‘टेलिफोन वार्तालाई धम्कीको रुपमा बुझ्नु दुःखद्’ : परराष्ट्रमन्त्री राणा

‘टेलिफोन वार्तालाई धम्कीको रुपमा बुझ्नु दुःखद्’ : परराष्ट्रमन्त्री राणा


परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले लोकतन्त्र र प्रेस एक अर्काका परिपूरक भएको उल्लेख गर्दै कुनै पनि व्यक्तिको वैयक्तिक स्वतन्त्रताप्रति मिडिया पनि जिम्मेवार हुनुपर्ने धारणा राखेकी छन् ।

नेपाल रिपब्लिक मिडियाकी निर्देशक शोभा ज्ञवालीसँग बिहीबार भएको टेलिफोन कुराकानीलाई धम्की भनी नागरिक पत्रिकामा आएको समाचारको खण्डन गर्दै उनले स्वभावैले मिडिया पीडितमैत्री हुन्छ भन्ने आफ्नो बुझाइ भएको उल्लेख गरेकी छन् । यसैका आधारमा राखिएका कतिपय धारणालाई प्रेसले धम्कीपूर्ण भाषाका रुपमा बुझ्नु दुःखद् भएको उनको तर्क छ ।

‘नेपाल रिपब्लिक मिडियाकी निर्देशक शोभा ज्ञवालीसँग हिजो भएको टेलिफोन कुराकानीलाई धम्की दिएको भनी उनको पत्रिका नागरिक दैनिकमा समाचार प्रकाशित भएको देखेर आश्चर्यचकित भएकी छु । हाम्रो परिवारलाई बदनाम गराउने दुसित मनासय सहित सामाजिक संजालमा आएको एक तथ्यहीन र भ्रामक भिडियो र त्यसको न्यायिक निरुपणमा बारेमा उहाँसँग कुराकानी भएको हो । उक्त भ्रामक र तथ्यहीन भिडियो प्रसारण गर्ने संस्था कुनै पनि सरकारी निकायमा दर्ता समेत नभएको थाहा पाएपछि प्रेस काउन्सिल मार्फत प्रक्रिया सुरु गर्न नमिलेर हामीले राज्यको कानुन अनुसार नै न्याय खोजेका हौँ । उक्त भ्रामक भिडियो पोष्ट गर्ने विरुद्द अदालतले पक्राउ पूर्जी जारी गरेको छ र कानुनले जे सजायँ दिन्छ हामीले पनि त्यसैलाई अनुसरण गर्ने नै हो । यसै विषयमा मैले उहाँलाई जानकारी गराएको थिएँ’, मन्त्री राणाको भनाइ छ ।

नेपालमा लोकतन्त्र, नागरिक अधिकार र प्रेस स्वतन्त्रताका लागि सबैभन्दा बढी संघर्ष गरेको नेपाली कांग्रेसको योगदानलाई कसैले बिर्सन नमिल्ने जिकिर पनि उनले गरेकी छन् ।