एमालेमा ‘झोले’ र ‘गैरझोले’बीच मोर्चाबन्दी !

एमालेमा ‘झोले’ र ‘गैरझोले’बीच मोर्चाबन्दी !


संसदमा रहेका दलहरू मध्ये देशको सबभन्दा सङ्गठित र देशभक्त मानिएको नेकपा एमालेमा ‘झोले’ अभियान सुरु भएपछि उक्त दलमा कित्ताबन्दीको स्थिति देखापरेको छ ।

दलका समर्थकहरूलाई झोले उपनाम दिएर सार्वजनिक टिप्पणी हुन थालेपछि अध्यक्ष केपी शर्मा ओलीले आफू विचार र देशभक्तिको अडान राख्ने झोले भएको धारणा प्रकट गर्नुभएको थियो । ओलीले आफू झोले भएको स्वीकार बेग्लै ढङ्गले गर्नुभएपछि उहाँका खास सिर्जनशील हितैषीहरूले केपीकै तस्बिर राखेर ‘म झोले हुँ’ भन्ने अभियान सामाजिक सन्जालमा सुरु गरेका थिए । र, प्रधानमन्त्रीको सचिबालयबाट नेताहरू सबैलाई आफ्नो फोटो राखेर ‘म झोले हुँ’ भन्ने अभियानमा सहभागी बन्न निर्देशन पनि जारी भएको छ । तर, पार्टीको ठूलो कित्ताले आफू झोले नभएको भन्दै सवालयको निर्देशन अवज्ञा गरेका छन् ।

अहिले केपीका खाँटी हिमायती र केपीलाई खुशी पारेर आफ्नो मतलब पूरा गर्न चाहनेहरूले झोले अभियानमा सहभागिता जनाएको पाइएको छ । नेतृत्व परिवर्तनका पक्षधर तथा केही स्वाभिमानी नेता कार्यकर्ताले भने झोले नभएको र नबन्ने घोषणा हाकाहाकी गरेका छन् । कतिपयले यसलाई विद्या भण्डारी पक्षधरले अस्वीकार गरेको र ठ्याक्कै केपीका सहोदर समर्थकहरूले मात्र आफूलाई झोलेका रूपमा प्रस्तुत गरेको अर्थ लगाएका छन् ।

हालसम्म केपी ओली, ईश्वर पोखरेल, बिष्णु पौडेल, पृथ्वी सुब्बा गुरुङ्ग, बिष्णु रिमाल, शङ्कर पोखरेल, प्रदिप ज्ञवाली, लेखराज भट्ट, भानुभक्त ढकाल , महेश बस्नेत, पद्मा अर्याल र राजन भट्टराई लगायतका नेताले झोले अभियानमा सहभागिता जनाएका छन् ! उपाध्यक्षहरू रामबहादुर थापा, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली, गोकर्ण बिष्ट, योगेश भट्टराई, गोकुल बास्कोटा, रघुवीर महासेठ, कर्णबहादुर थापा, भीम आचार्य, विनोद ढकाल, ईश्वरी घर्ती र नवराज सिलवाल लगायतका नेताहरूले भने झोले बन्न सिधै अस्वीकार गरेका छन् ।

नेता गोकुल बास्कोटाले त ट्वीटमै लेखेर असहमति जनाउनुभएको छ । बास्कोटाले लेख्नुभएको छ- ‘ज्यामितिमा स्वयमशिद्ध तथ्य हुन्छन्, त्यसलाई प्रमाणित गर्नु पर्दैन । जस्तो कि दुई बिन्दुलाई सरल रेखाबाट मात्र जोड्न सकिन्छ । त्रिभुजका आन्तरिक कोणको योगफल १८० डिग्री हुन्छ । राजनीतिमा पनि त्यही हो । अर्थात्, म एमाले कार्यकर्ता हुँ, त्यहाँ मेरो विश्वासको मात्र होइन समाज नै बदल्ने क्रान्तिकारी सिद्धान्त छ ।’

त्यस्तै योगेश भट्टराईले चाहिँ एउटा कविता लेखेर अलिक बेग्लै किसिमले केपीको अभियानमा असहमति जनाउनुभएको छ ।

झोले अभियानले एकताबद्ध एमालेमा भिन्न मतको रेखा कोर्ने स्पष्ट भएको छ । पार्टीमा पुरानै नेतृत्व यथावत राख्नुपर्छ भन्नेहरू झोले अभियानमा सामेल भएका छन भने नयाँ नेतृत्वको चाहना राख्नेहरू यस अभियानबाट अलग्गिएका छन् । यसले एमालेमा केपी सर्बोपरी नेता नरहेको सन्देश दिएको भन्ने एकथरी विश्लेषकहरूको भनाइ छ ।