राज्यले जनतालाई आत्मनिर्भर बनाउनुको साटो परनिर्भर बनायो । ‘काम गर्नुपर्छ, काम गर्ने र समयको ख्याल गर्नेको भविष्य उज्ज्वल हुन्छ’ भनेर सरकारले जनतालाई सिकाउन सकेन । परिवारमा एउटाले कमाउने अरुले बसिबसि खाने क्रम जारी छ । बस्ने, खाने, हल्लिने र टिकटक बनाउनेमै नेपालीको दिन बितिरहेको छ । कामकाज नहुँदा नेपाली जनता ‘बोइलर कुखुरा’ जस्तै हुन थालेका छन् ।
✍ अनुसा थापा, भक्तपुर

सार्वजनिक ठाउँ सबैको साझा हो । आकाशे पुल, मठमन्दिर, सडक, फुटपाथमा कसैलाई अवरोध गर्न पाइँदैन । अवरुद्ध गरेमा कानुनबमोजिम कारबाही भोग्नुपर्छ । तर, पछिल्लो समय व्यक्तिहरूले कानुन नबुझेको हो कि नटेरेको ?- बुझ्नै मुस्किल छ । पैदलयात्रीको आवतजावत भइरहने आकाशे पुल, फुटपाथ, सडकमा जताततै टिकटक बनाइरहेका देखिन्छन् ।
बाटो ढाकेर टिकटक बनाइन्छ, जसका कारण पैदलयात्रीलाई हिँड्न सास्ती पर्छ । मठमन्दिरको ढोकैमा टिकटक बनाइरहेको पाइन्छ । कामकाजी मान्छेलाई एक मिनेट समयको पनि निकै महत्व हुन्छ । कोही कार्यालय हिँडेका हुन्छन् त कुनै अस्पताल, कोही कामविशेषले कतै जान लागेका हुन्छन् । यस्तोमा ‘टिकटके’को कारणले उनीहरू समस्यामा पर्ने गरेका छन् ।
एउटाले मोबाइल समाउने, अर्को या अरुहरू आकाशे पुल ढाकेर बुरुकबुरुक उफ्रिने ! आफ्नो कारणले अरुलाई कति डिस्टर्ब होला ? सर्वसाधारणलाई कति असर पर्ला ? समाजमा कस्तो प्रभाव पर्ला ? कसैलाई मतलब नै छैन । बस्, बाटो छेकेर उफ्रिन पाए पुग्यो । ‘आफ्नो अधिकारको प्रयोग गर्दा अरुको अधिकारको हनन गर्नु हुँदैन’ भनिन्छ, तर यो गम्भीर विषयको ज्ञान राखिएको छैन । विद्यालयमा सानै कक्षादेखि यो पाठ सिकाउँदै आइएको छ, तर कसैलाई मतलब नै छैन । नेपालीको हातमा मोबाइल बाँदरको हातमा नरिवलजस्तै भएको छ । काम नगर्ने, दिनभर टिकटक बनाउने अनि काममा हिँडेकालाई पनि दुःख दिने ।
आकाशे पुल, सडक, फुटपाथ टिकटक बनाउने ठाउँ हो ? यहाँ जतिबेला पनि पैदलयात्रीको आवतजावत भइरहन्छ । अनि उनीहरुले टिकटक बनाउञ्जेल अरुचाँहि कुरेर बसिदिनुपर्ने ? आफ्नो कला देखाउनु राम्रो कुरा हो, तर जतिबेला पनि टिकटकमै झुम्मिदा यसले समयको सत्यानाश गर्छ भन्ने मनन गर्नु जरुरी छ ।
एकातिर टिकटक बनाउने स्वयमको समय खेर जान्छ भने अर्कोतिर हेर्नेले पनि घण्टौं समय त्यत्तिकै खेर फाल्छन् । पछिल्लो समय कसैलाई पनि सार्वजनिक काम गर्नमा चासो र रुचि छैन । टिकटक हेरेर घण्टौं समय खेर फाल्नेहरुले सार्वजनिक काम गर्ने हो भने देशलाई कति फाइदा पुग्थ्यो होला । घण्टौं लगाएर टिकटक बनाउञ्जेल पढाइलेखाइ वा व्यक्तिगत कामकाज गर्दा सोही व्यक्तिलाई फाइदा पुग्ने हो ।
