नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को पदाधिकारी बैठकले पार्टीका अध्यक्ष माधवकुमार नेपालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट विशेष अदालतमा दायर भएको मुद्दाको कानुनी उपचारमा जाने निर्णय गरेको छ ।
पार्टीअध्यक्ष नेपालको अध्यक्षतामा केन्द्रीय कार्यालयमा बिहीबार बसेको पदाधिकारीको बैठकले पतञ्जली जग्गा प्रकरण मन्त्रिपरिषद्को नीतिगत निर्णय भएकाले आयोगको निर्णयप्रति असहमति जनाउँदै सत्यको पक्षमा दृढ भएर अगाडि बढ्ने प्रतिबद्धता जनाएको हो ।
विगतदेखि नै आफूनेतृत्वको पार्टीलाई कमजोर बनाउन तथा नेताहरूमाथि राजनीतिक प्रतिशोधका प्रयास हुँदै आएकाले निर्णयप्रति नआत्तिन माधव नेपालले आग्रह गरेका बैठकपछि जनाइएको छ । उक्त मुद्दा षड्यन्त्रपूर्ण भएको आरोप लगाउँदै बैठकले कानुनी उपचारमार्फत सत्य उजागर गर्ने र पार्टीपङ्क्तिलाई एकढिक्का रहन निर्देशन दिएको केन्द्रीय प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले बताएका छन् ।
आयोगले पतञ्जलीको जग्गा सट्टापट्टा प्रकरणमा अध्यक्ष नेपालसहित अन्यलाई दोषी ठहर गर्दै रु १८ करोडमाथिको बिगो माग दाबीसहित विशेष अदालतमा मुद्दा दायर गरेको थियो । यसैक्रममा सो पार्टीले कानुनी उपचारका लागि अधिवक्ता तथा कानुनविद्लगायतसँग परामर्श गरेको छ ।
प्रतिक्रिया