलाई समेत, ‘खाँदो-ओकल्दो’ अटाइ-नअटाइ नै छ । र, उनीहरू नै, उल्लिखित मण्डल बाहिर हेपिइरहेका असी-पचासी प्रतिशत कष्टपूर्ण भूइँ तहका जनगणलाई गणतन्त्रको ‘यथार्थ-बिलोम सौन्दर्य’कोे बखानले लठ्याउने प्रयत्न गरिरहेका छन् !

कत्र्तव्य निर्वहनको हकमा सामान्य अभिभावकीय उकाससम्म नदिएर पछौटे, अवोध र निरीह राखिएका सनातनी नागरिकलाई देशको संविधान र परिभाषामा सम्पृक्त चाहिँ राखिराखेर शासक-मण्डलले आफ्नो एकाधिपत्यको वर्चश्व अकण्टक राख्ने स्वार्थारूढ अभ्यासलाई सबल बनाउँदै लगिरहेका छन् । अघिल्लो शताब्दीको उत्तरार्द्धमा सम्पूर्ण विश्वसमाजमै चरम दुष्चर्चित इथियोपिया, रुमानिया, रुआण्डा, युगाण्डा आदि देशमा पनि केही दशक यस्तै कालो बादल थियो भनेर इतिहासका काला अक्षरहरूमा जीवन्त छन् ।

यो कण्टकाकीर्ण नेपाली वर्तमानको मूर्त वा सरल बोधगम्य चित्र बनाएर आँक्न अब दुःसाध्य नै भइसकेको छ ! बाटो बन्नु आफै विकास होइन, त्यो त विकासको पूर्वाधार मात्र हो । देशका सर्वसाधारण नागरिक बिलखबन्द छन् र देशवासी मातृभूमिको अघोषित भग्नावस्थामा सर्वाधिक पीडित छन् ! किनभने, आजसम्म स्थापित लोकतन्त्रको परिभाषामा बनेका कहीँका र कुनै पनि भाष्य आजको नेपाली ‘लोकतान्त्रिक गणतन्त्र’को अभ्यास लोकअनुभूति बमोजिम छैन । यो व्यवस्था ‘द्रव्य समूह’को कब्जामा छ र त्यो समूहको भ्रष्ट चलखेल पनि मूर्तभन्दा बढी अमूर्त नै होलान् ।

सत्ताको र सत्ताको दलालीमा रहेका दलहरूको ‘सत्ताकै लाभ’लक्षित झगडा, कर्कर, खिचातानी, एकार्काका इज्जत कोराकोर र एकार्काका मन-चोराचोरको एकीकृत कचेडे अनुहारहरू महाभारत-कथामा वर्णित यदुकुल विनाशक ‘मुस्ली’को कथासँग मिल्दोजुल्दो बन्दै गएको देखिनुलाई ‘दृष्टिदोष’को आरोपले डामेर दण्डित गर्नु थप घनघोर अपराध नै हुने छ । तर, त्यही अपराध गुज्रिरहेको दशकको अहोरात्र पिरोल्ने नियति बनेको छ !

समग्रमा, ‘भ्रष्टाचार’ यसबेला, उपल्ला-तल्ला शासकीय शिविरहरूमा खण्डित,‘विशाल नेपाल’का कित्ता-कान्लाहरूमा आकर्षक र दूधालु गाईको प्रतीक बनिरहेको छ, जसलाई दुहेर खाने ‘लाभको स्थान’ प्राप्तिको रिले दौडमा, विशेषतः धनबलले साटेको वा छलबलले झुक्याइएको जनमतले बलिया तीन दलमा अग्राधिकार निहीत छ । मेलो मिल्नासाथ ती एकै ठाउँ झुरुम्म झ्यामिन्छन् र एकार्काका दुष्कर्म र पाखण्ड तथा एकले अर्काे हन्जाका खतुकी अनुहार बिर्सिएको अभिनय गरी, सहयोगी बनेको निउँमा, आ-आफ्ना दुनो सोझ्याउने गर्दै आएका छन् ! स्वार्थ बाझिनासाथ फेरि एकार्का तिघ्रा ठटाएर ‘लोकतान्त्रिक गणतन्त्र’को सौष्ठव फलानाले नष्ट गर्दैछ भनेर निमुखा जनताका कान थोत्र्याउन उद्यत हुन्छन् ।… र, यस्तो घिनलाग्दो क्रियाकलापको पोल खुल्ने आवाज गर्जियो भने त्यो गर्जनशीलको इमानदारीलाई कानूनका नौको नोवै सिङले तह लाउने गर्दै फेरि ‘गणतन्त्रको सुन्दरता’लाई छारो बनाई राष्ट्रिय/अन्तर्राष्ट्रिय वृत्तहरूमा प्रक्षेपण गरेर आफू ओभानो भएको कृत्रिम आत्मानुभूतिले स्वयम् धन्य हुने गर्छन्। अतः यही भइरहेको छ अहिले देशमा !