छोराछोरी बिहेदान गरिसकेका, नातिनातिनी भइसकेका महिलाहरू पनि छाल चाउरीपरिसकेको अनुहारमा टन्न क्रिमपाउडर धसेर छोटा पहिरनमा टिकटक बनाउँछन् । यसले समाज कता जाँदैछ भन्ने प्रश्न पनि उब्जाउँछ । अर्कोतर्फ, महिलाहरुले टिकटकमा अंग प्रदर्शन गर्न थालेका छन् । छाडा भिडियोहरु टिकटकमा हालेर समाजमा नकारात्मक फैलाइँदैछ ।
विडम्बना, सरोकारवाला निकायलाई यसको नियमनमा खासै चासो छैन । अभिभावकहरु आफू त टिकटक बनाउँछन् नै, स–साना बच्चालाई पनि सिकाउँछन्, उत्प्रेरित गर्छन् । बालबालिकालाई जे सिकायो त्यही सिक्छन् । टिकटक बनाउन र हेर्न सिकाउनुको साटो लेखपढ गर्न, खेलकुद एवम् वृत्तिविकासका कर्म सिकाएको भए कति राम्रो हुन्थ्यो ! त्यसले ब्यक्तिलाई मात्र नभइ समाज र राष्ट्रलाई पनि लाभ पुग्थ्यो ।
अमेरिका, अष्ट्रेलिया लगायतका पश्चिमा मुलुकमा घण्टाको हिसाबमा तलब दिइन्छ । एक सेकेण्ड मात्र काममा ढिला पुग्यो भने त्यो दिन काम नै दिइँदैन । यहाँ जस्तो मासिक तलब हुँदैन, जसका कारण उनीहरुलाई समयको निकै महत्व छ । टिकटक बनाउनुको साटो उनीहरू काम गर्छन् । त्यसैले त त्यहाँ विकास भयो, मुलुक समृद्ध बन्यो । अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामा दिनभर आफ्नो जिम्मेवारी सम्हाल्थें, राति काम गर्न जान्थें । उनीहरुसँग खेर फाल्ने समय नै हुँदैन । तर, हामीकहाँ त मासिक तलब दिने चलन छ । काम गर कि नगर, महिनैपिच्छे तलब आइहाल्छ ! त्यसैले नेपालीहरुको बानी बिग्रियो । उनीहरूले समयको महत्व बुझ्नै सकेनन् । देशका प्रधानमन्त्री नै पनि उस्तै छन्, देशका समस्याप्रति आँखा चिम्लिन सक्छन् तर टिकटकरहरुसँग भेटघाट र गफ गर्न समय निकाल्छन् । देशको प्रतिभा भन्दै टिकटकरहरुलाई प्रोत्साहन गर्छन् ! तर, जनताको दुःखपीडा बोकेर आएकासँग भेटघाट गर्न उनसँग फुर्सद छैन ।
देशका नेता र जनता उस्तै भए– अल्छी ! २७ खर्ब रुपैयाँ वैदेशिक ऋण पुगिसक्यो, सरकार अझैपनि ‘चिल’ पारामा छ । जनता आफ्नो भविष्य बिर्सिएर टिकटक बनाउनमै बेफुर्सदी छन् । एउटा उक्ति छ, ‘असार मुठी रोपेर मुरी फलाउने समय हो ।’ असार महिनामा दिनरात दुःख गरेर खेतीपाती गर्ने अनि मंसिरमा फलेको अन्नले वर्षभरी खाने । विडम्बना, गाउँको खेतबारी बाँझो छ । घर र मटानमा ताल्चा लगाएको छ । आँगनमा झार उम्रिएको छ । एक आनादेखि तीन आनामा काठमाडौंमा घर बनायो, भाडामा लगायो । भाडाले खान पुगिहाल्छ अनि काम कसले गर्ने ? उनीहरुसँग समय नै समय छ । काम नभएपछि सार्वजनिक ठाउँमा आयो, टिकटक बनायो । यसरी देश विकास हुन्छ ? नेता पनि आफ्नो धुनमा मस्तमगत, जनता पनि । सार्वजनिक काम गर्नुपर्छ, फुर्सदको समयमा श्रमदान गर्नुपर्छ भन्ने कुरा देशका नेतृत्वहरुले जनतालाई सिकाउन सकेनन् ।
