- घटना र विचार सम्वाददाता
संसदको सबैभन्दा ठूलो राजनीतिक दल नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा अब तेस्रो कार्यकालका निम्ति निर्वाचित हुन वैधानिक रूपले नै नमिल्ने भएपछि उक्त पदीय जिम्मेवारी कसलाई मिल्नसक्ला भन्ने जिज्ञासा सर्वत्र उत्पन्न भएको छ ।
दुई कार्यकालको वैधानिक ब्यवस्था त नेकपा एमालेमा पनि छ, तर अध्यक्ष केपी शर्मा ओली आफूपछि नेतृत्व लिनसक्ने अर्को कोही नदेखेका कारण तेस्रो पटक पनि आफै अध्यक्ष बन्ने गृहकार्यमा रहनुभएको बुझिन्छ । उहाँ विधान अधिवेशनमार्फत आगामी भदौमा वैधानिक प्रावधान आफ्नो इच्छाअनुरुप बनाउने र आफू प्रधानमन्त्री पदमा रहेकै समयभित्र महाधिवेशन गराएर पुनः अध्यक्ष बन्ने गृहकार्यमा जुट्नुभएको छ । तर, उता देउवा भने तेस्रो कार्यकालका निम्ति इच्छुक देखुनुहुन्न ।
काङ्ग्रेसमा न देउवा पुनः सभापति बन्न खोज्दै हुनुहुन्छ न त कसैले देउवालाई तेस्रो कार्यकालका निम्ति सभापति बनाउनेबारे सोचेकै छन् । तथापि, देउवा पनि आफू प्रधानमन्त्री बनेकै बेला पारेर पार्टीको महाधिवेशन गराउन चाहनुहुन्छ ।
भनिन्छ, देउवा यतिबेला आफ्नो भन्दा पत्नी र छोराको भविष्य निश्चित गर्न चाहनुहुन्छ । त्यसनिम्ति उहाँले एउटा ‘लालबहादुर शास्त्री’को खोजी गरिरहनुभएको बुझ्न सकिन्छ, तर अहिलेसम्म यकिन गर्न सक्नु भएको छैन ।
काङ्ग्रेसमा सभापति पदका दावेदारहरूको पहिलो पङ्क्तिमा उपसभापति पूर्ण बहादुर खड्का, वरिष्ठ नेता डा. शेखर कोइराला, महामन्त्रीहरू विश्वप्रकाश शर्मा र गगन थापा देखिएका छन् । उल्लिखित चारबाहेक नेताहरू डा. शशाङ्क कोइराला, प्रकाशमान सिंह, डा. प्रकाशशरण महत र कृष्णप्रसाद सिटौला सभापतिको उम्मेदवार बन्ने तयारीमा रहनुभएको छ ।
सभापति बन्न सर्वाधिक आक्रामक तवरमा गगन थापा सक्रिय रहेको बुझिन्छ । शेखर कोइरालालाई नेता थापेर महामन्त्री पद हात पार्न सफल गगन थापाले त्यसअघि कृष्ण सिटौलालाई सभापति थापेर महासचिव पदमा उम्मेदवारी दिएको सबैको स्मरणमा छ । महामन्त्री पद हात पारेपछि गगनले बिस्तारै देउवासङ्ग राम्रो सम्बन्ध बनाउने कोसिस गर्दै आएको भएपनि देउवाको मन जित्न कठिन देखिन्छ। सभापतिको दावेदार नेताहरूसङ्गको सहकार्यलाई प्राथमिकता नदिएर थापा देउवासङ्ग निकट बन्न खोज्नुको एकमात्र कारण देउवा आफै अब सभापति बन्नुहुने छैन भन्ने विश्वासका कारणले हो । तर शेखर र सिटौलालाई झैँ सजिलै प्रयोग उपयोग गर्न सकिने ब्यक्तिमा देउवा पर्नुहुन्न । उहाँ गगन जस्तै ‘सेल्फ सेण्ट्रीक’ हुनुहुन्छ र आफ्नो स्वार्थभन्दा बाहिर गएर कहिल्यै सोच्न सक्नुहुन्न । गगनको हातमा एकपटक पार्टी गयो भने कम्तिमा पच्चीस वर्ष अरू कसैले काङ्ग्रेसमा मौका नपाउने सम्भावना देउवाले देख्नुभएको छ ।
