प्रमुख प्रतिपक्षीलगायत विपक्षी दलहरुको विरोधका कारण सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक नियमित कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भएको छ । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र उच्चस्तरीय छानबिन समिति गठन माग गर्ने प्रतिपक्षी दलहरुको अडान कायमै रहेपछि आइतबार (२५ जेठ) पनि प्रतिनिधिसभाको बैठक तोकिएको समयमा बस्न सकेन ।
दिउँसो १ बजेका लागि बस्ने तय भएको बैठक सङ्घीय संसद् सचिवालयले सूचना टाँसेर ३ः१५ बजे बस्ने भनी सरेको जनाएको थियो । दोस्रोपटक तोकिएको समयमा पनि बैठक बस्न नसकेपछि सचिवालयले पुनः अर्को सूचना प्रकाशित गरी साँझ ५ः३० मा बस्ने उल्लेख गरेको थियो ।
सो सूचना प्रकाशित भएको एक घण्टापछि अर्थात् ६ः३० बजे सुरु भएको बैठकमा पनि विपक्षी दलका सांसदहरुले उठेर विरोध जनाए । त्यसपछि सभामुख घिमिरेले आइतबारको कार्यसूचीमा रहेका सबै कार्यक्रम हटाई बैठक स्थगित भएको सदनलाई जानकारी गराएका थिए ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकको राजीनामा र उच्चस्तरीय छानबिन समितिको माग गर्दै प्रतिपक्षी दलहरु नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेकपा (एकीकृत समाजवादी) लगायतले प्रतिनिधिसभा बैठक चल्न दिएका छैनन् । यही जेठ १५ गते सदनमा प्रस्तुत भएको आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमाथि छलफलपछि प्रतिपक्षी दलको विरोध कारण चल्न सकेको छैन ।
प्रतिनिधिसभाको अर्को बैठक सोमबार दिउँसो २ः०० बजे बस्ने जनाइएको छ ।
प्रतिक्रिया