‘गणतन्त्र’को उल्टो गति : मूर्त मूल्य गुमाउँदै शासकीय मति !

‘गणतन्त्र’को उल्टो गति : मूर्त मूल्य गुमाउँदै शासकीय मति !


यस भू-खण्डका जम्मा ४६ देशहरूमध्ये नागरिकबाट सबभन्दा बढी शीर्षकीय कर उठाउने हाम्रै नेपाल हो भनेर तत्सम्बन्धी जानकारहरू भन्छन् । उनीहरूका अनुसार, करको जम्मा उठ्तीको लगभग ८५ प्रतिशत चालू खर्च (तलब, भत्ता, सुविधा, भ्रमण, मसलन्द इत्यादि)मा जाने गरेर बढीमा १५ प्रतिशत मात्र जनआवश्यकताका काम (विभिन्न योजना)मा लगाइने गरिँदो रहेछ । त्यसो भए, अहिले देशको उपल्लो दुत्कृतिमा निफन्निरहेको ‘नीतिगत भ्रष्टाचार’को विषय उठानमा परोक्षतः त्यही १५ प्रतिशतको भित्र्यांश चिथरिएका घिनौला घटनाहरूप्रतिको आक्रोश निहीत छ त ?

मूलतः शासक र शासित दुई खण्डमा विभक्त आजको नेपाली समाजमा शासक खण्डकाहरूलाई यो यथार्थको भलिभाँती जानकारी त होला नि ? र, त्यसबाट जोगिन उनीहरूले भ्रष्टाचारका गौंडाहरूमा तल-वितल नहोस् भनेर ‘संविधानको सौन्दर्य’लाई राजनीतिको ढाल बनाइरहेका हुन् त ?- जस्ता सवालहरू भ्रष्टाचारसँग कुनै नाता नभएका मैदानी नागरिकमा उम्दा बन्दै गएका हुन् । सत्ताको रजगज भन्नु नै त्यसको अंकुशमुक्त स्वेच्छाचारी दोहन र धित मरुञ्जेल भोगचलन हो । त्यसकारण समय-समयमा चर्किने परिवर्तनमुखी आन्दोलनको हल्ला समन-दमनका हत्कण्डा अपनाउन शासकहरू उद्यत भइहाल्ने गरेका हुनन् – चाहे त्यस्ता हल्लाहङ्गामा सतही हुन् कि बलियै पनि किन नहुन् !

नागरिकले गाँस काटेर तिरेका करले उपर्युक्त राष्ट्रिय तिजोरीको ८५ प्रतिशत मा गत्तिलै हिस्सा ओगटेको हुन सक्छ । तर, कर संकलित भकारीबाट तलब-भत्ता-सुविधा भोग्ने उपल्ला मान्छेहरूमध्ये कतिलाई फोटोसम्ममा पनि करदमध्ये कतिले देखेका होलान् र कति करदले मात्र सशरीर भेट्न-चिन्न पाएका होलान् ?- यो प्रश्नलाई हाम्रो मौजूदा संघीय लोकतान्त्रिक गणतन्त्रको मूर्त स्वरूपको अमूर्त चित्र माने हुन्छ ।

संघीय लोकतन्त्रमा संसद् र सांसदहरू नागरिक सरोकारका विषयका प्रति जवाफदेही हुनु मूल उत्तरदायित्व र निर्विकल्प कर्तव्य हो । तर, अधिक-अधिकांश सांसदहरू अहिले सम्बन्धित दलका, झोले-चम्चे झैं, पक्षपोषणमा बफादार देखिने गरेका छन् । जनमतले ठूला मानिने दलकाहरू त झन व्यक्तिगत लाभको दलालीमा अर्घेल्याइँ मच्चाउनु र आफ्नो दुनो सोझ्याउनुमै तलब-भत्ता-सुविधा डकारिरहेर समय अपव्यय गरिरहेका देखिन्छन् ।

देशले लगभग २७ खर्ब रूपैयाँ ऋणको भार बोकिरहेको छ । यस्तो समय-सालमा, जीवन-व्यवहार चलाउने उपायका लागि विदेशिन बाध्य नेपालीद्वारा पोषित मासिक घटीमा ८ खर्ब रूपैयाँ रेमिट्यान्सको बलियो सहयोग भित्रिरहँदा पनि खर्च धान्न धौ-धौ परेको बिलौना गाइँदैछ । र, त्यसैकारण शायद, रेमिट्यान्स-पोषक जनशक्ति बढाउन आवश्यक ठानिएरै होला, बिचौलियालाई उपयोग गर्नमा कुशल र भ्रष्टाचार-प्रवीण  कर्मचारी छानेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल जस्ता मलिला अड्डा-गौंडामा स्थापित गरी, अरू त अरू, मान्छे निकासी (बिक्री/तस्करी ?) गर्ने दुष्कर्म  गरिनेसम्मको दुःस्साहस पनि हुँदैछ ।

