मृतकको अन्त्येष्टिका लागि अमेरिका जान नपाएको परिवारको गुनासो

मृतकको अन्त्येष्टिका लागि अमेरिका जान नपाएको परिवारको गुनासो


अमेरिकामा गोली लागी मृत्यु भएका गोरखाका एकै घरका चार जनाको अन्त्येष्टि गर्न जान नपाएको मृतकका परिवारजनले गुनासो गरेका छन् ।

गत जेठको अन्तिम साता भर्जिनियामा मृत भेटिएका गोरखाको पालुङ्टार-८ रातामाटेका ३८ वर्षीय सन्तोष परियार, उनकी ३६ वर्षीया श्रीमती अञ्जु श्रेष्ठ, आठ वर्षीया छोरी साइना र दुई वर्षीय बालक ओम परियारको अन्त्येष्टि गर्न जान नपाएको परिवारजनको गुनासो छ ।

अन्त्येष्टिका लागि मृतक सन्तोषका बुबा निरबहादुर खाती दम्पतीले प्रयास गरे पनि जान नपाएको वडाअध्यक्ष होपबहादुर नेपालीको भनाइ छ । ‘मृतक सन्तोष परियारको कान्छा भाइ सुवास परियार अमेरिकी सेनामा हुनुहुुन्छ । यताबाट बुबाआमा अन्त्यष्टिका लागि जान खोज्नुभएको थियो तर दूतावासमा कागजात मिलेको छैन, अब सेनामा रहेको भाइले नै काजकिरिया गर्नुपर्ने भयो’, वडाध्यक्ष नेपालीले बताए ।

सन्तोष पहिले नेपालस्थित अमेरिकी दूतावासमा कार्यरत थिए । करिब १२ वर्ष दूतावासमा जागिर खाएपछि आठ वर्षअघि उनी जहान परिवारसहित अमेरिका गएका थिए ।

गत जेठ २२ गते उनीहरु भर्जिनियाको मनासस पार्कस्थित लानाए लेन ९४ ब्लकमा रहेको अपार्टमेन्टमा गोली लागी हत्या भएको अवस्थामा फेला परेका थिए । सन्तोषको परिवार विगत आठ वर्षदेखि अमेरिका बस्दै आएको वडाअध्यक्ष नेपालीको भनाइ छ ।