यस वर्षको मनसुन प्रणाली आजदेखि देशभर फैलिएको छ । मौसम पूर्वानुमान महाशाखाले आज (६ असार) विशेष मौसम बुलेटिन निकालेर २३ दिनपछि मनसुन देशभर फैलिएको जनाएको हो ।
यस वर्षको मनसुन जेठ १५ गते देशको पूर्वी भागबाट प्रवेश गरी कोशी प्रदेशको अधिकांश भूभागमा विस्तार भएकामा जेठ २९ गते मधेस, बागमती र गण्डकी प्रदेशका केही भाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका केही भागसम्म विस्तार भएको थियो ।
मौसमविद् प्रतिमा मानन्धरका अनुसार लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आजदेखि मनसुन फैलिएसँगै अब देशभर मनसुन सक्रिय रहनेछ । हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही भाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रमा मनसुनी वायुको प्रभाव छ, साथै देशका पश्चिम भागमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव छ भने भारतको पश्चिम बङ्गाल आसपासका क्षेत्रमा बनेको न्यूनचापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको विभागले जनाएको छ ।
प्रतिक्रिया