यद्यपि, यो भ्रष्टाचारी धन्धाको शुरुवात हिजोआज भएको होइन, जो प्रजातन्त्रोत्तर लगत्तै उम्रिएको सियो छिप्पिएर आज फाली बनेको हो । अतः घुसको दर कायम गरेर ‘भिजिट भिसा’ थमाउँदै थप श्रमशील पाखुरे नेपालीलाई घुस-राशीको भारबमोजिम राम्रा-नराम्रा देशतिर गलहत्याइँदैछ । यस्ता दुष्कर्ममा स्वयम् संघीय गृहमन्त्रीलाई नै अग्रसर गराइएको चर्चा पछिल्लो प्रकरणमा उधुमै तातो रूपमा चर्चित छँदैछ । सो ‘भिजिट भिसा’को दलालीबाट दैनिक औसत ५० लाख रूपैयाँ अवैध असुली भइरहेको कलबिख तीतो चर्चाले सचेत-स्वाभिमानी नेपालीलाई अघोर शर्मिन्दा बनाइरहेको छ ।

हालै मात्र प्रधानमन्त्री ओलीकै अध्यक्षतामा ‘उच्चस्तरीय सुशासन’-को ताज पहिराइएको आयोग नामको ‘आफ्नै-आफ्नाको झुण्ड’ गठन गरिएको थियो । सुख-समृद्धि र सुशासनको ढ्यांग्रो चकिलो आवाजमा ठोकिरहेको समयमा ओली र उनकै नेतृत्वको एकाधिपत्य स्वरूपको सरकारले यो तमाशे आयोग पनि गठन गरेको हो । यो आयोग वस्तुतः ‘चपाउने दाँत’ छोपेर जन-नजरमा छारो हान्ने कुटिलताको अर्को संस्करण थियो । रौतहटको कांग्रेसी सांसद आफ्ताब आलम जस्तो, जिउँदो मान्छे इँटाभट्टाको आगोमा हालेर जलाउने क्रूर हत्यारालाई आजन्म कैदबाट हालै मुक्त गराइएको घटनाबाट उक्त उच्चस्तरीय सुशासन आयोग पूरै निर्वस्त्र हुन पुगेको मात्र होइन; लोकतान्त्रिक स्वतन्त्रताको सफासफी दुरूपयोगबारे आँकिएको अमूर्त चित्र नै बनेको छ ।

यसै सेराफेरोमा राजामार्गीहरूले संविधानको किताबमा ‘लोकतान्त्रिक गणतन्त्र’ भनिएको र अभ्यासमा नेतातान्त्रिक वा दलतान्त्रिक तानाशाही रहेको व्यवस्थाविरुद्ध आन्दोलन शुरु गरेका छन्, जसलाई तानाशाही ढबकै तिखा नंग्राले निष्तेज पार्ने उद्घोषसम्म भएको थियो ! यो पनि यो ‘लोकतान्त्रिक गणतन्त्र’प्रदत्त शक्ति र अधिकारको ठाडो दुरूपयोग नै हो । किनभने, लोकतान्त्रिक देशको कार्यकारी प्रधानमन्त्रीको मर्यादाविपरीत आफ्नो दलीय गिरोहलाई अह्राउँदै, उन्नाइसौं शताब्दीको जिमिदारले आफूद्वारा उपकृत रैती-करिया राखेका अनुयायीका लागि जारी गरेको अकाट्य फर्मान जस्तै, उक्त दिन राजधानी कब्जा गर्न अह्राएका थिए ! तर, चौतर्फी र चर्को विरोध भएर हो वा दम नपुगेर, नाकका पोरा फुलाएर जारी गरेको उक्त हुकुम-फर्मान ऐन मौकामा स्वयम् ङिच्च पऱ्यो । र, ‘म’ जे सोच्छु-बोल्छु, त्यो लागू हुनैपर्छ भन्ने अहंकारले उन्मत्तिएको ऐजन फर्मान देशभित्रका लोकतन्त्रानुरागीबीच मात्र होइन, देशबाहिर पनि खिसीटिउरीमा परेको विदेशी समाचार माध्यमहरूले कहिरहेकै छन् ।

हुन त सालिन्ने जेठ १५ गते शासक-मण्डलले ठूलो तामझामका साथ राजधानीको टुँडिखेल मैदानमा, आम नागरिकलाई बाहिर तमाशे बनाएर, ‘गणतन्त्र दिवस’ कार्यक्रम गरी स्वयम् धन्य हुने गर्छन् । सर्वसाधारण उत्सुक नागरिकहरू सुरक्षा-घेराको पिठ्यूँतिरबाट डराउँदै सो शासक तप्काले पदीय हुँकार र दम्भ देखाउने-सुनाउने ‘गणतन्त्र दिवस’ चियाउने गर्छन्; फरक यसपल्ट पनि भएन । अर्थात्, नागरिक कित्तालाई यसरी पनि ‘गणतन्त्र’ त शासक बन्न पुगेका र तिनका मातहतका अरौटे-भरौटे मात्रको उपभोग्य-व्यवस्था हो भन्ने भाष्य बनेर जनमनमा अभिधेय अर्थ लाग्न थालेको छ । अतः त्यसैको अमूर्त नाटक मञ्चन हुन सक्छ- टुँलिखेलमा सालिन्ने हुने केन्द्रीय गणतन्त्र दिवस कार्यक्रम ! र, आम नागरिकबीच यस्ता उम्दा र ज्वलन्त प्रसंगहरू अनगिन्ती छन् । तर, बस् आजलाई यत्ति नै ।