कांग्रेसद्वारा नेता शास्त्रीको निधनप्रति दुःख व्यक्त

कांग्रेसद्वारा नेता शास्त्रीको निधनप्रति दुःख व्यक्त


नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका पूर्वकेन्द्रीय सदस्य, पूर्वमन्त्री एवं समाजवादी चिन्तक ढुण्डिराज शास्त्रीको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । शास्त्रीको काठमाडौं मेडिकल कलेज, सिंनामंगलमा उपचारका क्रममा ९० वर्षको उमेरमा आज (२ असार) बिहान निधन भएको हो ।

सभापति देउवाले शोक विज्ञप्तिमार्फत उहाँप्रति श्रद्धाञ्जली अर्पण गर्दै उहाँको आत्माको चिर शान्तिको कामना र शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ ।

शास्त्री नेपालको प्रजातान्त्रिक आन्दोलनका एक अथक योद्धा, सरल र निष्ठावान राजनीतिज्ञ, समाजवादी चिन्तक रहनुभएको पार्टी कार्यालयले जनाएको छ । कांग्रेसले सङ्गठन निर्माण र प्रजातान्त्रिक आन्दोलनहरुमा उहाँले पुऱ्याउनु भएको सक्रिय योगदान पार्टीको इतिहासमा सदा स्मरणीय रहने उल्लेख गरेको छ ।

प्रजातान्त्रिक आन्दोलनका अथक योद्धा शास्त्रीको पार्थिव शरीरलाई यही असार ४ गते बिहान ९ः०० बजेदेखि ११ः०० बजेसम्म पार्टीको केन्द्रीय कार्यालयमा श्रद्धाञ्जलीका लागि राखिने कार्यक्रम छ ।

कांग्रेसको राजनीतिमा जननायक विपी कोइराला, लौहपुरुष गणेशमान सिंह, सन्त नेता कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालालगायतका शीर्ष नेताहरूसँग निकटमा रहेर उहाँले काम गर्नुभएको थियो ।

प्रजातन्त्र पुनःस्थापनाको संघर्षका क्रममा भारतको वनारस र गोरखपुरमा उहाँले लामो समय प्रवासी जीवन बिताउनु भएको थियो । शास्त्री आम निर्वाचन २०४८ र २०५१ मा अर्घाखाँची निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।

नेपालमा प्रजातन्त्र स्थापना तथा पुनःस्थापनाका क्रममा उहाँले नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको थियो ।

उहाँद्वारा लिखित ‘मेरो जीवन र अनुभूति’ नामक पुस्तक प्रकाशित छ । नेपाल सरकारद्वारा स्थापित विपी कोइराला राष्ट्रिय पुरस्कार २०७९’ (राजनीतिक दर्शन क्षेत्र) पुरस्कारद्वारा उहाँ सम्मानित हुनुहुन्थ्यो । शास्त्री ‘शहीद स्मृति प्रतिष्ठान’ का संरक्षक तथा संस्थापक अध्यक्ष हुनुहुन्थ्यो ।

उहाँको निधनबाट कांग्रेसले एक अग्रज र अनुभवी नेतृत्वलाई गुमाएको जनाइएको छ ।