महामन्त्री विश्वप्रकाश शर्मालाई झैँ देउवा र अरू कसैलाई मज्जाले प्रयोग–उपयोग गर्न गगन सफल हुने ठानिएको छैन । त्यसैले देउवाले आफ्नो टिमबाट चुनाव जिताउन सकिने भएमा उपसभापति पूर्णबहादुर खड्कालाई नै सभापतिको उम्मेदवार बनाउने प्रबल सम्भावना छ । कदाचित खड्कालाई जिताउन नसक्ने अवस्था देखियो भने देउवाले सभापतिमा डा. शशाङ्क कोइरालालाई अघिसार्न सक्ने देखिन्छ । देउवाको चिन्ता पत्नी आरजु र पुत्र जयवीरमा सीमित र केन्द्रीत रहेको हुँदा जसले आरजु र जयवीरको रक्षा गर्ने विश्वास दिलाउन सक्छ उसैलाई देउवाले सभापतिको उम्मेदवार बनाउनुहुनेछ । त्यसैले उहाँले अहिलेसम्म यसबारे मुख खोल्नुभएको छैन, त्यस्तो समयमा मुख खोल्नुहुनेछ कि त्यसपछि कसैसङ्ग असन्तुष्टि प्रकट गर्ने या खेल्ने समय पाउने छैनन् ।
नेताहरू प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला सभापतिमा चुनाव लड्न बाध्य हुनुहुन्छ । सभापतिभन्दा माथिको पद काङ्ग्रेसमा नभएकोले उहाँहरू सभापतिमै लड्न बाध्य हुनुभएको हो । दुवै नेताहरू एकशय हाराहारी मतको अधिपति बन्ने स्थितिमा रहेकोले दोस्रो चरणको निर्वाचनमा प्रतिष्पर्धा गर्ने दुई मध्ये एकसङ्ग सम्झौता गर्ने र आफ्नो राजनीतिक भविष्य सूरक्षित तुल्याउने ताकमा रहनुभएको देखिन्छ।
डा. शेखर कोइराला सभापतिका लागि स्वभाविक उम्मेदवार हुनुहुन्छ, तर सामान्य अवस्थामा उहाँलाई कसैको साथ मिल्ने देखिदैन । यतिसम्म कि शेखर कोइराला कोइराला परिवारको एकल उम्मेदवार बन्ने स्थिति समेत अहिलेसम्म देखिएको छैन । तथापि शेखर सभापति पदका बलिया उम्मेदवारमध्ये पर्नुहुन्छ। विश्वप्रकाश शर्मा लोकप्रिय युवा नेता मानिनुहुन्छ, तर उहाँ आफैले सभापति बन्ने आकाङ्क्षा जाहेर गर्नुभएको छैन । उहाँलाई गगनको समर्थकका रूपमा लिइन्छ ।
आफै समर्थवान भएर पनि विश्व किन गगन बोक्न तयार हुनुभएको हो भन्ने बुझ्न सकिएको छैन । गगनले आफूपछिको सभापति बनाउने आश्वासन दिएर विश्वलाई लट्ठ्याएको हुनसक्ने अनुमान काङ्ग्रेसका अन्य नेताहरूले गरेका छन् । विश्व आफै सभापति बन्न अग्रसर भएको अवस्थामा सिनियर नेताको समेत उहाँलाई समर्थन मिल्ने विश्वास गरिन्छ । यदि आगामी महाधिवेशनपछिको महाधिवेशन (१६औं) मा सभापति बन्ने लक्ष्य विश्वको हो भनेपनि त्यो सिनियर नेताहरूको टिमबाट मात्र सम्भव देखिन्छ । आफ्नो आवश्यकताअनुरुप ब्यक्तिलाई प्रयोग–उपयोग गर्ने गगनले कदाचित विश्वको समर्थनले सभापति जितेछन् भने पनि जितिसकेपछि विश्व नै गगनको पहिलो सिकार हुनेछन् ।
जे होस्, आगामी महाधिवेशनमा सभापति पदमा चार उम्मेदवार बलिया देखिन्छन् । पूर्णबहादुर खड्का, विश्वप्रकाश शर्मा, शेखर कोइराला र गगन थापा बाहेक डा. शशाङ्क कोइरालाचाहिँ देउवाको समर्थन पाएमा मात्र बलियो बन्नसक्ने स्थितिमा हुनुहुन्छ ।
तीन प्रमुख दलका तीन नेतामध्ये शेरबहादुर देउवा पहिलो त्यस्तो नेता हुनुहुनेछ जसले पार्टी सत्ता सहजै त्याग गर्नुहुनेछ । माओवादी अध्यक्ष प्रचण्ड विगत अठतीस वर्ष दखि पार्टी सत्तामा हुनुहुन्छ भने एमालेका केपी शर्मा ओलीले के गर्नुहुन्छ भन्ने स्पष्ट भैसकेको छैन । तर, पार्टीका एकथरी नेताहरू अर्को कार्यकालका निम्ति पनि केपीलाई उकासिरहेका छन् ।
प्रतिक्रिया