एकसठ्ठी किलो सुन तस्करी प्रकरणमा फरार रहेकी अमला रोका पक्राउ

एकसठ्ठी किलो सुन तस्करी प्रकरणमा फरार रहेकी अमला रोका पक्राउ


नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार राजस्व जाँच पास गरेर बाहिरिएको ६१ किलो सुन तस्करी प्रकरणमा फरार रहेकी अभियुक्त अमला रोकालाई पक्राउ गरेको छ ।

निज रोकालाई सीआइबीको टोलीले काठमाडौंबाट आज (६ असार) पक्राउ गरेको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक युवराज खड्काले जानकारी दिएका छन् ।

रोका ६१ किलो सुन तस्करी प्रकरणमा जोडिएकी र शुक्रबार प्रहरीले पक्राउ गरेको एस्पी खड्काको भनाइ छ ।

ज्ञातव्य छ, राजस्व अनुसन्धान विभागले २०८० साउन २ गते त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट भन्सार राजस्व जाँच पास गरेर बाहिरिएको ६१ किलो सुन बरामद गरेको थियो ।

पक्राउ परेकी रोका उक्त ६१ किलो सुनकाण्डमा मुछिएका बेल्जियम नागरिक दाबा छिरिङकी श्रीमती भएको र काठमाडौंको ठमेलस्थित होटेल भियना उनको नाममा दर्ता भएको बताइएको छ । माओवादी नेता वर्षामान पुनसँग उनको पारिवारिक सम्बन्ध रहेको सन्दर्भ यसअघि नै सार्वजनिक भएको थियो ।