इजरायल र इरानमा रहेका सबै नेपाली सुरक्षित : परराष्ट्र मन्त्रालय

इजरायल र इरानमा रहेका सबै नेपाली सुरक्षित : परराष्ट्र मन्त्रालय


इजरायल र इरानबीच पछिल्ला तीन दिनदेखि विकसित घटनाक्रमका सन्दर्भमा सो क्षेत्रमा रहेका नेपाली नागरिकको सुरक्षाका विषयमा चासो व्यक्त गर्दै उच्च प्राथमिकतामा राखेर काम गर्न सम्बन्धित मुलुकका नेपाली राजदूतलाई परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले निर्देशन दिएकी छन् ।

मन्त्री डा. राणाले इजरायलको तेल अभिभ र कतारको दोहास्थित नेपाली राजदूतहरुलाई टेलिफोन सम्पर्क गरी नेपालीको सुरक्षालाई उच्च प्राथमिकतामा राखेर काम गर्न, निरन्तर सम्पर्कमा रहन र सम्बन्धित मुलुकले जारी गरेका सुरक्षा सतर्कतासम्बन्धी अद्यावधिक सूचना नियमित रुपमा प्रवाह गरी नेपालीलाई निरन्तर सुसूचित गर्न निर्देशन दिएकी हुन् ।

हाल इजरायलमा करिब पाँच हजार ५०० र इरानमा करिब १२ जना नेपालीहरु रहेका र सबैजना सुरक्षित रहेको जानकारी प्राप्त भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । इजरायल र इरानबीच विकसित उक्त घटनाक्रमलाई नेपाल सरकारले नजिकबाट नियालिरहेको र त्यहाँ रहेका नेपालीहरुको हित सुनिश्चित गर्न आवश्यकताअनुसार उपयुक्त कदम चालिने मन्त्रालयको भनाइ छ ।

मन्त्रालयले नेपाली राजदूतावास, तेल अभिभमा नियोग उप-प्रमुख∕प्रवक्ता कुमारबहादुर श्रेष्ठलाई फोन नं. ९७२–५३५३६०७४८, ०३५१००१११ र इ-मेलः [email protected] नेपाली राजदूतावास, दोहामा मिनिष्टर काउन्सेलर/नियोग उप-प्रमुख कुमार राईलाई फोन नं. ९७४-५५६१६०४०, ९७४-४४६७५६८१, ४४६७५६८३, ४४१७१९६२ र इ-मेलः [email protected] मा सम्पर्क गर्न सकिने जनाएको छ ।