शासक-मण्डलमा आलिङ्गित तीन ठूला मानिने दलको आपसी रँगेलो समग्रमा जो उनीहरूले नै ‘महदार चाका’मा रूपान्तर गरेको ‘प्रधानमन्त्री’ पदका लागि चलिरहेको मरिहत्ते रहेछ भन्ने सो पदको समयावधि भागबण्डाले उत्पन्न गराइरहेका तरोताजा अपूर्व दुर्भाग्यपूर्ण दृश्यहरूमै उद्भाषित छँदैछन् ! देशको सकुशल र अकुण्ठित अस्तित्वको भविता र ‘लोकतान्त्रिक गणतन्त्र’का प्रति अभ्यन्तरबाटै अनुरागी ‘नेपाली लोक’को वर्तमान संदिग्धताका सयौं त के, हजारौं कारक घटनाहरू शायद प्रधानमन्त्री पद र त्यसमा यो गणतन्त्रोत्तर जम्ने गर्दै आएको ‘चास्नी’को भोक र लालसा नै रहेछ भनेर बुझ्नुको के विकल्प छ त अहिले ?

त्यसकारण, महाभारतको एक सर्गमा वर्णित हस्तिनापुरमा भएको यदुकुल विनाशको मूल सूत्रधार एउटा ‘फलामको मुस्ली (मुसल)’ भएजस्तै यो देशको परिभाषामा सम्पृक्त सम्पूर्ण अवयवको विनाश गर्ने तत्वको रूपमा ‘प्रधानमन्त्री पद’ तानातानको कहालीलाग्दो भविष्य देखाउने पूर्वाभासले देशभक्त नेपालीको चेतना आतंकित हुन थालेको छ । र, आज ‘प्रधानमन्त्री’ पदलाई अत्याज्य सम्पत्तिको रूपमा मुठ्याइराख्ने ध्याउन्नमा निर्लिप्त हुन् वा त्यो पद हत्याउन जस्तोसुकै अकर्मको अपराध शिरमा बोक्न तत्पर गतिविधिमा संलग्नहरू नै किन नहुन्, दुबैथरिलाई एउटै डालोमा हालेर भन्नुपर्दा हाम्रो देशको ‘प्रधानमन्त्री’ पद, जसबाट र जो हात पार्ने लोभका कारण नहुने वा नहुन पर्ने हुँदैछ, हुन पर्ने हुँदै छैन । यसो हुनुले मौजूदा ‘संघीय लोकतान्त्रिक गणतन्त्र’को जीवनलाई त नित्य दुर्घटनाको त्रासमा राखिराखेकै छ, देश र देशवासीलाई पनि तर्छाइरहेको छ । जस्तो – महाभारतकामा यदुकुलका लागि एउटा जाबो ‘फलामे मुस्ली’ सम्पूर्ण कुलकै विनाशको कारक बनेको थियो !

यसलाई अर्काेतिरबाट चेवा गरिहेर्दा पनि मिल्दोजुल्दो नै ठहर्छ । महाभारतकालमा हस्तिनापुर राज्यका निम्ति युद्ध भएको थियो भने आजको नेपालमा ‘नेपाल राष्ट्र’को जोतभोग आफ्नो एकाधिकार अधिनमा राख्ने अभीष्टप्राप्तिको युद्ध छ । महाभारतको सम्पूर्ण युद्ध एक्लै ‘बर्बरी’ले मात्र देखेका थिए भने नेपालको हाल नारिइरहेको परोक्ष युद्धको त लाखौं आधुनिक स्वयम् भुक्तभोगी र प्रत्यक्षदर्शी ‘बर्बरीहरू’ छन् । आधुनिक यी बर्बरीहरूले त झन् – के कारणले, कुन र कस्तो परिस्थितिमा आजको अघोषित युद्धले कुन गन्तव्य तय गर्दैछ आदि सप्रमाण बखानेर युद्धका पात्र-पात्रालाई नै जिल्ल्याउन पनि सक्ने छन्, जसरी महाभारत-कथामा पाँच पाण्डव, कुन्ती र द्रौपदीहरूलाई ‘बर्बरी’ले जिल्ल्याएका थिए ।

अर्थात्, विश्वका अनेक देशमा भएका ठूल्ठूला परिवर्तनहरूलाई तिनका नेता-अगुवाहरूले लक्ष्यविपरीत निजी स्वार्थतिर मोडेर लग्दाका परिणामस्वरूप नै इतिहास दोहोरिएका नजिरहरू छन् । ती नजिरहरू राम्ररी निरुपित भएरै यसबेला नेपालीले सडकमा उरालिरहेका विकल्पलक्षित चर्का आवाज स्वाभाविकै ठहर हुँदैछन् । अन्यथा, मौजूदा शासक-मण्डलमा आफूलाई सुधार्ने चेतना अवश्यै जाग्रत हुने थियो ।

होइन, भागभोगको झगडामा सो मुखिया पदलाई महाभारतकालीन यदुकुल विनाशको कथामा सम्पृक्त ‘मुस्ली’ बनाइराख्ने दुर्मति पालिराखेर देश र देशवासीका निम्ति उस्तै ‘मुस्ली’ भइराख्या छन् । यदि यो ‘लोकतान्त्रिक गणतन्त्र’को सौष्ठवलाई स्वार्थका नंग्राले कोतरिरहने-दर्फराइरहने मुस्ली या ओख्ली भई रहने नै हो भने त ‘भीरबाट लड्न लागेको गोरुलाई राम-राम भन्न सकिन्छ, काँध हाल्न सकिन्न’ भन्ने चर्चित उखानमाफिक नै हुन जान्छ ! र, अहिले देशमा उखान-बखानकै खेती सप्रँदो छ ! बस्… आजलाई यत्ति नै !