महानगर प्रहरी प्रमुख पाण्डेको निलम्बन कार्यान्वयन नगर्न अन्तरिम आदेश

महानगर प्रहरी प्रमुख पाण्डेको निलम्बन कार्यान्वयन नगर्न अन्तरिम आदेश


काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेको निलम्बन कार्यान्वयन नगर्न उच्च अदालत पाटनले बुधबार (४ असार) अन्तरिम आदेश दिएको छ ।

उच्च अदालतका सूचना अधिकारी पार्वती हितानका अनुसार न्यायाधीश ऋषि राजभण्डारी र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले पाण्डेको निलम्बन कार्यान्वयन नगर्न र कामकाज नियमित गर्न दिन अन्तरिम आदेश दिएको हो ।

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले पाण्डेलाई जेठ २० गते ६ महिनाका लागि निलम्बन गरेका थिए । उक्त निलम्बनविरुद्ध पाण्डेले उच्च अदालतमा उत्प्रेषणको रिट दायर गरेका थिए ।

निवेदनको टुङ्गो नलागेसम्म पाण्डेलाई पदमा रही कामकाज गर्न दिन उच्च अदालतले अन्तरिम आदेशमा भनेको छ ।