पहिले-पहिले मान्छेहरु सार्वजनिक काममा केन्द्रित हुन्थें । बाटो, तालपोखरी, चौतारा बनाइन्थ्यो, सबै जना मिलेर सडकलगायतका सार्वजनिक स्थल सरसफाइ गरिन्थ्यो । तर, अहिले त्यस्तो छैन । अहिले कतिपयलाई त सार्वजनिक काम र श्रमदान भनेको थाहा नै छैन होला । जनताले श्रमदान गरिरहेका थिए, नेतृत्वहरुले आफ्ना आफन्त र कार्यकर्ता पोस्न ‘प्रधानमन्त्री रोजगारी कार्यक्रम’ ल्याए । यसमा वर्षेनि ८० अर्ब रुपैयाँ स्वाहा हुँदै आएको छ । यो कार्यक्रममा वास्तविक बेरोजगार होइन, पहुँचवालालाई समेटिँदै आइएको छ । पहुँचले काम पाउँदन्, दिनभर हल्लिएरै बस्छन् । झार उखेलेजस्तो गरेर पैसा बुझ्ने क्रम जारी छ । देशमा ७७ जिल्ला छ, तर ७४ जिल्लाकै जनता तीन जिल्लामा आएर थुप्रिएका छन् । गाउँ रित्तो शहरचाहिँ भरिभराउ ! अनि काम नहुँदा जो पनि टिकटकमा मस्त । दुःख गर्न कोही नखोज्ने, जसका कारण विदेशमै भर पर्नुपरेको छ ।
राज्यले जनतालाई आत्मनिर्भर बनाउनुको साटो परनिर्भर बनायो । हुन त राज्य आफैं पनि परनिर्भर छ । सरकारले जनतालाई ‘काम गर्नुपर्छ, काम गर्ने र समयको ख्याल गर्नेको भविष्य उज्ज्वल हुन्छ’ भनेर सिकाउनै सकेन । परिवारमा एउटाले कमाउने, परिवारले बसिबसि खाने क्रम जारी छ । बस्ने, खाने, हल्लिने र टिकटक बनाउनेमै नेपालीको दिन बितिरहेको छ । कामकाज नहुँदा नेपाली जनता ‘बोइलर कुखुरा’ जस्तै हुन थालेका छन् । जोपनि रोगी । देशमा रोगीको संख्या बढ्नुको प्रमुख कारण यही नै देखिन्छ । पछिल्लो समय त सरकारी कर्मचारी पनि टिकटकमा झुम्मिन थालेका छन् ।
ड्रेसमै टिकटक बनाइरहेको देखिन्छ । अनि कसरी समाज सुध्रिन्छ ? जनतालाई सेवा दिन छोडेर सरकारी कर्मचारीहरु टिकटक बनाइरहेका हुन्छन् । सरकारले त्यस्ता कर्मचारीलाई कारबाही गर्नुपर्छ कि पर्दैन ? सरकारी कार्यालय टिकटक बनाउने ठाउँ हो ? टिकटक बनाउन उनीहरुलाई तलब दिएको हो ? यसरी, सरकारको ऐनकानुनलाई सरकारी कर्मचारीले नै धोती लगाएका छन् । कर्मचारीहरू त्यस्ता छन्, जनताले के सिक्छन् ? नेता र कर्मचारी बिग्रिएपछि जनता बिग्रिए, जुन स्वाभाविकै हो । भनिन्छ नि, ‘जस्तो बाबु त्यस्तै छोरा !’ अहिलेको अवस्था ठ्याक्कै त्यस्तै छ ।
प्रतिक्रिया