पूर्व सभामुखसमेत रहिसकेका माओवादी नेता अग्नि सापकोटाविरुद्ध परेको ज्यान मुद्दासम्बन्धी उजुरीमा सर्वोच्च अदालतले अनुसन्धान गर्न आदेश गरेको छ ।
प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेमी, डा. मनोजकुमार शर्मा र डा. कुमार चुँडालको संवैधानिक इजलासले उत्प्रेषण आदेश जारी गर्दै रोकिएको प्रक्रियामा अनुसन्धान अघि बढाउन आदेश गरेको हो ।
अग्नि सापकोटाविरुद्ध काभ्रेका ४८ वर्षे अर्जुन लामालाई अपहरण गरी हत्या गरेको आरोपमा लामाकी पत्नी पूर्णिमायाले २०६४ सालमा काभ्रे जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दर्ता गरेकी थिइन् ।
सशस्त्र द्वन्द्वकालको मुद्दासँग जोडिएको यस मुद्दामा प्रहरीले जाहेरी दर्ता गर्न नमानेपछि पूर्णिमायाले सर्वोच्चमा रिट निवेदन दायर गरेकी थिइन् । सर्वोच्च अदालतबाट २०६४ फागुन २७ मा पूर्णिमायाको रिट निवेदनमा जाहेरी दर्खास्त दर्ता गरी कानुनबमोजिम अरू कारबाही गर्नु भन्ने आदेश भएको थियो । आदेशको लिखित आउन बाँकी रहेको सर्वोच्च अदालतले जनाएको छ ।
काभ्रेका अर्जुन लामाको हत्याकाण्डमा माओवादी वरिष्ठ नेता एवम् पूर्व सभामुख अग्नि सापकोटामाथि अनुसन्धान हुनुपर्ने मागसहित श्रीमती पूर्णिमाया लामाले १४ वर्षअघि सर्वोच्च अदालतमा दायर गरेको र सोही बेलादेखि सर्वोच्चमा विचाराधीन रिट निवेदनउपर आज (२१ जेठ) बाट सुनुवाइ सुरू भएको छ।
प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत तथा न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, मनोजकुमार शर्मा र कुमार चुडाल रहेको संवैधानिक इजलासमा यो विवाद हेर्दाहेर्दैमा राखिएको थियो ।
पछिल्लोपल्ट यसको सुनुवाइ गत फागुन २८ गते भएको थियो ।
प्रतिक्रिया