पूर्व राष्ट्रपति एवम् एमाले नेतृ विद्या भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच गत मङ्गलबार साँझ भएको भेटवार्तापछि राजनीतिक वृत्तमा विभिन्न अनुमान र टीकाटिप्पणी सुरु भएका छन् । विद्या भण्डारीमाथि आगामी महाधिवेशनपछि पार्टीको नेतृत्व लिन पार्टीभित्र व्यापक दबाब बढ्न थालेको परिप्रेक्ष्यमा दुई नेताबीच भेट भएका कारण यसलाई ज्यादा चासोका साथ हेरिएको हो ।
केही समययता पार्टीको नेतृत्व लिन विद्या भण्डारी तत्पर रहनुभएको भन्ने चर्चा व्यापक भएको छ र भण्डारी स्वयमले नेतृत्व लिनेबारे केही भन्नुभएको छैन, तर आफू एमालेको कार्यकर्ताका रूपमा राजनीतिमा क्रियाशील रहने स्पष्ट गर्नुभएको छ । उहाँ एमालेमा सक्रिय रहने भनेकै अध्यक्ष बन्ने तत्परता हो भन्ने अनुमान राजनीतिक विश्लेषकहरूले गरेका हुन् । नेतृ भण्डारीले राष्ट्रपति भएवापत पाउने सबै सुविधा पनि स्वीकार गर्नुभएको छैन, राज्यलाई भार पर्ने सबै सुविधा उहाँले परित्याग गर्नुभएको छ । यसरी सम्पूर्ण सुविधा नलिनुलाई पनि मानिसहरूले राजनीतिमा सक्रिय रहने सोचको सङ्केत मानेका थिए ।
एमालेले केपी शर्मा ओलीकै प्रस्तावमा सत्तरी वर्ष नाघेका ब्यक्तिले अध्यक्ष पदमा दाबी गर्न नमिल्ने र एक ब्यक्ति दुई कार्यकालका निम्ति मात्र अध्यक्ष रहन पाउने वैधानिक ब्यवस्था गरेको छ । तर पार्टीका केही नेताहरू केपीलाई तेस्रो कार्यकालका निमित्त पनि अध्यक्ष बनाएर एमालेलाई प्राविधिक रूपले कब्जा गर्ने योजनामा लागेको पाइएको छ । केपीपछिको नेतृत्व लिने स्तरका नेताहरूमा ईश्वर पोखरेल, सुरेन्द्र पाण्डे, विष्णु पौडेल आदिलाई लिइन्छ, तर ईश्वर उमेरहदका कारण अध्यक्षको उम्मेदवार बन्न पाउने छैनन् भने सुरेन्द्र पाण्डेले अध्यक्ष बन्ने सोचसम्म पनि नबनाएको बुझिन्छ । बिष्णु पौडेल दोस्रो तहका नेताको रूपमा स्वीकार्य भएपनि उहाँलाई अध्यक्ष स्वीकार गर्न महासचिव शङ्कर पोखरेल कदापि तयार हुने अवस्थामा नरहेको बताइन्छ ।
केपीपछि शङ्कर आफै अध्यक्ष बन्ने सोचमा रहनुभएको त छ तर अन्य अधिकाङ्श नेताहरू शङ्करलाई अध्यक्ष स्वीकार गर्ने मूडमा देखिएका छैनन् । यस्तो अवस्थामा पार्टीको आन्तरिक एकतालाई सुदृढ तुल्याउन र गुटबन्दीको लडाइँ अन्त्य गर्दै पार्टीलाई गति दिन उच्च तहको ब्यक्तिको खोजी भएको हो । यसक्रममा पार्टीको आम कार्यकर्ता र नेताहरू विद्या भण्डारीलाई अध्यक्ष बनाएर अघिबढ्ने मानसिकतामा देखिएका हुन् । तर महासचिव शङ्कर पोखरेल, प्रदीप ज्ञवाली, बिष्णु रिमाल र राजन भट्टराई विद्या अध्यक्ष बन्ने कुराको विपक्षमा उभिएका छन् । आफू अध्यक्ष बन्ने अवस्था नआउँदासम्म केपीलाई नै अध्यक्षमा निरन्तरता दिइनुपर्छ भन्ने मानसिकता शङ्कर पोखरेल र उहाँको टीमले बनाएको बुझिन्छ । उक्त टीमकै आग्रह र दबाबका कारण केपी ओली आफ्नै प्रस्तावमा भएको वैधानिक ब्यवस्थालाई तोड्न अग्रसर हुनुभएको ठानिँदै छ ।
वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले उमेर हद र दुई कार्यकालको अवधारणा बदल्न आवश्यक नरहेको सार्वजनिक अभिव्यक्ति दिनुभएको सातापछि विद्या भण्डारीले प्रधानमन्त्री ओलीसँग भेटवार्ता गर्नुभएको छ । बालुवाटार सूत्रका अनुसार गत मङ्गलबार बेलुका सात बजे सुरु भएको वार्ता करिब सवा दुई घण्टासम्म चलेको थियो । वार्तालापका क्रममा विद्याले केपीलाई पार्टीमा अविश्वास र अन्तरद्वन्द्व बढ्ने प्रकारका अभिव्यक्ति कसैले पनि दिन नहुने बताउँदै केही सातायता केपी ओलीबाट भएका अभिव्यक्ति सकारात्मक नरहेकोतर्फ ध्यानाकर्षण गर्नुभएको थियो । वार्ताका क्रममा केपीले आफू र एमालेविरूद्ध आन्तरिक र बाह्यशक्तिको घेराबन्दी रहेको तथा कतिपय तत्व एमालेमा विभाजन ल्याउन सक्रिय रहेको तर्फ सबैले ध्यान दिनुपर्ने बताउनुभएको थियो । विद्या भण्डारीले उमेर हद र दुई कार्यकालको अवधारणा केपीकै प्रस्तावमा पारित भएको स्मरण गराउँदै त्यसमा हेरफेर गर्दा अध्यक्ष ओलीको छविमा धक्का लाग्ने र नयाँ नेतृत्व तयार गरी पार्टीको गति बढाउने कार्यलाई असर गर्ने भएकोले उक्त वैधानिक प्रावधानअनुरुप अघि बढ्नु उपयुक्त हुने सुझाव दिनुभएको थियो । विद्याले केपीसँग आफू अध्यक्ष बन्ने तयारीमा रहेको बताउनुभएन, तर आफूमाथि साथीहरूको दबाब चर्को रहेको चाहिँ स्पष्ट गर्नुभएको बताइन्छ । सम्वादका क्रममा दुवै नेताले आ-आफ्ना धारणा स्पष्ट राख्नुभएको बालुवाटार सूत्रको भनाइ छ । तेस्रो कार्यकालका लागि पनि तयार रहनुभएको सङ्केत केपीले वार्ताको क्रममा दिनुभएको थियो ।
वार्ताका क्रममा असार १४ गते मदन भण्डारीको पचहत्तरौँ जन्मजयन्तीका अवसरमा आयोजना गरिने विशेष समारोहमा प्रमुख अतिथिको आशन ग्रहण गरिदिन पनि विद्या भण्डारीले आग्रह गर्नुभएको थियो ।
दुई नेताबीचको वार्ताले ठोस निष्कर्ष ननिकाले पनि पार्टीमा मतभिन्नता र अनेकताको स्थिति बन्न नदिन संयमित हुनुपर्ने, एक अर्का विरुद्ध नकारात्मक अभिव्यक्ति कसैले पनि दिन नहुने जस्ता विषयमा भने समान धारणा देखापरेको थियो ।
प्रतिक्रिया